२०७६ असोज १ गते

अभिभावकको पहलमा स्कुल खाजा

अन्तैबाट

भक्तपुर । सूर्यविनायक सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा ३८५ विद्यार्थीको तथ्यांक छ । जसमध्ये ३१९ नियमित अध्ययनरत छन् भने बाँकी मौसमी छन् । इँटाभट्टाको मौसममा विद्यार्थीको संख्या बढ्छ ।

‘करिब ५० प्रतिशत श्रमिकका बालबालिका अध्ययनरत छन्,’ प्रधानाध्यापक रवीन्द्रकुमार थापाले भने, ‘विद्यालयमा बालबालिकाको उपस्थिति खाजासँग जोडिएको छ ।’

विद्यालयमा बालबालिकाको उपस्थितिलाई निरन्तरता दिन पूर्वप्राथमिक (ईसीडी) मा खाजा खुवाउने व्यवस्था गरेको जनाएको छ । ‘विद्यालयमा बालबालिकालाई टिकाउन शिक्षकको तलब कटाएर खाजाको व्यवस्था गर्दै आएका छौं,’ उनले भने।

गणेश माविले ईसीडीमा अध्ययरत ६८ बालबालिकालाई दिनहुँ दुईपल्ट खाजा खुवाउने व्यवस्था मिलाएको छ । ‘प्री प्राइमरी खाजा सेडुल’ मा दिउँसो १२ र २ बजे छुट्टाछुट्टै परिकार राखेको छ । बालबालिकालाई १२ बजे पाउरोटी, बिस्कुट र दूध खुवाउने गरेको छ भने २ बजे भात/तरकारी, जाउलो, खीर, चिउरा/तरकारी लगायतको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।

ज्याला मजदुरी गर्ने अभिभावकसँग बालबालिकालाई खाजा बनाउने समय नहुने, खाजा खर्च बचाउन र बालबालिकालाई पोषणयुक्त खाना खुवाउन विद्यालयले पूर्वप्राविका विद्यार्थीलाई खाजा खुवाउने व्यवस्था गरेको प्रधानाध्यापक थापाले बताए । त्यस्तै, जोरपाटी माविका शिक्षकहरूले करिब दस वर्षअघि तलब काटेर विद्यार्थीलाई खाजा खुवाउन सुरु गरे ।

स्थानीय तहले विद्यालय व्यवस्थापनको नेतृत्व थालेपछि भने शिक्षकले मात्र नभई अभिभावकको थोरै सहयोगमा ईसीडीका बालबालिकालाई खाजा खुवाउने व्यवस्था मिलाएको प्रधानाध्यापक हरिप्रसाद ढकालले बताए । ‘ईसीडीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई दैनिक खाजाको व्यवस्था मिलाएको छ,’ उनले भने। खाजाका लागि विद्यालयको आन्तरिक स्रोतबाट कर्मचारी नियुक्त गरेको समेत जनाएको छ । दिवा खाजाले बालबालिकाको सिकाइमा प्रभाव परेको उनी बताउँछन् ।

न्यून आयस्रोत भएका अभिभावकको बालबालिकालाई विद्यालयमा टिकाउन खाजा अनिवार्य रहेको प्रधानाध्यापक ढकाल बताउँछन् । सामुदायिक विद्यालयमा मौसमी विद्यार्थी धेरै भएको शिक्षकहरू बताउँछन् । ‘इँटाभट्टा सञ्चालनको मौसममा विद्यार्थीको संख्या वृद्धि हुन्छ,’ उनले भने, ‘इँटाभट्टा उत्पादनको समय सकिनेबित्तिकै अभिभावकसँगै बालबालिका उपत्यका बाहिर जान्छन् ।’

भक्तपुर नगरपालिका तेखापुखुमा अवस्थित मेधा माध्यमिक विद्यालय जिल्लाको उदाहरणीय विद्यालयका रूपमा परिचित छ । मेधामा ५७७ विद्यार्थी अध्ययनरत छन् । ‘संस्थागत विद्यालय सँगसँगै जान खाजा, शिक्षाको गुणस्तरलाई महत्त्व दिएका छौं,’ प्रधानाध्यापक गंगाधर हाडाले भने, ‘पूर्वप्राविमा बालबालिका तान्न खाजा नै महत्त्वपूर्ण साधन बन्यो, सानो बिरुवा राम्रो भयो भने मात्र राम्रो रूख बन्छ ।’

कान्तिपुरमा खबर छ ।

Comments: