• संघको प्रतिनिधि सभामा विवाद, जिल्ला अध्यक्षहरुद्वारा सभा बहिस्कार !
    (ईपाटी संवाददाता)


  • काठमाडौं । नेपाल शिक्षक संघको जारी २० औं संघीय प्रतिनिधि सभामा जिल्ला अध्यक्षहरुले आफ्ना समस्या राख्न नपाएपछि हंगामा भएको छ । केही जिल्ला अध्यक्षहरुले संघीय प्रतिनिधि सभा नै बहिस्कार गरेका छन् ।


    बिहीवार सभाको दोस्रो दिन बन्द सत्र चलिरहेको थियो । बन्द सत्रमा अधयक्ष, महासचिव, अर्थमहासचिव, शिक्षक महासंघका महासचिवलगायतका प्रतिवेदनहरु मथि छलफल भएको थियो । तर, छलफलमा जिल्ला अध्यक्षहरुलाई धारणा राख्न नदिएपछि विवाद भएको हो ।


    प्रदेश सभाका अध्यक्षलाई समग्र धारणा राख्न दिएपनि जिल्लाहरुलाई आफ्ना गुनासा राख्न नदिएको भन्दै जिल्ला अध्यक्षहरुले सभा नै बहिस्कार गरेका छन् ।


    केही जिल्ला अध्यक्षहरुले सभामा जिल्लाका समकामयिक र शैक्षिक समस्या राख्न पाउनु पर्ने भन्दै प्रदेश अध्यक्ष समक्ष लिखित रुपमै आफ्ना असहमति प्रकट गरेका छन् ।


    संघका प्रदेश नम्बर १ का अध्यक्ष पूर्णप्रसाद गौतमले जिल्ला अध्यक्षहरुले आफ्ना समस्या राख्न नपाएपछि आफूसमक्ष गुनासा गरेको स्वीकार गर्दै आफूहले संघका महासचिव सोमनाथ गिरीसमक्ष सो गुनासो जस्ताको तस्तै राखेको जानकारी दिए ।


     जिल्लाहरुमा, स्थानीय तहहरुमा अझ वडाहरुमा आ(आफ्नै फरक समस्या रहेकाले कम्तिमा जिल्लाहरुले सो समस्या सभामा राखन पाउनुपर्ने सन्दर्भमामा आफुले पहल गरिरहेको र सम्भवतः भोलि जिल्ला अध्यक्षहरुलाई आफ्ना समस्या राख्न दिइने आशा व्यक्त गरे ।


    संघका प्रदेश नम्बर ७ का अध्यक्ष बिर्खबहादुर मल्लले जिल्लाका शैक्षिक र समसामयिक समस्या राख्न नपाएपछि केही जिल्ला अध्यक्षहरुले आजको बन्द सत्र बहिस्कार गरेको स्वीकार गरे ।


    आफ्ना प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरुले लिखित रुपमै आफ्ना समस्या सभामा राख्न पाउनुपर्ने भनेर आग्रह गरेको र आफूले पनि संघीय कार्यसमितिको नेतृत्वलाई सो बारे अवगत गराएको मल्लले जानकारी दिए ।


    शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझाले सभामा जिल्ला अध्यक्षहरुको जिल्लागत शैक्षिक र समसामयिक समस्याहरुसहितको धारणा राख्न नपाएपछि बन्दसत्रको बीचमै सभा बहिष्कार गरेको जानकारी दिए ।


    सभामा प्रदेश अध्यक्षहरुलाई मात्रै बोल्न दिएर जिल्ला अध्यक्षहरुलाई बोल्न नदिएपछि जिल्लाका अध्यक्षहरुले सभा बहिस्कार गरेका ओझाले बताए ।


    शिक्षक संघका डडेल्धुरा अध्यक्ष कर्णबहादुर मडैले आफ्ना जिल्लाका गतिविधि र समस्या प्रतिनिधिमा राख्न नपाएपछि आफूहरुले सभा नै बहिस्कार गरेको जानकारी दिए ।

    'स्थानीय स्तरमा शिक्षकका विभिन्न समस्या छन् ति सभामा राख्नै नपाएपछि सभामा बसिरहनुको औचित्य नै देखिएन' – मडैले भने ।

    शिक्षक संघ ओखलढुंगाका अध्यक्ष नारायण बास्तोलाले प्रतिनिधि सभामा स्थानीय स्तरबाटै सुझाब लिएर संघको आगामी कार्यदिशा तय गर्नुपर्नेमा जिल्लाका समस्या र गुनासामाथि सेन्सर लगाउने काम भएको आरोप लगाए । बास्तोलाले जिल्लाको सुझाब संकलन गरे छलफल गरिनुपर्नेमा सभामा संघीय समितिका सदस्य रहेका प्रदेश अध्यक्षस्तरको मात्रै  कुरा सुन्ने वातावरण सिर्जना हुनु खेद जनक भएको आरोप लगाए ।


    शिक्षक संघ बर्दियाका अध्यक्ष नारायण शर्माले स्थानीय स्तरका समास्या जिल्ला अध्यक्षले राख्न नपाएपछि संघीय प्रतिनिधि सभाकै औचित्य नरहेको आरोप लगाए ।


    'जिल्लाका सुझाब र समस्या नै नसुन्ने भए किन प्रतिनिधि सभाको नाटक गर्नुपरयो'– शर्माले भने ।


    शिक्षक संघ अछामका अध्यक्ष विष्णु भण्डारीले जिल्ला अध्यक्षहरुले जिल्लागत रुपमा सुझाब र धारणा राखेपछि मात्रै सामुहिक छलफलमा जानुपर्नेमा सभामा तयस्तो नभएको गुनासो गरे ।

    शिक्षक संघका नेता गोकर्ण बानियाले संघको विधान अनुसार प्रतिनिधि सभा सर्वोच्च निकाय भएकाले स्थानीय स्तरका समसामयिक मुद्दा र गुनासोको सुनुवाइ हुनुपर्ने बताए ।

    शिक्षक संघको संघीय समितिले आफु अनुकुलको नीति तथा कार्यक्रम पास गर्न जिल्ला अध्यक्षहरुलाई बोल्न नदिएको बानियाले आरोप लगाए ।