• विद्यालय बन्द गरेर संगठन विस्तार
    (अन्तैबाट)

  • गोरखा  । नेपाल शिक्षक महासंघ यहाँका सामुदायिक विद्यालय बन्द गरेर संगठन विस्तारमा जुटेको छ । सोमबार आरूघाट र अजिरकोट गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकाको विद्यालय बन्द गरेर महासंघले शिक्षकहरूको भेला गर्‍यो ।

    सबै स्थानीय तहमा महासंघ घोषणाका लागि बुधबार सम्मको तीनदिने कार्यतालिका बनाएको शिक्षक महासंघका अध्यक्ष धुव्र भट्टले बताए । ‘महासंघ घोषणा हुने स्थानीय तहमा एक दिन त विद्यालय बन्द हुने नै भए,’ उनले भने, ‘यसको सट्टा पुस १४ गते शनिबारका दिन कक्षा चलाउन सबै विद्यालयमा सर्कुलर गरेका छौं ।’


    मंगलबार भीमसेन, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाका शिक्षकहरू भेला गरेर महासंघ घोषणा गरिने भट्टले बताए । बुधबार सहिद लखन र गण्डकी गाउँपालिकामा महासंघ घोषणाका भेलामा लागि अनिवार्य उपस्थित हुन शिक्षकहरूलाई भनिएको छ ।

    भौगोलिक विकटताका कारण धार्चे र चुमनुव्री गाउँपालिकाको घोषणा सभाको कार्यक्रम भने तय नभएको उनले बताए । ‘महासंघको कार्यक्रममा अनिवार्य उपस्थित हुनका उर्दी नै जारी भएको छ,’ सोमबारको भेलामा सहभागी एक शिक्षकले भने, ‘अभिभावकहरू किन स्कुल बन्द भनेर सोध्छन्, के भनेर जवाफ दिने ? लाजमर्दो भयो ।’

    महासंघको कार्यक्रममा अनिवार्य हाजिरी हुन शिक्षकहरूलाई भनिएको अध्यक्ष भट्टको सोझो भनाइ छ । ‘आफ्नो प्रतिनिधि छान्ने भेलामा त आउनैपर्‍यो,’ उनले भने, ‘यहाँ पनि नआउने, विद्यालय पनि नजाने गर्न पाइएन ।’ यहाँ क्रियाशील पाँच शिक्षक संघ–संगठनमा आबद्घ शिक्षकहरूले स्थानीय तहमा गठन हुने महासंघमा प्रतिनिधित्व गर्नेछन् ।

    शिक्षक संघ संगठनबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरूको आन्तरिक तवरले टुंगो लागे पनि घोषणासभाका लागि शिक्षकहरू भेला गरिएको हो । तत्कालीन एमाओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठन, कांग्रेस निकटको नेपाल शिक्षक संघ, तत्कालीन एमाले निकटको नेपाल राष्ट्रिय शिक्षक संगठन, विप्लव नेतृत्वको नेकपाको अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय कर्मचारी परिषद्बाट महासंघमा प्रतिनिधित्व हुनेछ ।

    ‘कुन पद कुन संघ, संगठनले पाउने विधानमै उल्लेख छ,’ भट्टले भने, ‘संघ, संगठनले कुन पद पाउने पहिलै थाहा छ । केही त छनोट भइसकेका छन् । यो त घोषणासभा मात्र हो ।’ पेसागत हकहितका लागि भन्दै २६ बुँदे माग राखेर शिक्षकहरू आन्दोलित छन् ।

    मंसिर १४ मा काठमाडौंमा हुने विरोधसभामा सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी शिक्षक पठाउनका लागि महासंघ गठन गर्नुपरेको अध्यक्ष भट्टको तर्क छ । ‘प्रत्येक गाउँ र नगर समितिका अध्यक्ष र सचिव उपस्थित भई प्रदर्शन गर्ने भनिएको छ,’ उनले भने । शिक्षक महासंघको आन्दोलनले यसअघि पनि यहाँका विद्यालयहरूमा पढाइ प्रभावित हुँदै आएको छ ।

    गत शुक्रबार गण्डकी प्रदेशस्तरीय जुलुस तथा विरोधसभामा भाग लिन यहाँका माविका तीन, निमाविका दुई र प्राविका एक शिक्षक प्रतिनिधिका रूपमा पोखरा पुगेका थिए । विद्यालय बन्दको विषयमा महासंघले आफूहरूलाई जानकारी नगराएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेलले बताए । ‘जिम्मेवारी सरेपछि अहिले हामी नियमन गर्दैनौं । स्थानीय तहको शिक्षा इकाइलाई जानकारी गराउनुभएको होला,’ उनले भने ।

    विशेष कारणवश विद्यालय बन्द गर्नुपरे नियमअनुसार अनुमति लिनुपर्ने गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालले बताए । ‘हिजो विद्यालय बन्द हुने जानकारीको पत्र लिएर महासंघका प्रतिनिधि आउनुभयो । प्रचलित नियम कानुनअनुसार अनुमति लिएर मात्र विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने । बन्द गरेको विषयमा शाखामा छलफल गरेर सचेत गराइने उनले बताए ।

    ‘जहिले मन लाग्छ उहिले बन्द गर्न नियमत: पाइँदैन,’ उनले भने, ‘मुलुकभरि यसरी नै विद्यालय बन्द भएका हुन् वा होइनन् पनि बुझ्छाैं । आइन्दा अनुमति नलिई यस्ता कार्य नदोहोर्‍याउन पनि भन्छौं ।’ यस्ता कार्यक्रम गर्दा शनिबारका दिन पार्नुपर्ने उनले तर्क गरे ।

    हरिराम उप्रेतीले कान्तिपुरमा खबर लेखेका छन् ।