२०७६ कार्त्तिक ६ गते

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित

अन्तैबाट

ललितपुर । ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार संस्थालाई हालको लागि निलम्बन गरिएको हो । टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तरुुन्त बन्द गर्न तथा बैक खाता रोक्का गर्नका लागि पत्राचार गरिसकेको बताए । उनले भने, ‘संस्थाका अन्य ठाउँमा थप जग्गा जमिन के छन् विवरण मागिरहका छौं, काजगपत्र लिने काम निरन्तर भइरहेको छ ।’

जोशीका अनुसार संस्थाको खातामा खासै पैसा देखिएको छैन । उनीहरुले प्रयोगमा ल्याइआएको नबील बैंकको खाता पनि रोक्का गर्न पत्राचार गरिसकेको जोशीले बताएका छन् ।

यस संस्थाले विज्ञापनमा एक प्रशिक्षर्थी शिक्षकको माग गर्दै क्रिष्चियन परिवारको हुनुपर्ने, क्रिष्चियन कलेजमा पढेको र चर्चको (प्रमाणीकरण चिठी) रेफरेन्स चाहिने लगायत मापदण्ड राखेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा गुनासो आएको थियो । गुनासोपछि यस संस्थामा छानबिन सुरु गरिएको बताइएको छ ।

टिच नेपाल ०६९ सालको मंसिरमा १५ गते संस्था दर्ता ऐन ०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको देखिएको छ । तर उनीहरुको आवद्धता भने समाज कल्याण परिषद ललितपुरमा छ ।

संस्था दर्ता ऐन ०३४ अनुसार कुनै धर्म तथा जाति विशेषका लागि मात्रै संस्था स्थापना हुन नमिल्ने उल्लेख गरिएको छ । ऐन तथा नियमावली भन्दा बाहिर गएर कसैले काम गर्न नमिल्ने प्रमुख जोशीले बताए । संस्था दर्ता ऐन तथा नियमावली ०३४ अनुसार यदी कुै पनि संस्थाले नियमावली भन्दा बाहिर गएको भेटिएमा संस्था खारेज हुन सक्ने, निलम्बन हुन सक्ने तथा अन्य कारबाही हुन सक्ने प्रावधान छ ।

तर संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले ‘टिच नेपाल’ ले विज्ञापन गर्ने क्रममा त्रुटी गरेको स्वीकार गरिसकेका छन् । उनले संस्था दर्ता गर्दा मण्डली, चर्च लगायत संस्थामा काम गर्ने भनेर खुलाएकाे पनि प्रष्ट्याएका छन् ।

नितु घलेले अन्नपुर्णपोष्टमा खबर लेखेकी छन् ।

Comments: