२०७६ असोज २ गते

शिक्षा दिवसमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

ईपाटी संवाददाता


कपिलवस्तु । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिवराज नगरपालिका कपिलवस्तुले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ ।


जिल्लाको चन्द्रौटामा आयोजित एक भव्य समारोहबीच मावि तह कविता प्रतियोगिता, आधारभूत तहमा चित्रकला प्रतियोगिता तथा २०७५ को एसईई परीक्षामा नगरमा उत्कृष्ट स्थान ल्याउन २२ विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरेको हो । यस्तै एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक र संस्थागत गरी ६ विद्यालयलाई कदर पत्र र दोसल्लाले सम्मान गरिएको नगर शिक्षा शाखा प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिए ।


शिक्षा दिवसको अवसरमा गत भदौ १८ गते राष्ट्रिय मावि चन्द्रौटामा आयोजना गरेको मावि तहको कविता लेखन र आधारभूत तहको चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको थियो । कविता प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ समयथान माविका छात्र सुशिल भट्टराई प्रथम, सोही विद्यालयकी छात्रा नितु न्यौपाने द्वितीय र त्रिभवुन आदर्श माविका छात्र अजय पासीले तृतीय स्थान ल्याउन सफल भएका थिए । यस्तै संस्थागत विद्यालयतर्फ शिवगढी इंगलिस स्कूलका छात्र सिजन अधिकारी प्रथम, सोही विद्यालयकी छात्रा जीवनमाया रोका मगर द्वितीय र आवर मदरल्याण्ड एकेडेमीकी छात्रा सोनु कार्की तृतीय भएकी थिइन् ।


यसैगरी आधारभूत तहतर्फ भएको चित्रकला प्रतियोगितामा सामुदायिकतर्फ सरस्वती मावि बनियाभारका छात्र अर्जुन सुनार प्रथम, त्रिभुवन आदर्श मावि पिपरीका छात्र मनिष यादव द्वितीय र बालशिक्षा मावि हल्लानगरकी छात्रा यमु कुमारी बुढामगरले तृतीय स्थान ल्याउन सफल भएका थिए । यसका साथै संस्थागत विद्यालयतर्फ आवर मदरल्याण्ड एकेडमीका छात्र सन्तोष भट्टराई प्रथम, सोही विद्यालयकी छात्रा भावना खड्काले दोस्रो र शिवगढी इंगलिस स्कूलका छात्र शिशिर बुढाथोकीले तेस्रो पुरस्कार जित्न सफल भएको शिवराज नगरशिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले जानकारी दिए ।


यस्तै गत वर्ष २०७५ को एसईई परीक्षामा नगरमै उत्कृष्ट जीपीए ल्याउन सफल सामुदायिक र संस्थागत विद्यालयतर्फका १० विद्यार्थीलाई नगद पुरस्कार, कदर पत्र, दोसल्लाले सम्मान गरिएको थियो । सामुदायिक विद्यालयमा छात्रतर्फ नेपाल आदर्श माविका सन्तोष खत्री र जनचेतना सामुदायिक माविका रामप्रसाद चौधरी सबैभन्दा बढी ३ दशमलव ७६ जीपीए ल्याई नगर प्रथम भएका थिए । यस्तै ३ दशमल ५० जीपीए ल्याई प्रकाश मावि सुन्दरीडाँडाका अर्जुन वि.क. सामुदायिकतर्फ नगरमै दोस्रो हुन सफल भएका थिए भने तेस्रो स्थानमा समयथान मावि खरेन्द्रपुरका विकास चालिसे भएका थिए । उनले ३ दशमलव १५ जीपीए ल्याएका थिए ।


यता संस्थागत विद्यालयमा छात्रतर्फ आवर मदरल्याण्डका रितिश कँडेल र शिवगढी इंगलिस स्कूलका विशु पाण्डे प्रथम भएका थिए । उनीहरु दुवैले ३ दशमलव ८५ जीपीए ल्याउन सफल भएका थिए । दोस्रो स्थानमा फफुरी इंगलिस स्कूलका छात्र निर्दोष अलि मियाले ३ दशमलव ७० जीपीए ल्याएका थिए । भने सनराईज ई. बो. स्कूलका विकास भुर्तेलले ३दशमल ६० जीपीए ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।


यस्तै संस्थागत विद्यालयतर्फ हंसबाहिनी चिल्ड्रेन एकेडेमीकी छात्रा सन्ध्या अधिकारीले ३ दशमलव ८५ जीपीए ल्याएर छात्रातर्फ प्रथम भएकी थिइन् भने सामुदायिक विद्यालयतर्फ नेपाल आदर्श मावि शिवपुरकी भावना पाण्डेले ३ दशमलव ७६ जीपीए ल्याई प्रथम हुन सफल भएकी हुन् ।


यस्तै सर्वाधिक औषत जीपीए ल्याउन सफल सामुदायिक विद्यालयतर्फ जनचेतना सामुदायिक मावि, नेपाल आदर्श मावि र समयथान मावि सम्मानित भएका थिए । तीनै वटा विद्यालयको औषत जीपीए क्रमशः २.६२, २.३७ र १.९४ ल्याएका थिए । यस्तै संस्थागत विद्यालयतर्फ सर्वाधिक औषत जीपीए ३.३० लाउने शिवगढी इंगलिस स्कूल, ३.२५ औषत जीपीए ल्याउन सफल आवर मदरल्याण्ड एकेडेमी र ३.०२ औषत जीपीए ल्याउने सनराइज इंगलिस बोर्डिङ स्कूललाई सम्मान गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।

Comments: