• विद्यालयमा हाजीर गरेर जग्गा दलाल गर्ने शिक्षकलाई अब के हुन्छ ?
    (ईपाटी संवाददाता)


  • काठमाडौं । विद्यालयमा हाजीर गरेर जग्गा दलाल गर्ने शिक्षकलाई अब के हुन्छ ? रक्सी खाएर कक्षा कोठामा आउने शिक्षकलाई के हुन्छ ? कम विद्यार्थी भएका विद्यालय के हुन्छ ? शिक्षकलाई राजनीति गर्न छुट हुन्छ कि हुँदैन ? हाजीर गरेर दलको कार्यक्रममा जाने शिक्षकलाई के हुन्छ ? शंखरापुर नगरपालिकाका शिक्षा इकाई प्रमुखलाई स्थानीय नवराज दाहालको प्रश्न हो यो  ।


    ग्लोबल एक्सन नेपाल(ज्ञान)को सहजीकरणमा नाङ्लेभारे सामुदायिक सिकाइ केन्द्रले मासिक रुपमा आयोजना गर्दै आएको छलफल चौतारीमा स्थानीय दाहालले शिक्षा र शिक्षकको सम्बन्धमा गरेको यि प्रश्नले कार्यक्रमकै माहोललाई गर्माएको थियो ?


    प्रश्नपछि शिक्षा इकाई प्रमुख बोधराज निरौलाले कस्तो जवाफ देलान् भनेर सबैको ध्यान उनीमाथि केन्द्रित भयो । निरौलाले सबैपश्नको क्रमैसँग यसरी जवाफ दिए ।


    कम विद्यार्थी भएर सञ्चालनमै मुस्किल हुन लागेका विद्यालयहरु मर्ज गर्ने, बन्द गर्ने वा के गर्ने भनेर नगरप्रमुखसँग छलफल भइरहेकोले छिट्टै टुंगोमा पुगिने छ ।


    शिक्षकले कक्षाकोठामा मदिरा सेवन गरेर आउन पाउदैन । आएको पाइए कार्बाही हुन्छ ।


    शिक्षकले राजनीति गर्न पाउँछ कि पाउँदैन भन्ने कुरा अब प्रश्न नै होइन । पाउँदैन । सबैलाई थाहा छ ।


    विद्यालयमा हाजिर गरेर जग्गा दलाली गर्ने शिक्षकहरुकोे सम्बन्धमा पहिले छानवीन र पहिचान हुन्छ । हामी सबै मिलेर त्यस्ता शिक्षकहरुको लिस्ट बनाऔं ।


    त्यस्ता शिक्षकलाई पहिलो चरणमा सुधार गर्ने, दोस्रो चरणमा कार्बाही गर्ने काम हुन्छ । कसैलाई त्यसै छाडिने छैन । पहिले के–के भयो मलाई थाहा भएन म यहाँ आएपछि शिक्षकहरु कक्षाकोठामा सिकाइ सुधारमा केन्द्रित हुनै पर्छ ।


    यसरी छलफल चौतारीमा शिक्षा र शिक्षक सम्बन्धी सार्वजनिक छलफल भयो । त्यसपछि स्थानीय शिवराम दंगाल, शिला तामाङ, कृष्णबजगाई, सिताराम ढेंगानालगायतले नगरपालिकाको वजेट विनियोजन र स्थानीय योजना निर्माणका सम्बन्धमा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, १ नम्बर वडाका वडाध्यक्ष श्यामनारायण ढुंगाना। व्डासचिव धु्रव ढुंगानालाई प्रश्न गरेका थिए । उनीहरु सबैले स्थानीय आवश्यकताका आधारमा बस्तीबस्तीबाट योजना संकलन गरी वडाको योजना निर्माण गरिने जानकारी गराएका थिए ।


    यसरी नाङ्लेभारे सामुदायिक सिकाइ केनद्रको आयोजनामा महिनैपच्छिे यस्तै सार्वजनिक सरोकारका विषयमा छलफल चौतारी कार्यक्रम आयोजना हुँदै आएको केन्द्रका अध्यक्ष चेतनाथ दंगालले जानकारी दिए ।