• नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग
    (अन्तैबाट)

  • काठमाडौं । आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप खेपेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो । अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहो¥याउँदै आयोगका पदाधिकारीहरूले अनियमित किसिमले परीक्षा सञ्चालन गर्दा सो परीक्षा विवादित मात्रै होइन अख्तियारको छानबिन घेरामा समेत पर्न पुगेको छ ।


    मितव्ययी र पारदर्शी रूपमा परीक्षा सञ्चालन नगरेको आरोप खेप्दै आएका त्रिवि सेवा आयोगका पदाधिकारीमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।

    आयोगले यसअघि २०५६, २०६८ र २०७१ सालमा परीक्षा लिएको थियो । ती सबै परीक्षामा विद्यार्थी संगठनदेखि कर्मचारी, प्राध्यापक र परीक्षा दिएका विद्यार्थीहरूले समेत अनियमितता भएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।


    त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुला आवेदन माग गरेको थियो । तर, सो परीक्षामा आयोग पदाधिकारीहरूले आफन्तलाई भर्ती गर्न खोजेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको छ । अख्तियारले आवश्यकताका आधारमा सम्बन्धित निकायसँग बयान लिने काम पनि अघि बढाएको छ ।

    अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले परीक्षा प्रणालीमा दोषीलाई कारबाही हुने बताए । उनले भने, ‘आवश्यकताअनुसार बयान लिने काम हुन्छ । कागजपत्र खोलेर अनुसन्धानको काम भइरहेको छ ।’
    आयोगले लिएको परीक्षामा नाम निस्कएकाहरूमा अधिकांश आयोगका अध्यक्षसहित पदाधिकारीका आफन्त, राजनीतिक दल निकटका नातेदार रहेका छन् । २०६८ सालमा भएको परीक्षामा कर्मचारी संगठनहरूले विज्ञप्ति निकाल्दै असन्तुष्टि जनाएका थिए । परीक्षामा नातावाद हावी भएको भन्दै पुनः परीक्षाको माग पनि सो क्रममा कर्मचारीहरूले गरेका थिए । सो समयमा ईश्वरचन्द्र दत्त आयोगका अध्यक्ष थिए ।

    यस्तै, २०७१ सालमा पनि परीक्षाको विश्वसनियतामाथि प्रश्न उठाउँदै कर्मचारीहरूले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । सो समयमा पनि उनै दत्त आयोगको अध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए ।


    त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हीराबहादुर महर्जनले आयोगले लिने परीक्षा निष्पक्ष हुन आवश्यक रहेको बताए । उनले खुला प्रतिस्पर्धा र आन्तरिक बढुवालाई ५०/५० प्रतिशत स्थान दिनुपर्ने बताए । पूर्वउपकुलपति महर्जनले भने, ‘सेवा आयोग समयानुकूल परिवर्तन हुनुपर्छ र विवादरहित पनि हुनुपर्छ । आयोगलाई नकारात्मक रूपले हेर्ने प्रवृत्ति पनि छ, यसो गर्नुहुँदैन ।’

    विश्वविद्यालयअन्तर्गत नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पोख्रेलले विश्वविद्यालयको साझा आयोग गठन गरिए समस्या समाधान हुने बताए । उनले भने, ‘त्रिवि कार्यकारी परिषद्ले कार्यविधि बनाएर सेवा आयोगले परीक्षा लिन्छ । तसर्थ, परीक्षा प्रणालीमा सुधार हुन आवश्यक छ ।’सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले प्रक्रिया पूरा गरेर निष्पक्षतवरले परीक्षा सञ्चालन गरिएको दाबी गरे । आयोगले अहिले मौखिक परीक्षालाई जारी राखेको छ ।

    आयोगले कर्मचारी छनोटको प्रक्रियालाई चार चरणमा विभाजन गरेको छ । ज्येष्ठता बढुवा, फाइल बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुला प्रतियोगितामार्फत् परीक्षा लिँदै आएको छ । विद्यार्थी संगठनहरू आयोगका अध्यक्षको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आयोगको मूल गेटमा अनिश्चितकालीन रिले अनशन सुरु गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पेसल दाहालले आयोगमा नातावाद हावी भएको भन्दै आयोगको शुद्धीकरणका लागि अनशन थालेको बताए ।


    त्रिवि सेवा आयोगको खारेजी, आयोगका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त, अवैधानिक तरिकाले प्रकाशित नतिजा खारेज गरिनुपर्ने भन्दै अनशन थालिएको विद्यार्थी नेता शुलभ वैद्यले बताए ।

    प्रशान्त वलीले राजधानी दैनिकमा खबर लेखेका छन् ।