२०७६ कार्त्तिक ३ गते

इसिडि शिक्षकलाई मासिक ६ हजार दिनु राष्ट्रिय लज्जाको विषय : गगन थापा

ईपाटी संवाददाता



कठमाडौं । कांग्रेसका युवा नेता एवं छाँया शिक्षामन्त्री गगन थापाले इसिडि शिक्षकलाई मासिक ६ हजार दिनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।

विहीवार प्रतिनिधि सभामा धारणा राख्दै थापाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन् ।

थापाले प्रतिनिधि सभामा गरेको सम्बोधन जस्ताको तस्तै,


२०६४ सालमा कक्षा १ मा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भए । २०७६ सालमा १२ कक्षाको परीक्षा दिँदै गर्दा २ लाख ९० हजार मात्रै बाँकी रहेका छन् । १० लाख ४४ हजार विद्यार्थी बीचमै हराए ।

विद्यालयमा नटिक्ने विद्यार्थी कसका छोराछोरी हुन ? तपाईं हाम्रा पक्कै होइनन् ।

जो विद्यालयमा टिकेका छन् तिनीहरुले कति सिके भनेर हेर्ने हो भने सरकार आफै भन्छ कुनैपनि विद्यार्थीले कुनैपनि विषयमा ५० प्रतिशत बढी सिकेनन् ।

अझ अंग्रेजी, गणित, विज्ञान हेर्यौं भने त्यो भन्दा नि धेरै तल छ ।


नसिक्ने विद्यार्थीहरु कसका सन्तान हुन् ? तपाईं हाम्रा पक्कै होइनन् ।

देशमा ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्रहरु छन् । योग्य शिक्षकबाट पढाउनुपर्ने ठाउँमा ८ कक्षा उत्तीर्णले ६ हजार कम तलबमा यि बालविकासमा  पढाइन्छ । यि बालविकासमा पढाउने कसका छोराछोरी हुन् ? तपाईं हाम्रा पक्कै होइनन् ।


हामीले लेखेको संविधानले यसो गर्न पाइँदैन भनेर भन्छ । हामीले लेखेको गरिरहेका छैनौं । यो राष्ट्रिय लज्जाको विषय हो । यसको जिम्मेवारी कसले लिने ? हामी सबैले लिनुपर्छ ।

कांग्रेसले, हिजोको एमाले, माओवादी हामी सबैले यसको जिम्मेवारी लिनुपर्छ ।  यसलाई बदल्ने काम पनि हामीले नै गर्नुपर्छ ।
जे गरिरहेका छौं त्यसले भएको अवस्था बदलिन्न ।

हामी सार्वजनिक कार्यक्रममा निजी विद्यालयलाई २–४ गाली गछौं । दाग अनुहारमा छ, ऐना पुछ्ने काम गछौं ।

हामीले आफै सञ्चालन गरेको विद्यालयमा न प्रधानाध्यापक, न हामी सांसद, न शिक्षक । हामी कोहीपपनि आफ्ना बच्चा पढाउन तयार छैनौं ।

किन यस्तो भएको अध्ययन गर्यौं । भर्खरै माननीय शिक्षामनत्रीले ठूलो अध्ययन गर्नुभयो । अध्ययन गरेको प्रतिवेदन सम्मानीय प्रधानमन्त्रीले लिएर गइसकेपछि आजसम्म शिक्षा मन्त्रालयले फिर्ता माग्ने आँट गर्न सकेको छैन ।


आधारभूत विषय स्थानीय तह, संघ र प्रदेशलाई बाँडफाड गरेका छौं । स्थानीय सरकारको अधिकार एकपछि अर्को खोसेर लगिँदै गएको अवस्था छ ।
पाठ्यक्रमको विषय छ । महाश्रम प्रतिवेदनले शिक्षकका बारेमा विस्तृत रुपमा बताएको छ । सर्लाहीमा ८३ जना विद्यार्थीलाई १ जना शिक्षक हुँदै गर्दा भक्तपुरमा १७ जना विद्यार्थीका लागि १ शिक्षक छ ।

२९ हजार विद्यालय मध्ये २० हजार विद्यालयमा पुर्वाधारको विजोग छ । गुणस्तर भन्ने केबल हामीले अंग्रेजी भाषा भन्ने बुझेका छौं ।

इस्तोमा शिक्षा मन्त्रालयले ल्याएको वजेट हामीले हेरयौं भने आधारभूत शिक्षामा जति वजेट छुट्याएको छ म शिक्षा मन्त्रीलाई चुनौती दिन चाहन्छु अर्कोवर्ष भटौं यो पैसाले एक चौथाई विद्यार्थीलाई मात्रै भएपनि पुर्याउनुभएछ भने पनि शिक्षामन्त्रीले भनेका सबैकुरा मान्न हामी तयार छौं ।

४ सय विद्यालयहरुलाई एकमुष्ठ दिने भनेको अनुदान गएको २ वर्षमा १ रुपियाँ खर्च भएन । यो वर्ष के गर्नुहुन्छ ?

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कन्सेप्ट छ ? त्यो अवधारणा सार्वनिक गरिदिनुस् ।


५ अर्ब छुट्याउनुभएको छ खेलकुद शिक्षकसम्म राख्छु भन्नुभएको छ । एउटा विद्यालयको भागमा जम्मा १ लाख ३२ हजार मात्रै पर्छ ।
दलित अपांग विद्यार्थी भएको ठाउँमा प्रतिमहिना जम्मा ८५ रुपियाँ पर्छ ।

एकदिनको खाजाभत्ता कति लाग्छ माननीय सभामुख ज्यू ?,

खाजाको लागि छुट्याएको पैसा विद्यार्थीले जम्मा ११ रुपियाँ पाउँदै छ ।

६३ हजार शिक्षक अपुग छन् । ठूलो संख्यामा शिक्षक दरबन्दी सिर्जना  गर्नुपर्नेमा कुनै अवधारणा नै नभएको स्वयंसेवी शिक्षकलाई भनेर ५ अर्ब छुट्याइएको छ ।


यो वजेटबाट हामीले पुग्न खोजेको कहाँ हो ?


विश्वविद्यालयको प्रणालीमा ठूलो परिवर्तन गर्नुपर्ने छ । संघले, प्रदेशले, स्थानीय तहले के गर्ने भनेर छलफल गर्नुपर्ने बेलामा हामी फेरी छाता ऐन भन्दैछौं ।

दशौं योजना देखि छाता ऐन भन्न थालेको । के हो छाता ऐन भनेको ?

छाता ऐन ल्याउने भए अहिले नयाँ विश्वविद्यालयको प्रस्ताव किन लिएर आएको ?

नयाँ विश्वविद्यालयको अध्ययन भएको छ ? डिपिआर तयार भएको छ ? यत्रो पैसा मध्ये यसका लागि यो वर्ष १ रुपिया खर्च गर्न सक्नुहुन्छ शिक्षामन्त्री ज्यू ?

सम्मानित नेताको नाम अहिले भएको विश्वविदालयमा राखिदिने कुरामा कुनै आपत्ति छैन ।




Comments: