२०७६ भदौ ९ गते

शिक्षामा करोडौंको बेरुजु

अन्तैबाट

बारा । बाराका विद्यालयहरूमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । स्थानीय तह बेखबर हुँदा आर्थिक वर्ष २०६५-६६ देखि बाराका विद्यालयको ठूलो रकम बेरुजु देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइले असार १ गते एकाएक बेरुजु रहेका सबै विद्यालयलाई पत्राचार गरी करोडौं बेरुजु रकम फछ्र्योट गर्न ताकेता गरेपछि यसको खुलासा भएको हो ।


स्थानीय तहहरूमा शिक्षा हेर्ने शाखा भए पनि प्रमुख-उपप्रमुखसमक्ष शिक्षासम्बन्धी कुनै जानकारी नै नहुनु र उनीहरूले समेत ध्यान नदिँदा एकै पटक ठूलो रकम बेरुजु देखिएको हो ।


विगतमा शिक्षा कार्यालय जिल्लामा रहँदा ब्यापक चलखेल र अवैध रकमको लेनदेन, दैनिक मुद्दा र अख्तियारको बारम्बार छापामारीले बदनाम बनेको बारामा स्थानीय सरकार सञ्चालन हुँदासमेत विद्यालयले बेरुजु रकमप्रति चासो देखाएका छैनन् । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु जितपुर सिमरा उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा देखिएको छ । उपमहानगरपालिकाअन्तर्गत रहेका विद्यालयको करिब १२ करोड रुपैयाँ बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय इकाइ बाराले जनाएको छ ।


पछिल्लो समय उपमहानगरपालिकाका विद्यालयमा बढी चलखेल र आर्थिक अनियमितता हुने गरेको र अनुदान रकममा समेत विद्यालयले लापरबाही गर्दा २०६५ सालदेखिको बेरुजु रकम चलखेल भएको अनुमान गर्न थालिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको वेवास्ताका कारण कतिपय नमूना विद्यालयका करोडौं रकम यस वर्ष फ्रिज भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।


महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयमा आर्थिक बर्ष २०६५-६६, २०६९-७०, २०७०-७१, २०७१-७२, २०७२-७३ र २०७३-७४ मा गरेको लेखा परीक्षणमा ११ करोड ६१ लख ८७ हजार रुपैयाँ बेरुजु देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले २०७६ साल असार १ गते बेरुजु रहेका सवै विद्यालयलाई पत्राचार गरी बेरुजु रकम फर्छौट गर्न ताकेता गरेको छ । त्यसपछि केही विद्यालयले मात्र नगण्य रकम फरफारक गरेका छन् ।


इकाइका कायम मुकायम प्रमुख अशोककुमार रौनियारले बेरुजु रकम फस्र्यौट नगरेमा सम्बन्धित विद्यालयको अनुदानबाट कट्टा गरी असुल गनिे बताए । अनुदान कट्टा गर्दा कतिपय सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुग्छन् ।


जितपुर–सिमरा उपमहानगरपालिकाको सबभन्दा बढी बेरुजु देखिने विद्यालयमा डुमरबानास्थित मौवादेवी माध्यमिक विद्यालयको १ करोड ४१ लाख ५० हजार रुपैयाँ छ । त्यस्तै नमूना माध्यमिक विद्यालय सिमराका नाममा १ करोड ३ लाख रुपैयाँ बेरुजु देखिएको छ भने जनता माध्यमिक विद्यालय रजघटाको नाममा ७८ लाख रुपैयाँ देखिएको छ


जितपुरस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका नाममा ६८ लाख ६५ हजार, वडा नं. ५ बकुलियास्थित नमुना माध्यमिक विद्यालय बकुलियाको नाममा ३६ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ ।


जितपुर–सिमरा उपमहानगरपालिकाका शिक्षा, खेलकुद महाशाखा प्रमुख उपसचिव तथा प्रवक्ता शिव जीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर बेरुजु रकम तिर्नुपर्ने ताकेता गरिसकेको र केहीले कागजपत्र बनाउन थालेको बताए ।

प्रकाश लम्सालले कारोवारमा खबर लेखेका छन् ।

Comments: