• स्थानीय तहले शिक्षक सरुवा गर्न मिल्दैन– शिक्षामन्त्री
    (ईपाटी संवाददाता)


  • मोरङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गर्न नमिल्ने बताएका छन् ।


    स्थानीय तहलाई शिक्षामा हस्तक्षेप नगर्न आग्रह गर्दै मन्त्री पोखरेलले भौतिक संरचना लगायतको अभावबीच पठनपाठन सञ्चालन गरिरहेका शिक्षकलाई निरुत्साही गर्न नहुने स्पष्ट पारे । विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा स्थानीय तहको सहयोग आवश्यक रहेकामा उनको जोड थियो ।


    मोरङ जिल्लालाई मुलुककै ५१ औँ साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले स्थानीय तहलाई अनावश्यक आफ्ना मान्छे विद्यालयमा भर्ना गरेर शैक्षिक वातावरण नबिगार्न आग्रह गरे । उनले प्रदेशस्तरीय र स्थानीय तह स्तरीय शिक्षा सम्मेलन गरेर शैक्षिक माहौल निर्माण गर्न सुझाब दिए ।

    संघीय सरकारले मुलुकका केही विद्यालय आफ्नो मातहत राखेर १ हजार विद्यालयको निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने उनको भनाई थियो ।


    मुलुकमा ९ प्रतिशत मात्रै रहेको प्राविधिक शिक्षाको विस्तारमा सरकारको ध्यान केन्द्रित रहेको भन्दै मन्त्री पोखरेलले कालोपाटीमा पढाएको प्राविधिक शिक्षाको काम नरहेको स्पष्ट पारे ।


    पोखरेलले मुलुकमा अस्थायी शिक्षकहरूको समस्या समाधान भएकोले अब योग्य शिक्षकलाई मात्रै शिक्षक सेवा आयोगले भर्ना गर्ने स्पष्ट पारे ।

    सरकारले यसै वर्ष मुलुकलाई साक्षर घोषणा गर्ने उद्देश्यले काम अघि बढाइरहेको उनको भनाइ थियो ।