२०७६ मंसिर ६ गते

विद्यालयमा राजनीतिक सभा, पढाइ प्रभावित

महोत्तरी । राजनीतिक दलहरूकै प्रयासमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भएपनि महोत्तरीको वर्दिबासस्थित देउराली उच्च माविमा राजनीतिक सभा गरिएको छ । सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, कृषि मन्त्री हरिबोल गजुरेल र सिञ्चाइमन्त्री उमेश यादवले सम्बोधन गरेका थिए ।

 अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न यो विद्यालयको प्रयोग गरिएकाले वैशाख २७ गतेको पढाइ प्रभावित भएको छ ।

 कार्यक्रममा सहभागी नेताहरूले किसानको अधिकारको कुरा गर्दै गर्दा सोही विद्यालयमा अध्ययनरत बालबालिकाहरू भने पढ्न पाउने अधिकारबाट बञ्चित गराइएका थिए ।

 
विद्यालयमा कार्यक्रमको उद्घाटन सभाका लागि मञ्च बनाउन वैशाख २६ गते देखिनै सुरसार गरिएको विद्यार्थीहरू बताउँछन् । वैशाख २७ गते बिहानैदेखि विद्यालय कम्पाउन्ड भित्र र बाहिर पार्टिका झण्डा झुण्ड्याइएको र मञ्च सजाइएको स्थानीयहरूले बताए ।

 बिहान तीन घण्टी पढाइ सकेपछि पौने नौ बजेकै समयमा विद्यालयका विद्यार्थीहरूलाई विद्यालय प्रशासनले विदा गरेको भएपनि विद्यार्थीहरू चर्को घाममा आमसभामा नै बसेका थिए ।

 'विद्यालयमा राजनीतिक पार्टिको प्रवेश गर्नु दिनु हुँदैन ।'-देउराली उच्च माविका समाजिक विषयका शिक्षक सुरेश रिसालले भने । उनले थपे-'विद्यालयमा राजनीतिक सभा गर्दा दुई दिनदेखि पढाई प्रभावित भएको छ ।'

 
विद्यालयका प्रचार्य केदारबहादुर कोइरालाले कार्यक्रम आयोजकले कार्यक्रमको लागि चौर माग गरेपछि विद्यालय व्यवस्थान समितिसँग छलफल गरी गर्न दिएको बताए ।

 
विद्यालय व्यवस्थान समितिका अध्यक्ष कुर्महरी सुवेदीले भने समितिले विद्यालय परिसरमा कार्यक्रम गर्न अथवा मञ्च बनाउन कुनै निर्णय नगरेको बताए ।

 

Comments: