२०७६ कार्त्तिक ३ गते

त्रिविमा बीडीएस पढाइ सुरु

अन्तैबाट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दन्त चिकित्सातर्फ स्नातक तह (बीडीएस) को पठनपाठन सुरु गरेको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानस्थित महाराजगन्ज चिकित्सा क्याम्पसमा उपकुलपति तीर्थराज खनियाँले सोमबार दन्त चिकित्सा कलेज र मातहतको दन्त चिकित्सक शिक्षण अस्पतालको उद्घाटन गरे ।

त्रिविअन्तर्गत अहिलेसम्म बीडीएसको पढाइ हुन सकेको थिएन। बीडीएस अध्यापनका लागि अस्पताल सञ्चालन गरिएको संस्थानका डिन जगदीशप्रसाद अग्रवालले जानकारी दिए।

शैक्षिक सत्र २०७५/७६ मा उक्त तह अध्ययनका लागि विद्यार्थी भर्ना गरिएको थियो। उनीहरू मंसिरदेखि त्रिवि शिक्षण अस्पतालको दन्त युनिटमा अध्ययन गरिरहेका थिए। अस्पतालमा दन्त उपचारसम्बन्धी २० थान उपकरण छन्। डिन कार्यालयले प्रत्येक शैक्षिक सत्रमा बीडीएस अध्ययन गर्न २५ जना विद्यार्थीको कोटा तोकेको छ।

सन् २००२ देखि नै दन्त चिकित्सातर्फ स्नातकोत्तर तहको पढाइ हुँदै आएको थियो। स्नातक (बीडीएस) मा आफ्नो कार्यक्रम नहुँदा पनि त्रिविले निजी मेडिकल कलेजहरूलाई सोही कार्यक्रमको सम्बन्धन दिँदै आएकोमा आलोचित थियो। ‘ब्याचलर नभई मास्टर्स लेभल चलाउँदा असुहाउँदो भएको थियो,’ डिन अग्रवालले भने, ‘बिरामीलाई सेवा दिने र विद्यार्थीलाई पनि पढाउने गरी अस्पताल स्थापना गरिएको हो।’

त्रिविले बीडीएस चलाउन सम्बन्धन दिएका ६ मेडिकल कलेज छन्। संस्थानअन्तर्गत महाराजगन्जमा ८ स्नातक, २७ स्नाकोत्तर र विद्यावारिधिका ११ गरी चिकित्सा शिक्षासम्बन्धी ४६ वटा कार्यक्रम सञ्चालनमा छन्। त्यसमा १३ सय विद्यार्थी अध्ययन गर्छन्। ४ करोड लागतमा दन्त अस्पताल स्थापना गरिएको हो।

विश्वविद्यालयले चिकित्सा अध्ययन संस्थानलाई सबैभन्दा बढी प्राथमिकता दिएको उपकुलपति खनियाँले बताए। ७६ सिटमा मात्र विद्यार्थी पढाउने संस्थानको एमबीबीएस कार्यक्रमलाई कम्तीमा एक सय कोटाका विस्तार गर्नुपर्ने उनको सुझाव थियो।

कान्तिपुरमा खबर छ ।

Comments: