• क्षितिज सिकाइ मेला हुँदै
    (ईपाटी संवाददाता)


  • सिन्धुपाल्चोक । टिच फर नेपालका प्रज्ञार्थीहरुको अग्रसरतामा “क्षितिज सिकाइ मेला” नामक वृहत् सिकाइ मेला आयोजना हुने भएको छ । यही पुस २७ गते भोताङदेवी माध्यमिक विद्यालय, भोताङ–३, सिन्धुपाल्चोकको प्राङ्गणमा मेला आयोजना हुने भएको हो ।


    सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त सहकार्यमा यो सिकाइ मेला आयोजना हुन गइरहेको हो । “विज्ञान, प्रविधि र कलाको प्रवद्र्घन, हामी सबैको सम्बोधन” भन्ने मूल नारा लिई आयोजना हुन लागेको यस सिकाइ मेलाको मूल अभिभारा भनेकै विद्यार्थीमात्र नभई शिक्षक र शैक्षिक अभियन्ताहरुको पनि सिकाइका साथ साथै शैक्षिक स्थितिको सुधार एवम् प्रवद्र्घन गर्नु भएको जनाइएको छ ।


    २०७४ मंसिर १५ गते रैथाने माध्यमिक विद्यालयको प्राङ्गणमा प्रथम पटक आयोजना भएको यस मेलालाई १४७० दर्शकहरुले अवलोकन गरेका थिए । जसमा विभिन्न विद्यालयबाट १२४० विद्यार्थी, २३० अभिभावक र अन्य अतिथिहरु (स्थानीय प्रशासकीय अधिकृतहरु, विभिन्न संघसंस्थाका व्यक्तित्वहरु) रहेका थिए ।


    यस वर्षको मेलामा पाँचपोखरी गाउँपालिकाको १० वटा नै माध्यमिक विद्यालयले भाग लिने तयारी भइरहेको छ ।


    क्षितिज सिकाइ मेलामा विद्यार्थीहरुको सिकाइको क्षितिज उजागर जनाइएको छ । मेलामा  विद्यार्थीहरुले जीवनमा शिक्षाको आवश्यकता किन पर्दछ र शिक्षालाई जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको उत्तर आफैँले खोज्ने प्रयत्न गर्ने आयोजकको दाबी छ ।