• पाठ्यपुस्तकका शब्दमा मारवाडी समुदायको आपत्ति
    (अन्तैबाट)

  • विराटनगर । मारवाडी समुदायका अगुवाले पाठ्यपुस्तकमा जातीय अपमान गर्ने, होच्याउने र गाली बेइज्जती हुने शब्द प्रयोग गरिएको भन्दै तत्काल हटाउन माग गरेका छन् ।

    निजी विद्यालयमा पठनपाठन हुने पुस्तकमा निन्दनीय अपशब्द प्रयोग गरिएको भन्दै मारवाडी समाजले आपत्ति जनाएको छ। समाजले जातीय अपमान गर्ने ‘माडे’ र ‘नकचरो मोरा’ जस्ता शब्द कक्षा ७ र ८ को हेल्थ एण्ड फिजिकल एजुकेशन विषयमा प्रयोग गरिएको जनाएको छ।

    यो पुस्तक एशिया पब्लिक प्रालि बसुन्धरा, काठमाडौंले प्रकासित गरेको हो। कक्षा ७ को पेज नम्बर ६८ र ८ को पेज नम्बर ४९ मा यस्ता शब्द प्रयोग गरिएको समाजका अगुवा एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले बताए।



    उनले निन्दनीय अपशब्दहरू प्रयोग गरेर छापिएका पुस्तक पठनपाठन भइरहेका कारण तुरुन्त जफत गर्न र यस्ता शब्द सच्याउन माग राखेर मंगलबार प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापन पत्र नै बुझाइएको बताए। यस्ता अपमानित शब्दले सिंगो मारवाडी समाजलाई पीडा र गहिरो चोट दिएको ज्ञापन पत्रमा उल्लेख छ। यस दुष्कार्यले जातीय स्वाभिमानमा ठूलो धक्का पुर्‍याएको मारवाडी समाजको ठहर छ।

    किशोर बुढाथोकीले अन्नपुर्णपोष्टमा खबर लेखेका छन्