२०७६ कार्त्तिक १ गते

एक कोठामा सय विद्यार्थी

अन्तैबाट

बर्दिया । गुलरिया नगरपालिकाको शम्भुशरण माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा लक्ष्मी यादव बेन्चमा बसेर शिक्षकले पढाएको सुन्दै थिईन् । ४० डिग्री तापक्रममा टिनले छाएको कक्षाकोठा बस्दा निकै उकुस मुकुस महशुस हुन्छ उनलाई। १ सय ४० जना विद्यार्थी कोचिएर बस्नुपर्ने बाध्यता छ ।

गर्मीले विद्यार्थी असिनपसिन हुन्छन। ‘पढाएको सुन्ने भन्दा पनि कसरी बस्ने भन्ने चिन्ता छ, कक्षामा पढाएको समेत राम्ररी सुनिदैन’, लक्ष्मीले भनिन्।


गर्मीको महिनाभर एउटै कक्षामा कोचिएर बस्नुपर्दा पढनै असहज हुने गरेको छ। कक्षाकोठामा तीनवटा पंखा छन तर दुई वटामात्रै चल्छन। विद्यार्थीले पटक–पटक पंखा माग गरे पनि पुरा भएको छैन। पूर्वाधार अभाव भएको भन्दै एउटै कक्षाकोठामा सयभन्दा बढी विद्यार्थी राखिएका छन्।

धेरै जना बस्न पनि गाह्रो हुने र पढाएको नबुझिने विद्यार्थी अमन यादवले बताए। उनले पढाइ सुरु भएको तीन महिना बिते पनि समूह विभाजन हुन नसकेको सुनाए। प्रधानाध्यापक प्रमोदकुमार तिमिल्सिनाले आर्थिक अवस्था कमजोर भएका कारण कक्षाकोठा बनाउन नसकिएको बताए।

‘पंखा जडान गर्न नगरपालिकासंग सहयोग मागेका छौं’ उनले भने,‘ शिक्षक दरबन्दी पनि नहुँदा समूहसमेत विभाजन गरिएको छैन।’ त्यहाँ ११ सय विद्यार्थी अध्ययनरत छन्। आर्थिक अवस्था कमजोर हुँदा आन्तरिक शिक्षकलाई पारि श्रमिक दिनसमेत समस्या हुन्छ।

प्रत्येक महिना बजेट सार्वजनिक गर्ने नीति सुरु गरिएको छ। विद्यालयको आर्थिक स्रोत र विद्यार्थीको क्षमता वृद्धि गरेर प्राविधिक शिक्षा पढाउने योजना बनिरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र यादवले बताए।

यादव आचार्यले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: