२०७६ कार्त्तिक ३ गते

चाइनाका विद्यार्थी रोवर्ट बनाइरहँदा यहाँ प्रश्नपत्र किनबेच र चिट !

ईपाटी संवाददाता

 


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा नीतिको मस्यौदा मन्त्रिपरिषदमा छलफल भइ सामाजिक समितिमा पुगेको खुलासा गरेका छन् । मस्यौदा केही समयमै  पारित हुने चरणमा रहेको मन्त्री पोखरेलले स्पष्ट पारे ।

राष्ट्रिय शिक्षा नीतिले शिक्षाका तमाम् समस्या समाधान गर्ने दाबी गर्दै उनले शिक्षा नीति सामुदायिक शिक्षाको सबलीकरणमा केन्द्रित रहेको जानकारी दिए । तर, शिक्षा नीतिको कतिपय विषय प्रति भने सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका छन् ।


कठमाडौंको बाफल स्थित ज्ञानोदय माविको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले २०७६–०८६ साललाई सामुदायिक विद्यालयको सबलीकरण वर्षको रुपमा मनाउन लागिएको स्पष्ट पारे । यसका लागि सामुदायिक विद्यालयहरुलाई शिक्षण सिकाइ अनुदान र आवश्यक शिक्षक दरबन्दी उपलब्ध गराइने मन्त्री पोखरेलले जानकारी दिए ।


आफूले चाइनाको विद्यालयमा गएर हेर्दा त्यहाँ ७–८ कक्षाका विद्यार्थीले रोवर्ट बनाइरहेको देखेको भन्दै उनले अबको शिक्षा सूचनाप्राविधियुक्त बनाइने स्पष्ट पारे । 'अहिले नै चाइनाकै जस्तै गर्न नसकिए पनि अब फरक तरिकाले सोच्न जरुरी रहेको छ'– मन्त्री पोखरेलले भने– 'अबको युग आर्टिफिसियल इन्टिलिजन्सको युग हो ।'


अरु देशका विद्यार्थी रोवर्ट बनाइ रहँदा नेपालमा भने प्रश्नपत्र किनबेच र अभिभावक नै चिट चोराउन उद्दत हुने गरेकोमा दुख व्यक्त गर्दै उनले सबैले नयाँ तरिकाले सोच्न जरुरी रहेको बताए ।


कण्ठ पारेर, घोकाएर परीक्षा केन्द्रसम्म पुर्याउने र ३ घण्टाको परीक्षामा लेखेको विषयलाई सक्षमताको मान्यता दिने  साथै त्यही ग्रेडलाई राम्रो भनेर प्रचार गर्ने परिपाटीमा सुधार गर्न मन्त्रालय जुटिरहेको उनको भनाइ थियो ।


अब पढाइ परीक्षाको वरीपरी हुन नहुनेमा उनको जोड थियो । 'अहिले विद्यार्थीलाई शैक्षिक सामग्री, शैक्षिक वातावरण र इन्टरनेट दिने हो भने धेरै कुरा आफै सिक्छन्'– मन्त्री पोखरेलले भने–'विद्यार्थीको स्वतन्त्र ढंगले सिकाइलाई सक्षम बनाउने काम गर्नुपर्छ ।'


शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले यसलाई सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीसँग जोडेर अगाडि बढाइने मन्त्री पोखरेलले स्पष्ट पारे ।


देशभरिकै विद्यालय ज्ञानोदय मावि जस्तै हुनुपर्नेमा जोड दिँदै विद्यालयको प्रगति हेर्दा यो पहिलो डिजिटल नमूना विदालय बन्ने पक्का भएको उनको भनाइ थियो ।


Comments: