२०७६ असोज १ गते

सदरमुकामकै विद्यार्थी एक घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य

ईपाटी संवाददाता/हुम्ला

सिमकोट गाउँ पालिका वडा नम्बर ७ को कैलाश माविको जिर्ण अबस्थामा रहेको घुम्ती विद्यालय भवन । तस्बीर : राजन रावत, हुम्ला

 


सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर सातका विद्यार्थीहरु एक घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । कक्षा तीनसम्म अध्ययन हुने कैलाश माविको घुम्ती विद्यालयको भवन जिर्ण र भत्किन लागेपछि विद्यार्थीहरु टाढैको विद्यालयमा पैदलै हिडेर अध्ययन गर्न बाध्य भएका हुन् ।


वर्खा लागेर झरी पानी परिरहेका बेला पनि निकै जोखिम उठाएर हिजोआज विद्यालयमा जानु परि रहेको कैलाश माविमा कक्षा तीनमा अध्ययनरत छात्रा संगिता बिकले बताइन् ।


अहिले बिहान एक घण्टा ओरालो र बेलुका एक घण्टा उकालो हिँड्दा विद्यार्थीहरुलाई हैरानी हुने गरेको छ । यो कुरा विद्यार्थीको रहर नभएर बाध्यता भएको बिकले बताइन् ।


वर्खामा गर्मी छल्न लेकको बस्तीमा बस्दा केही वर्ष अगाडि घुम्ती विद्यालय सञ्चालनमा आएको भए पनि अहिले उक्त पाँच कोठे भवन जिर्ण र भत्कनै लागेको अवस्थामा पुगेपछि सबै कक्षाको पठनपाठन बेशी डाँडाफयामा रहेको कैलाश माविमा गर्नु परेपछि हाल डेढ सय भन्दा बढी विद्यार्थी दैनिक दुई घण्टा समय लगाएर विद्यालयमा आउजाउ गर्नु पर्ने अवस्था आएकोे अभिभावक एवं सिमकोट गाउँपालिका गाउँ कार्य पालिकाका सदस्य बिनोद बिकले बताए ।


वर्षामा ढुङ्गा खस्ने र चिप्लने डर हुँदाहुँदै पनि विद्यार्थी अध्ययन गर्न जानै पर्ने स्थिती विद्यमान रहेको उनको भनाइ थियो । बालविकास देखि कक्षा दशसम्म अध्ययन हुने उक्त विद्यालयमा बालविकासका अध्ययन गर्ने साना साना नानीहरुले पनि पैदलै हिडरे विद्यालय जानु परि रहेको छ । बिहान ओरालो झर्नु र बेलुका उकालो चड्नु विद्यार्थीको दैनिकी जस्तै भएको छ ।


विद्यालयमा कुल २६८ जना विद्यार्थीहरु भएकोमा केही बाहेक अधिकाँश लेकका बस्तीमा बस्ने र उनीहरु सबैले आउजाउ गर्ने गरेको विद्यालयमा प्रधानाध्यापक मेज बहादुर बुढाले बताए ।


पहिले लेकको घुम्ती विद्यालय सञ्चालनमा हुँदा साना विद्यार्थीहरुलाई सहज भए पनि अहिले भने गाह्रो हुने गरेको छ । कुल मध्य विद्यालयमा १२८ जना छात्रहरुले अध्ययन गरि रहेका छन् भने १४० जना छात्राहरु छन् । त्यो संगै केही दिन अगाडी बर्षा धेरै हुँदा कक्षा दुईको भवन भत्किए पछि पठन पाठनमा समेत समस्या भै रहेको प्रअ बुढाले बताए ।



Comments: