• यसवर्ष सबै अस्थायी शिक्षकले सुविधा पाउँछन्– महानिर्देशक पौडेल
    (ईपाटी संवाददाता)


  • काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले यसैवर्ष भित्र सबै अस्थायी शिक्षकहरुले सुविधा पाउने बताएका छन् । सुविधा रोजेका र आन्तरिक परीक्षामा अनुत्तीर्ण सबै अस्थायी शिक्षकहरुलाई छिट्टै सुविधा दिन शुरु गरिने पौडेलले स्पष्ट पारे ।


    आको शिक्षा साप्ताहिकले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै महानिर्देशक पौडेलले सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सुविधाका लागि साढे ८ अर्ब लाग्ने, शिक्षा मन्त्रालयसँग यसका लागि ५ अर्ब रहेको र बाँकी साढे ३ अर्ब अर्थमन्त्रालयसँग मागिएको बताए ।


    अर्थमन्त्रालयबाट निकास हुनसाथ अस्थायी शिक्षकलाई सुविधा दिन शुरु गरिने पौडेलले स्पष्ट पारे ।


    महानिर्देशक पौडेलले करार शिक्षक छनोट शिक्षक सेवा आयोगले तयार पारेको करार सुचीबाट मात्रै गर्न पाइने समेत स्पष्ट पारे ।


    'अब आफन्त वा विश्वास पात्रलाई गोजीबाट फुत्त नियुक्ति दिन पाइदैन । जसले करारमा शिक्षक नियुक्ति गरेपनि करार सुचीबाटै गर्नुपर्छ'– महानिर्देशक पौडेलले भने ।


     स्थानीय तहले भटाभट शिक्षक सरुवा गरेको प्रति असन्तुष्टि व्यक्त गर्दै पौडेलले नराम्रा शिक्षक सरुवा गरेर मात्रै समस्या समाधान नहुने स्पष्ट पारे ।


    'नराम्रो शिक्षक सरुवा गर्ने होइन  सुधार गर्ने हो ।  सरुवा गर्दैमा चौपटै सुधार हुने होइन ।  नराम्रा शिक्षक कहाँ पठाउने, कसले लिन्छ? कहीँ न कहीँ त पठाउनु प¥यो ?' पौडेलले प्रश्न गरे । त्यसैले भएकै शिक्षकलाई सुधार गर्दै जानुपर्नेमा उनको जोड थियो ।