भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय/कलेज सञ्चिति कोषको पाँचौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जीवनभर कमाएको इज्जत मान, प्रतिष्ठा सानो कमजोरीले केही समयमै समाप्त हुनसक्ने कुरामा सचेत पार्दै सम्पूर्ण भक्तपुरवासीहरुको संयुक्त प्रयासले नै आज भक्तपुर नपा अरुको निम्ति नमुना हुन सफल भएको प्रस्ट पारे।

भक्तपुरबाट एसईई उत्तीर्ण विद्यार्थीहरुको सङ्ख्या र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको सङ्ख्या तुलना गर्दा भक्तपुरबाट उत्तीर्ण भएका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न भक्तपुरकै शैक्षिक संस्थाहरुलाई चयन गरेको आंकलन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने भक्तपुरवासीको इच्छा विस्तारै पूरा हुँदै गएको उनको भनाइ छ।

न्यून आय भएका सम्पूर्ण भक्तपुरवासीका छोराछोरीहरुलाई उच्च शिक्षाबाट बञ्चित हुन नदिन भक्तपुर नपालगायत अरु शैक्षिक संस्थाहरुले वार्षिक करोडौं रुपैया छात्रवृत्ति प्रदान गर्दै आएको उनले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नपा ९ नं. वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीले व्यवस्था गरेको सञ्चिति कोषले वागीश्वरीलाई थप प्रगतिउन्मुख बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।

वागीश्वरी सामुदायिक संस्था भएकोले समुदायसँगको अन्तरक्रिया अत्यावश्यक भएकोतर्फ इङ्गित गर्दै विद्यार्थीहरुलाई स्थानीय संस्कृति, रहनसहनबारे जानकारी दिन शिक्षकहरुले चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरुको विकास शैक्षिक गतिविधिहरुबाट मात्र पूर्ण नहुने भएकोले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि शिक्षकहरुले अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जग नै भवनको प्राण हुने भएकोले विद्यालयको जग प्रावि तहमा विद्यार्थीहरुको सङ्ख्याको साथै गुणस्तर बढाउनतिर ध्यान केन्द्रित हुनुपर्ने बताए।

शिक्षण पेशा पैसाको प्यास मेटाउने पेशा नभइकन सम्मान, गौरवको पेशा भएकोले विद्यार्थी धेरै भएकोमा झर्को नमानी व्यवस्थित सेवा पुर्याउनतिर ध्यान जान आवश्यक रहेको उनको भनाइ छ।

कोषका अध्यक्ष एवं वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन रायसुझावसहित पारित गरिएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल तथा शिक्षिका कविता प्रजापति, शर्मिला प्रजापतिले पनि बोलेका थिए।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्