२०७६ कार्त्तिक ३ गते

एकैपटक समुदायले नपत्याएका ५४ शिक्षकको सरुवा गरिदियौं–उपमेयर बस्नेत

ईपाटी संवाददाता


काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका उपप्रमुख  जुना बस्नेतले समुदायले  २५ वर्ष पुराना शिक्षकहरुलाई सार्न भनेपछि एकैपटक  ५४ शिक्षकहरुको सरुवा गरिदिएको बताइन ।


शिक्षकहरुको सरुवा गर्दा एकखालको भूँइचालो  नै गएको भन्दै बस्नेतले यसले गर्दा  १५ दिन निदहराम भएको स्पष्ट पारिन् ।
आजको शिक्षा साप्ताहिकले आयोजना गरेको अन्तक्र्रियामा उपप्रमुख बस्नेत अगाडि बढेर सुधार नगरेसम्म सामुदायिक विद्यालय चलाउनै नसकिने अवस्थामा रहेको बताइन् ।


विद्यालयको अनुगमन गर्दा पर्याप्त कक्षाकोठा, शिक्षक, शौचालय, खानेपानी नभएको पाएपछि सुधारका लागि नगरका सबै विद्यालय व्यवस्थापन समितिको नेतृत्व परिवर्तन गरिदिएको उनले स्पष्ट पारिन् ।


'२ विद्यालयले अदालतमा मुद्दा दायर समेत गरे तर, हाम्रो असल उद्देश्य देखेपछि अदालतले पनि मुद्दा जिताइदियो ।' बस्नेतले भनिन् ।  सिकाइ सुधारका लागि अभिभावकहरु राखेर वृहत छलफल गरेको र तपाईँको बच्चा हामीलाई दिनोस, सामुदायिक विद्यालयमा भर्ना गरिदिनोस् हामी गुणस्तरीय शिक्षा दिन्छौं भनेर भनेको बस्नेतले बताइन् ।


 समुदायले  २५ वर्ष पुराना शिक्षकहरुलाई सार्न भनेपछि नगरले योवर्ष एकैपटक  ५४ शिक्षकहरुको पालिकास्तरीय सरुवा गरिदिएको उनले जानकारी दिइन् ।


अंग्रेजी पढाउनै निजी विद्यालयमा गएको पाएपछि हामीले अंग्रेजी माध्यम शुरु गरिएको र धेरै विद्यालयहरुमा भौतिक सुधार गरिदिएको उपप्रमुख बस्नेतले बताइन् ।


शिक्षकलाई सबैखालको शिक्षण तालीम उपलब्ध गराएको र त्यपछि  गुणस्तर सुधार हुँदै आएको उनले स्पष्ट पारिन् ।


'यसवर्ष मात्रै १२५४ जना विद्यार्थी निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।' बस्नेतले भनिन् ।


Comments: