• पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन
    (ईपाटी संवाददाता)

  • काठमाडौँ । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो ।

    चितवन माडीस्थित घरमा रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि अचेत उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । ५३ वर्षीय पौडेलको हृदयघातका कारण मृत्यु भएको अस्पतालको भनाइ रहेको छ । अहिले उनको शव माडी अस्पतालमा राखिएको छ ।

    आजै उनको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । उनकी पत्नी र २ छोरीहरु रहेका छन । काठमाडौमा रहेकी पत्नी गङ्गा बेलबासेसहित उनका आफन्त र साथीभाई चितवन जादै गरेको पौडेलका साथी सुरेश न्यौपानेबाट जानकारी प्राप्त भएको छ । नेकपाका पार्टी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गृह मन्त्री रामबहादुर थापा ‘बादल’ त्यसैगरी शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेताहरु उनको अन्त्यष्टिमा सहभागी हुने बताइएको छ ।

    नेकपाका केन्द्रिय सदस्य समेत रहेका नेता पौडेलको असमायिक निधनले मर्माहत भएको पार्टी अध्यक्ष प्रचण्डले बताएका छन । २०७३ को प्रचण्ड नेतृत्वको सरकारमा पौडेल शिक्षा मन्त्री रहेका थिए । उनी सरल र मिलनसार व्यक्तित्वका धनी थिए । मन्त्री भएर पनि विलाशी जीवनमा नडुबेका नेता पौडेल सार्वजनिक यातायातमा आवत जावत गर्थे भने काठमाडौको सातदोबाटो नजिक कोठा भाडामा लिएर छोरीहरु पढाइरहेका थिए । आफूलाई लिएर पटक पटक सेकेन्ड ह्याण्ड स्कूटर सो रुममा गए पनि उनले एउटा स्कूटर किन्ने सपना समेत अधुरै छोडेर गएको उनका हितैषी मित्र प्रकाश अवालेले बताए ।



    को हुन डि.आर पौडेल🌺

    नाम:- डि.आर. पौडेल (धनिराम पौडेल)
    बुवा/आमा:-हरिप्रसाद पौडेल/ हिमादेबि पौडेल
    जन्म मिति र स्थान: २०२३ कार्तिक, कुन्चवारी- स्याङ्जा
    हालको:- स्थाइ बसाइ माडी नपा- ५ चितवन
    श्रीमती:- गङ्गा बेलबासे केन्द्रिय सद्स्य नेकपा,
    छोरीहरु :-जागृती -२४ वर्ष , आकृती- २२ वर्ष
    अध्ययन :- बिएस्सी पास
    पत्रकारिता :- विभिन्न पत्रपत्रिका र किताबको सम्पादन, लेख रचना प्रकाशित तथा सम्पादक,जनएकता साप्ताहिक

    राजनीति
    २०३८:- पाटी सदस्य नेकपा चौथो महाधिबेसन
    २०४२:-प्रतिनिधि चौम राष्ट्रिय सम्मेलन
    २०४७:-सस्थापक केन्द्रिय सदस्य जनवादी युवा लिग
    २०५१:- केन्द्रिय संयोजक अखिल (क्रान्तिकारी)
    २०६३:-केन्द्रिय सदस्य नेकपा (एकताकेन्द्र-मसाल), पार्टी एकता पछि पोलिटब्युरो सदस्य नेकपा (माओवादी)
    २०७०:-संविधान सभा सदस्य
    २०७३:-शिक्षामन्त्री


    हाल केन्द्रिय सदस्य नेकपा