• त्रिवि सेवा आयोग अनियमितता : ‘कापी बुझाएपछि अंक थप्न लगाए’
    (अन्तैबाट)

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नै उत्तरपुस्तिका परीक्षणको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको भेटिएको छ । संलग्नता देखिएपछि आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्यसचिवको भूमिकामा रहने प्रशासनिक प्रमुख परशुराम कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    ‘मैले कापी काटेर बुझाइसकेपछि फेरि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका कर्मचारी र पदाधिकारीले बोलाई थप्न लगाए,’ प्राध्यापक गोविन्दप्रसाद ढकालले अख्तियारमा बयानका क्रममा भनेका छन्, ‘सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्यसचिव परशुराम कोइराला र बच्चु भन्ने कर्मचारीले यसो गर्न लगाएका हुन् ।’ उनले कापी बुझाएपछि फेरि प्राप्तांक परिवर्तन गर्न लगाएको उल्लेख गर्दै भनेका छन्, ‘यी पार्टीका मानिस र यी विद्यार्थी युनियनका मानिस भएकाले नगरी हुँदैन भन्दै पछि नम्बर थप्न लगाएका हुन् ।’ उनले थपेको अंक आफ्नो विवेकको नभएको स्विकारेका छन् ।

    त्रिवि सेवा आयोगले अधिकृतदेखि सवारी चालकसम्म १६ पदमा लिएको परीक्षाका क्रममा विश्वविद्यालयका पदाधिकारी, विभिन्न दल निकट कर्मचारी संगठनका पदाधिकारी र विद्यार्थी नेताका आफन्त पास भएपछि परीक्षा प्रणालीमाथि नै प्रश्न उठेको थियो । त्यसक्रममा अनुसन्धान गरेको अख्तियारले परीक्षा सञ्चालनका क्रममा मिलेमतो भएको निष्कर्ष निकालेको हो । अख्तियारले दुई पदाधिकारीसहित प्रशासनिक प्रमुख अनि सेवा आयोगका कर्मचारीहरू बच्चुराम पाण्डे, इन्दिरा तिवारी भन्तना, रामबहादुर पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो । उत्तरपुस्तिका परीक्षणका क्रममा अंक परिवर्तन गरी अनियमितता गरेको आरोपमा प्राध्यापकहरू टेकनाथ ढकाल, गोविन्दप्रसाद ढकाल अनि सहप्राध्यापकहरू राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेलविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

    उत्तरपुस्तिका परीक्षणमा संलग्न केही अध्यापकको बयान हेर्ने हो भने सेवा आयोग अध्यक्ष शर्मासहित सदस्य पोखरेल र प्रशासकीय प्रमुख कोइरालाले नै अनियमितता गरी आफू निकट र शक्तिकेन्द्रका नातेदार परीक्षार्थीलाई उत्तीर्ण गराउन संलग्न रहेको देखिन्छ । त्रिवि अध्यापक विवेककुमार पौडेलले बयानमा आफूले उत्तरपुस्तिका परीक्षण गर्दा रातो मसीको कलम प्रयोग गरेकोमा पछि हरियो मसी भएको कलम प्रयोग गरेर कसैले अंक थपेको बताए ।

    उनले भने, ‘कसले कसरी थप्यो, सेवा आयोगलाई नै थाहा होला ।’ अर्का सहप्राध्यापक राजेश्वर न्यौपानेले उत्तरपुस्तिका परीक्षण गरेर घर फर्केको भोलिपल्ट सेवा आयोगका प्रशासनिक प्रमुख परशुराम कोइरालाले अंक थप्न दबाब दिएको बताए । ‘दोस्रो दिन मलाई आयोगबाट बोलाएर उत्तरपुस्तिकामा नम्बर थप गरिदिन पर्‍यो भनियो,’ उनले भने, ‘मैले सुरुमा दिएको अंक सही हो, पछि दिएको अंक प्रशासनिक प्रमुख कोइरालाको निर्देशनमा दिइएको हो ।’ पूर्वसहप्रशासक रामबहादुर पाण्डेले समेत निर्देशनअनुसार अंक थपिएको बताए ।

    आयोग प्रमुख शर्मा र सदस्य पोखरेलले आन्तरिक कार्यविधिलाई पूर्ण रूपमा पालना र अनुसरण नगरेको आरोप अख्तियारले लगाएको छ । पदाधिकारीहरूको निर्देशनमा त्यहाँका कर्मचारीले उत्तरपुस्तिका परीक्षण गरिसकेका परीक्षकलाई फेरि बोलाएर उत्तरपुस्तिकाको अंक केरमेट गर्न लगाएको आरोप छ । ‘सुरुमा दिएको अंक केरमेट गरी थपघट गर्न लगाई नतिजामा फेरबदल गराउन लगाएको भन्ने व्यहोरा अनुसन्धानबाट खुल्न आयो,’ आरोपपत्रमा भनिएको छ, ‘यस प्रकारको अनियमितताहरूमा प्रत्यक्ष संलग्न रहेको, परीक्षालाई स्वच्छ र नियमसंगत गराउन आवश्यक पहल गर्न नसकेको तथा सेवा आयोगको आन्तरिक कार्यविधिको पालना गर्न गराउन नसकेकोमा आयोगका पदाधिकारीहरू चैतन्य शर्मा र चिन्तामणि पोखरेल दोषी रहेको पुष्टि हुन आयो ।’

    शर्माले बयानमा रोचक प्रतिक्रिया दिएका छन् । ‘शाखा अधिकृतको परीक्षार्थी पार्वती सापकोटा मेरो नातामा पर्ने व्यक्ति होइनन्,’ उनले भने, ‘उनी मेरो ठूलोबुबाको छोरीपट्टिकी नातिनी हुन् ।’ तत्कालीन एमालेको संस्थापनसँग नजिक मानिने शर्माले आफूलाई त्रिवि उपकुलपतिको दाबेदारका रूपमा प्रस्तुत गरेका थिए । त्रिवि उपकुलपति सरहको पदका लागि प्राध्यापक सरहको योग्यता खोज्ने प्रचलन थियो । सहप्राध्यापक सरहका उनी राजनीतिक पहुँचका आधारमा पदमा पुगे । २०५६ को निर्वाचनमा नवलपरासीबाट एमालेको सांसद उम्मेदवार थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहेका शर्मा मदन भण्डारी मेमोरियल कलेजका पूर्वप्राचार्यसमेत हुन् । अख्तियारले छानबिन थालेपछि सम्भावित कारबाहीबाट जोगिन उनले राजनीतिक दौडधुप तीव्र बनाएका थिए । छानबिनका दौरान उनले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई समेत भेटिसकेको स्रोतले बतायो । उनी उच्च मावि परिषदका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

    यस्तो समेत गरियो :


       

    • शाखा अधिकृत पदमा कोडिङ नम्बर ५०९ का परीक्षार्थीले सुरुको परीक्षणमा ५२ अंक पाएका थिए । उनको अंक घटाएर ४३ बनाइयो । तेस्रो पत्रमा ६१ ल्याएका उनलाई ४७ अंकमात्रै दिइयो । बदनियतका साथ कुल २३ अंक घटाइदिएपछि उनी अनुत्तीर्ण भए ।
    • ३८० कोड नम्बर अंकित अर्का परीक्षार्थी उत्तरपुस्तिकामा पास भएका थिए, तर उनको नाम अन्तिम नतिजामा समावेश गरिएन । अख्तियार स्रोतका अनुसार यो उत्तरपुस्तिका परीक्षण र अंक व्यवस्थापनमा गोविन्दप्रसाद ढकाल र टेकनाथ ढकाललगायत कर्मचारी संलग्न थिए ।
    • लेखा अधिकृतको परीक्षामा ७ जनाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थपिएको थियो ।
    • सहायक कानुनी सल्लाहकार पदमा कोड नम्बर ७३८ भएका विद्यार्थीको ३७ अंकमात्रै थियो । उनको अंकमा १५ थपेर ५२ पुर्‍याइएको थियो । अरू दुई जनाको भने अंक घटाएर ५० बनाइयो ।
    • मुख्य कार्यालय सहायक पदमा एक परीक्षार्थीको ३० अंकसम्म थपेको भेटिएको छ । अर्का एक जनाको १० अंक घटाइएको छ ।
    • अख्तियार उच्च स्रोतका अनुसार आयोग सदस्य चिन्तामणि पोखरेलले शाखा अधिकृतको उत्तरपुस्तिका परीक्षणका क्रममा सबैभन्दा बढी मनोमानी गरेका छन् । २०७५ असोज २० गते अधिकृत तहको उत्तरपुस्तिका परीक्षण कामको जिम्मेवारी पोखरेललाई तोकिएको थियो । उनकै संलग्नतामा ३२ ल्याएकालाई ६२ दिइएको छ ।
    • अर्को उत्तरपुस्तिका परीक्षणका क्रममा कुल १७३ ल्याएकालाई १५० दिएर फेल गराएको समेत भेटिएको छ । आरोपपत्रलाई उद्धृत गर्दै विशेष अदालत स्रोतले बताएअनुसार उत्तरपुस्तिकामा एक पटक लेखिएको अंक नबुझिने गरी केरिएको छ भने केरमेटमा समेत परीक्षकको दस्तखत छैन ।
    • जयन्ती फुयाल सेवा आयोगकी मुख्य कार्यालय सहायक पदमा कार्यरत छिन् । उनी आफैं अधिकृत परीक्षामा संलग्न थिइन् ।
    • मुख्य कार्यालय सहायक इन्दिरा तिवारी भन्तना पनि सोही पदमा कार्यरत थिइन् । उनको दाजुकी छोरीले सहायक पदमा परीक्षा दिएको खुलेको छ ।
    • रोचक के भने, उनै इन्दिराले नै प्रश्नपत्र टाइपिङ गरेको भेटियो । उनी उत्तरपुस्तिका कोडिङमा पनि संलग्न थिइन् । स्रोत भन्छ, ‘इन्दिरा तिवारीकी भदैनी समीक्षा तिवारीको उत्तरपुस्तिका ४ पटकसम्म केरमेट गरेर ३२ लाई ६२ बनाइएको थियो ।’
    • प्रशासकीय प्रमुख परशुराम कोइरालाकी छोरी नमिता पनि शाखा अधिकृत पदमा परीक्षा दिँदै थिइन् ।

     

    सुदीप कैनी र कृष्ण ज्ञवालीले कान्तिपुरमा समाचार लेखेका छन् ।