२०७६ कार्त्तिक ३ गते

बोर्डिङ छाडेर सामुदायिकमा

अन्तैबाट

सुर्खेत । गुर्भाकोट नगरपालिकाका लीलाधर चपाईं सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी छोरीलाई भने बोर्डिङ स्कुलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। ‘पछिल्लो समय निजीभन्दा सरकारी स्कुल अब्बल बन्दै गएका छन्’, चपाईंले भने, ‘त्यही भएर यो वर्षदेखि सरकारीमा भर्ना गरेको हुँ।’ उनले छोरीलाई वीरेन्द्रनगरको जन माविमा कक्षा ९ मा भर्ना गराएका छन् ।

वीरेन्द्रनगरका धनेश्वर उपाध्यायले पनि छोरा दीनबन्धुलाई जन माविमा कक्षा ६ मा भर्ना गराए। मन्टेश्वरी हुँदै कक्षा पाँचसम्म बोर्डिङ स्कुलमा अध्ययन गरेका दीनबन्धु सरकारीमा पढ्न पाउँदा खुसी छन्। ‘बोर्डिङ स्कुलको भन्दा राम्रो शैक्षिक वातावरण छ, पढाइ पनि राम्रो छ’, उनले भने, ‘बोर्डिङभन्दा सरकारी स्कुल हरेक कुरामा राम्रो पाएँ।’

कक्षा आठसम्म बोर्डिङ स्कुलमा अध्ययन गरेका सन्दीप खत्री वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत माविमा भर्ना भएका छन्। श्रीकृष्णमा नेपालीसँगै अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। केही अघिसम्म राम्रो शिक्षाको खोजीमा सरकारी स्कुलबाट बोर्डिङमा जाने परम्परा थियो। अहिले बोर्डिङ छोडेर सरकारीमा आउने लहर चल्न थालेको छ। सरकारी स्कुल भन्नेबित्तिकै नाक खुम्च्याउने अभिभावक अहिले छोराछोरीलाई सरकारी स्कुलमा भर्नाका लागि ‘सोर्सफोर्स’ लगाउने गर्छन्।

जन माविले चालू शैक्षिक सत्रका लागि चार सय ३४ विद्यार्थी भर्नाका लागि आवेदन खुला ग¥यो। कक्षा १, ६, ७, ८ र ९ मा भर्ना हुन एक हजार ७ सय ७ जनाले प्रवेश परीक्षा दिए। ‘तीमध्ये चार सय ३४ जनालाई मात्रै भर्ना ग¥यौं’, विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण ढकालले भने, ‘हरेक वर्ष बोर्डिङ छोडेर आउनेको लहर चल्न थालेको छ। सरकारी स्कुलमा विद्यार्थीको चाप बढ्दैछ।’

पछिल्लो समय यहाँका केही सरकारी विद्यालयले नेपालीका साथै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्। जन माविले कक्षा १ देखि १० सम्म नेपालीसँगै अंग्रेजी माध्यमबाट पढाउँछ। अंग्रेजी माध्यमबाट अध्ययन, अतिरिक्त कक्षा, निजीको जस्तै पोसाक, विद्यार्थी बोक्न स्कुल बसको व्यवस्था, हरेक शनिबार कक्षागत परीक्षालगायतका कारणले यहाँका केही सामुदायिक विद्यालय निजीभन्दा अब्बल दरिएका छन्।

केही वर्षअघिसम्म वीरेन्द्रनगरकै केन्द्रमा रहेको भए पनि जन माविमा विद्यार्थी संख्या न्यून थियो। पछिल्लो समय विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु ग¥यो, अनुशासन र शैक्षिक वातावरणमा ध्यान दियो, उत्कृष्ट भौतिक पूर्वाधार बनायो। कार्यरत शिक्षक–कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय ग¥यो। त्यसैको प्रभावले अहिले यो सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। उत्तीर्ण नभएका विद्यार्थीले यहाँ भर्ना पाउँदैनन्।

‘राम्रो विद्यालयमा सबैको आकर्षण हुन्छ’, बोर्डिङ छुटाएर कक्षा ६ मा छोरीलाई भर्ना गराएका प्रेमप्रकाश वलीले भने, ‘सस्तो शुल्कमा उत्कृष्ट पढाइ हुने भएकाले बोर्डिङ छुटाएर सामुदायिकमा भर्ना गराएको हुँ।’ बोर्डिङभन्दा उत्कृष्ट भौतिक संरचना, बोर्डिङको जस्तै अंग्रेजीमा पढाइ, शैक्षिक र पारिवारिक वातावरणका साथै उत्कृष्ट अनुशासन भएकाले आफूले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको उनले बताए।

जन माविमा मात्रै होइन, वीरेन्द्रनगरका श्रीकृष्ण, अमरज्योति नमुना मावि नेवारे, हस्तवीर आधारभूत विद्यालय, नेपाल राष्ट्रिय माविलगायतका सरकारी विद्यालयमा पनि विद्यार्थी र अभिभावकको आकर्षण उत्तिकै छ। श्रीकृष्ण संस्कृत तथा साधारण माविले चालू शैक्षिक सत्रमा दुई सय २५ जना विद्यार्थीका लागि भर्ना आवेदन खोलेको थियो। ६ सय २० जना प्रवेश परीक्षामा सहभागी भए। ‘हरेक वर्ष बोर्डिङ छोडेर विद्यार्थी आइरहेका छन्’, विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले भने, ‘निजीको भन्दा उत्कृष्ट भौतिक पूर्वाधार, अंग्रेजी माध्यमबाट पढाइका साथै उत्कृष्ट शैक्षिक नतिजाका कारण सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढेको छ।’

सुर्खेतको अमरज्योति नमुना माविले तीन सय २१ जना विद्यार्थीका लागि आवेदन खुला गरेको थियो। सात सय ११ जनाले प्रवेश परीक्षा दिए। ‘पहिले–पहिले बोर्डिङ स्कुलमा भर्ना नपाएका विद्यार्थी सरकारीमा आउने चलन थियो’, अमरज्योतिका सहायक प्रधानाध्यापक भूपेन्द्र बिसीले भने, ‘अहिले सरकारीमा भर्ना नपाएपछि बोर्डिङमा जानेहरु बढेका छन्।’

बोर्डिङ छोडेर सरकारीमा आएका विद्यार्थी तुलनात्मक रुपमा सरकारी स्कुलमा पढ्न सजिलो हुने बताउँछन्। ‘सरकारीमा शिक्षक र विद्यार्थीको सम्बन्ध राम्रो हुने भएकाले पढाइमा सहजता हुन्छ’, श्रीकृष्णका विद्यार्थी लक्ष्मी खत्रीले भने, ‘सरकारी विद्यालयको वातावरण शान्त हुनुका साथै अनावश्यक तनाव पनि हुँदैन।’

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ का रमेश खड्काले चार कक्षासम्म स्थानीय एक बोर्डिङ स्कूलमा अध्ययन गरे। चालू शैक्षिकसत्रदेखि उनी सामुदायिक विद्यालयमा भर्ना भएका छन्। सरकारीमा राम्रो पढाइ हुन थालेपछि बोर्डिङ छुटाएर छोरालाई सरकारीमा भर्ना गराएको बुवा खड्कबहादुरले बताए। रमेश रुक्मेणी माविमा कक्षा पाँचमा भर्ना भएका छन्।

विद्यालयले गत शैक्षिकसत्रबाट आधारभूत तहमा अंग्रेजी माध्यम सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन शाह अंग्रेजी माध्यमबाट पढाइ हुनुका साथै स्कुल बसको व्यवस्था गरिएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताउँछन्। प्रत्येक वर्ष शैक्षिक उपलब्धि बढ्दै गएपछि निजी छोडेर सरकारीमा भर्ना हुने क्रम रुकुममा पनि बढेको छ।

प्रदेश शिक्षा निर्देशनालयका प्रमुख भक्तबहादुर ढकालले पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि हुँदै गएको बताए। उनले शिक्षाको नेतृत्व स्थानीय तहको हातमा पुगेपछि कर्णालीमा सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए। ‘शिक्षक व्यवस्थापन र भौतिक पूर्वाधारमा स्थानीय तहले महŒवपूर्ण लगानी गरेका छन्’, उनले भने, ‘यसको प्रत्यक्ष प्रभाव विद्यालयहरुको नतिजामा देखिएको छ।’

उनले कर्णाली प्रदेश सामुदायिक विद्यालयको उपलब्धि र व्यवस्थापनका हिसाबले पछाडि नै रहेकाले प्रदेश सरकारका तर्फबाट पनि चालू शैक्षिक सत्रदेखि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए। ‘सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि स्थानीय तहसँग सहकार्य गर्दै शिक्षक व्यवस्थापनमा कर्णाली प्रदेश सरकारको उपस्थिति देखाउने तयारीमा छौं’, ढकालले भने, ‘केही विद्यालयले राम्रो गरिरहे पनि यत्तिकैमा सन्तोष मान्न सकिने अवस्था छैन।’

  नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेखेका छन् ।

Comments: