२०७६ असोज १ गते

गाभिने सूचीको विद्यालय नै नमुना

अन्तैबाट

पर्वत । दुई वर्षअघि विद्यार्थी नभए बन्द हुने सूचीमा थियो गहते अम्बोट आधारभूत विद्यालय । फलेबास नगरपालिका–४ मुडिकुवाको यो विद्यालयप्रति कसैको चासो थिएन । नगरपालिका स्थापना भएको पहिलो वर्ष नै फलेबासले विद्यालय गाभ्ने सूचीमा अग्रस्थानमै राखेको थियो । यही विद्यालय अहिले भने जिल्लाकै नमुनामध्येमा पर्छ । पढाइको गुणस्तर मात्रै होइन, विद्यार्थी संख्या र विद्यालयमा हुनुपर्ने सबै सूचक यहाँ छन् ।


विद्यालयमा शैक्षिक मात्रै होइन । अन्य गतिविधिले पनि महत्त्व पाउन थालेका छन् । ‘नगरपालिकाले गाभ्ने सूचीमा राख्दा गाउँको नाकै काटिने चिन्ता थियो,’ प्रधानाध्यापक ओमकार पौडेल भन्छन्, ‘इच्छाशक्ति ठूलो रहेछ । नगरपालिकाको त्यो निर्णय हाम्रो मुटुमै बिझ्यो । सबै खटेर लाग्यौं । दुई वर्षमै नसोचेको परिवर्तन भएको छ ।’ अभिभावक, गाउँका शुभचिन्तक र शिक्षकको निरन्तरको सक्रियताले अहिले विद्यालयले नयाँ जीवन पाएको उनले बताए ।

५८ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई चारैतिर बुट्यान र रुखहरूले घेरिएको छ । खानीगाउँ र मुडिकुवाको सिमानामा पर्ने विद्यालय जति सुन्दर र शान्त छ, त्यतिनै उत्कृष्ट हुँदै गएको अभिभावक बताउँछन् । ‘दुई वर्षमै यति राम्रोसँग सुध्रिएला भनेर कल्पना गरेकै थिएनौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर भन्छन्, ‘शिक्षक र अभिभावकको प्रयासले यति छिटो परिवर्तन भयो ।’ अहिले ७६ विद्यार्थी पुगेका छन् । उनका अनुसार नगरपालिकाले गाभ्ने सूचीमा राखेपछि समिति र शिक्षकले केही समय पर्खिन भनेका थिए । एक वर्षको समय मागेको र शिक्षक, अभिभावकले निजी विद्यालयमा पढदै गरेका छोराछोरी फर्काएर ल्याए । शिक्षकले पेशाप्रतिको आनीबानी सुधारे । अंग्रेजी माध्यम र निजी विद्यालयको प्रविधि अपनाए । ‘बोर्डिङको स्टाइलमा लैजान भनेर एलकेजी, यूकेजी कक्षा थप गर्‍यौं,’ प्रअ पौडेल भन्छन्, ‘विद्यार्थी तान्ने अचुक उपाय यही मुख्य रह्यो ।’ निजी विद्यालयमा भन्दा योग्यता र अध्यापन अनुभवका हिसावले उत्कृष्ट शिक्षक भएको विषय अभिभावकले प्रचार गरेपछि विद्यार्थी संख्या हवात्तै बढ्यो ।

२०३५ सालमा स्थापना भएको विद्यालय विद्यार्थी अभावकै कारण माथिल्लो तहमा स्तरवृद्धि हुन सकेको थिएन । हाल कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । बन्द हुन लागेको विद्यालय आज उत्कृष्टमा दरिएको फलेबासका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष टिकाराम गौडेल बताउँछन् । ‘गाउँको विद्यालय गाभिने सूचीमा देख्दा लाज लागेको थियो,’ गौंडेलले भने, ‘अहिले शिर ठाडो पारेको छ ।’ अघिल्लो वर्षदेखि यस विद्यालयको अध्ययन पूरा गरी अन्य विद्यालयमा गएका विद्यार्थीको नतिजा पनि राम्रो देखिएको शिक्षकले दाबी गरेका छन् । ‘सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने सोंचमा परिवर्तन आउन थालेको छ,’ शिक्षक मोतीप्रसाद चुवाईंले भने, ‘विद्यार्थीको नतिजा देखेर निजीमा पढाएका अभिभावक विद्यार्थी हामीकहाँ फिर्ता ल्याउनुभएको छ ।’

कसरी सुध्रियो विद्यालय ?
चार वर्ष पहिला ओमकार पौडेल प्रधानाध्यपक भएर आउँदा विद्यालयमा २७ विद्यार्थी थिए । विद्यालय वरिपरिका विद्यार्थी बोर्डिङ वा गुणस्तर खोज्दै अपायक भए पनि अरु सामुदायिक विद्यालयमा जान्थे । प्रअ पौडेल आएलगत्तै विद्यार्थी माग्न अभिभावकको घरदैलोमा नपुगेका होइनन् । तर, अभिभावकले विद्यालयको शैक्षिक गुणस्तर माथि प्रश्न गर्थे । पौडेल गाउँका स्थायी बासिन्दा भएकाले पनि उनमा विद्यालयप्रति जिम्मेवारी थपियो । उक्त समयमा उनलाई विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी बहन गर्न चुनौतीपूर्ण थियो । उनले हिम्मत हारेनन् । शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर लागिरहे । सुरुमा शिक्षकसँग छलफल चलाए । व्यवस्थापन समितिको अगुवाइमा अभिभावक र शिक्षक खटिए । अभिभावकवाट गुनासो संकलन गरे र उनीहरूको चाहना र भावना अनुसार चल्न थाले । समितिका अध्यक्ष चेतनाथ कुँवर र प्रअको अभियानलाई शिक्षकले साथ दिए । स्थानीय युवा पनि शैक्षिक गुणस्तर वृद्धिमा सक्रिय भएर लागे । विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन भयो । मासिक रूपमा परिक्षा लिन थाले ।

त्यसपछि विद्यार्थीको नतिजा अभिभावकको हातमा थमाई दिए । विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावको विश्वास बढदै गयो । अभिभावक विद्यालय र छोराछोरीप्रति जिम्मेवार बन्न थाले । शिक्षकले शैक्षिक सुधारको प्रतिबद्धता मात्रै गरेनन्, अभिभावकलाई विश्वास दिलाउन छोराछोरी पनि विद्यालयमा ल्याएर भर्ना गर्न थाले । त्यसलगत्तै पहिलो शैक्षिक सत्रमै विद्यार्थी संख्या करिव तीन दर्जन बढ्यो ।

यो वर्ष विद्यालयलाई विद्यार्थी भर्नाको चाप थेग्नै मुस्किल पर्‍यो । मासिक सञ्चालन हुने परीक्षामा ९० देखि ९५ प्रतिशत नतिजा सबै विद्यार्थीले ल्याउने गरेको शिक्षक बताउँछन् । शिक्षकका छोराछोरी सोही स्कुलमा पढ्ने गरेका कारण पनि विद्यार्थीको गुणस्तर सुधार गर्न सबै लागिपरेका छन् । ‘विद्यार्थीको सिकाइलाई मुख्य एजेन्डा बनाइएको छ,’ उनले भने, ‘सबै शिक्षक उत्तिकै जिम्मेवार हुनुहुन्छ । अभिभावकको हामीप्रतिको विश्वास अमूल्य छ ।’

दयनीय पूर्वाधार
विद्यालयमा अहिलेको सबल पक्ष गुणस्तरीय शिक्षा हो । भौतिक पूर्वाधारको अवस्था दयनीय हुँदाहुँदै पनि विद्यालयले समय सुहाउँदो शिक्षा दिइरहेको छ । भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । ४० वर्षअघि स्थापना कालका भौतिक संरचनाले काम चलाइएको छ । नियमित कक्षा सञ्चालनमा समस्या भएपछि पुस्तकालयमा कक्षा चलाइएको छ । फर्निचर पनि जीर्ण छन् । २०५४ सालमा तत्कालीन शिक्षा कार्यालयबाट २ कोठे भवन परेको थियो । त्यसपछि ०६७ मा बनेको २ कोठे बाहेक अरु पूर्वाधार बन्न सकेका छैनन् । अभिभावककै सक्रियतामा शौचालय र खानेपानीको व्यवस्था छ । केही समय विद्यार्थी संख्या कम भएकै कारण शिक्षाले भवनको अनुदान दिन कञ्जुस्याईं गरेको व्यवस्थापन समिति अध्यक्ष कुँवर बताउँछन् । ‘अब विद्यार्थी संख्या बढेका छन् । पुरानै अवस्था सोचिदिन भएन,’ उनले भने, ‘नगरपालिकाले हो या शिक्षा कार्यालयले हो । हामीलाई पूर्वाधारमा सहयोग गर्नुपर्छ ।’ अहिले विद्यालयमा नर्सरी, एलकेजी र यूकेजी समेत गरी ११ वटा कक्षा सञ्चालनमा छन् । शिक्षकको संख्या पनि आवश्यकताभन्दा निकै कम छ । कक्षा ८ सम्म कक्षा सञ्चालन भए पनि हालसम्म आधारभुत तहको शिक्षक दरबन्दी नपाएको उनले बताए । अहिले निजी स्रोत र अस्थायीसमेत गरी तत्कालीन प्रावि दरबन्दीका ७ शिक्षक कार्यरत छन् ।

समुदायको सक्रियता बढ्यो
छोटो समयमा विद्यार्थी संख्या र पढाइको गुणस्तर बढेपछि स्थानीय अभिभावक पनि विद्यालयको सहयोगार्थ जुटेका छन् । हालै स्थानीय बालकृष्ण तिवारीको सक्रियतामा शैक्षिक सामग्री, पोसाक, कम्प्युटर वितरण गरिएको छ । जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले कम्प्युटर सहयोग गरेको उनले बताए । त्यससँगै विद्यालयमा फलेबास–३ का गंगाधर तिवारीले ५१ हजार ५ सयको अक्षयकोष स्थापना गरिदिएका छन् । फलेबास–११ का वडाध्यक्ष जीतबहादुर सुनारले पनि विद्यालयलाई १० हजार सहयोग गरेका छन् ।

अगन्धर तिवारीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: