२०७६ कार्त्तिक ३ गते

गाउँपालिकाको शिक्षा बजेटः शिक्षकको तलब नै अपुग, सिकाइ सुधार कसरी ?

राजन रावत/हुम्ला



चालु आर्थिक वर्षका लागि सिमकोट गाउँपालिकाले छुट्याएको शिक्षा बजेटले शिक्षकको तलब नै खुवाउन मुस्किल पर्ने देखिएको छ ।

गाउँपालिकाको लेखा शाखाको अनुसार बजेटमा  नगरभित्रका शिक्षकहरुको तलब तथा छात्रवृत्तिको लागि एक करोड २६ लाख रकम अपुग हुने देखिएको छ ।

तेस्रो चौमासिक निकासा दिनु अगाडि  गाउँपालिकाको लेखाशाखाले हिसाब गर्दा चालु आर्थिक बर्षको शिक्षकलाई तलब खुवाउनै नसकिने तथ्य बाहिर आएको हो ।
 
नगरभित्रका सबै विद्यालयको शिक्षक तलब र छात्रवृत्तिका लागि शिक्षा बजेटमा एक करोड २६ लाख ७७ हजार रुपियाँ अपुग भएको सिमकोट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख गंगा प्रसाद भट्टले जानकारी दिए ।

सिमकोट गाउँपालिकाका भित्रका २३ वटा सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता, छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तक र प्रशासनिक गरि सात करोड बीस लाख आवश्यक पर्नेमा चालु आर्थिक बर्षका लागि पाँच करोड ९४ लाख २३ हजार रुपियाँ मात्र निकासा आएको भट्टले जानकारी दिए ।

 यसले गर्दा सबै तहका विद्यालयमा असर पर्ने देखिएको छ । गाउँपालिका भित्रका विद्यालयहरुलाई प्रथम चौमासिकमा दुई करोड ३५ लाख, दोस्रो चौमासिकका लागि दुई करोड सात लाख र तेस्रो चौमासिकका लागि दुई करोड साठी लाख बजेट आवश्यक पर्छ ।  

गाउँ पालिकाको शिक्षा क्षेत्रमा आउने सशर्त अनुदानको बजेट अपुग भएको स्वीकार गर्दै थप रकम माग पनि गरेको र शिक्षा विभागले पठाई दिने आश्वासन दिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्पष्ट पारे ।

 समय पनि केही बाँकी रहेको र बजेट आउने पक्का पक्की भएकोले बिद्यालयहरुलाई अन्य शिर्षकबाट पनि रकम दिने तयारीमा गाउँ पालिका रहेको उनले बताए ।

अपुग बजेटका लागि माग पनि भएको र १८ नम्बर फारम पनि भरि राख्ने तर्फ गाउँपालिका रहेको छ । यो समस्या साबिकको जिल्ला शिक्षा कार्यालय हुँदा देखिको भएको बताउँदै गत वर्ष पनि विभागले दुई करोड बजेट पछि थपेर शिक्षाको यो समस्या समधान भएको थियो ।
 

Comments: