२०७६ भदौ ३० गते

विद्यालय समायोजन गर्दा विद्यालय कर्मचारी पनि समायोजन गर्न माग गर्दै शिक्षा विभागमा निवेदन

काठमाडौं । सरकारले विद्यालय समायोजन गर्दा विद्यालय कर्मचारीको पनि समायोजन गर्न माग गर्दै शिक्षा विभागमा निवेदन दर्ता गरिएको छ । पुनरुत्थान पार्टीनेपालको अगुवाईमा चितवनका ६ जना विद्यालय कर्मचारीहरुले आफुहरुलाई पनि समायोजन गर्न भन्दै निवेदन दर्ता गराएका हुन् ।


सरकारले विद्यालय समायोजन गर्दा शिक्षकको मात्रै समायोजन गरेको तर लामो समय काम गरेका विद्यालय कर्मचारीहरुलाई भने बीचमै अलपत्र छाडेको भन्दै उनीहरुले विद्यालय कर्मचारीहरुलाई समेत समायोजन गर्न माग गरेका छन् ।


सरकारले विद्यार्थी कम भएका विद्यालयहरुलाई नजिकैको अर्को विद्यालयमा समायोजन गर्दै आएको छ । विद्यालय समायोजन गर्दा दरवन्दीका शिक्षकहरु समायोजन हुँदै आएपनि विदालय कर्मचारीहरुको भने बिचल्ली पर्दै आएको छ ।


बुधवार चितवनका विद्यालयकर्मचारीहरु श्री नवज्योति राप्रावि, लंकुकी माकुरी क्षेत्री, शान्तीदीप राप्रावि पञ्चकन्याकी तारा तिवारी, राप्रावि मैनाहाकी सीता महतो, किरण गणेश प्राविकी नरमाया गुरुङ , राप्रावि शुक्र नगरका बल बहादुर तामाङ र राप्रावि अमेलियाका खड्क प्रसाद ढुंगेलले शिक्षा विभागमा दर्ता नं. १६७० मा निवेदन दर्ता गराएका हुन् ।


हाल नव ज्योति राप्रावि लक्ष्मी उमाविमा शान्तीदीप राप्रावि पञ्चकन्या उमाविमा, राप्रावि मैनाहा चित्रसेन मावि चित्रसारीमा, किरण गाणेश प्रावि किरणगञ्ज किरण अमरजंग गुरुङ, राप्रावि शुक्रनगर भिमनगर उमावि र राप्रावि अमेलिया भैरवपुर निमाविमा मर्ज भएको छ ।


क्षेत्रीले २७ वर्ष, ताराको १५ वर्ष, महतोको १५ वर्ष, गुरुङको १५ वर्ष, तामाङको २१ वर्ष र ढुंगेलको ३३ वर्ष विद्यालयमा पियनका रुपमा सेवा गरेका थिए । उनीहरुले आफूहरु शिक्षा मन्त्रालयले ०३९ सालमा व्यवस्था गरेको दरवन्दीमा कार्यरत भएको दावी गरेका छन् ।

शिक्षा विभागले उनीहरुलाई शिक्षकहरुसँगै अर्को विद्यालयमा समायोजन नगरे आफुहरु न्यायका लागि अदालत जाने कर्मचारी माकुरी क्षेत्रीले बताइन् । हामीलाई जीवनभर सेवा गरेको विदालयबाट हटाएर घरको न घाटको बनाइयो । उनले भनिन् । हामी न्याय नपाउज्जेल लडिरहन्छौं ।


उनीहरुको न्यायका लागि अगुवाई गरेको पुनरुत्थान पार्टी नेपालका अध्यष गोविन्द बहादुर पौडेले उनीहरुलाई राज्यले अन्याय गरेको भन्दै उनीहरुको न्यायको लागि निरन्तर संघर्ष गर्ने बताए ।

 

Comments: