२०७६ कार्त्तिक २९ गते

युद्धपीडित विद्यार्थीका सपना डाक्टर र इन्जिनियर बन्ने

दाङ । आफ्ना बुबा कस्ता थिए, उनलाई सम्झना छैन । माओवादी जनयुद्ध त्यो बेला चरमोत्कर्षमा थियो । सुर्खेत रझेनाका दिनेश बफाल पुन जन्मेको ६ महिना नपुग्दै उनको बुबा कमानसिंह बफालको मृत्यु भयो ।
 
माओवादीको लडाकु कमान्डरसम्म भएका उनका बाबु त्यो बेला सल्यानमा थिए । ‘आमाले पछिमात्रै भन्नु भयो, ‘सल्यानमा सेनाको आक्रमणमा परेर बुबा बित्नुभएको रे ।' दिनेश परिवारका एक मात्रै सन्तान हुन् । त्यसपछि उनका कोही पनि परिवार माओवादीमा लागेनन् ।
 
सुर्खेतकै सरकारी विद्यालयमा कक्षा ३ सम्म पढेका उनी शान्ति प्रक्रियापछि दाङमा खुलेको ‘सहिद स्मृति उमाविु मा कक्षा ४ मा भर्ना भएका हुन् । उनी यही वर्षको एसएलसी परीक्षको तयारीमा जुटिरहेका छन् । भन्छन् ‘त्यसपछि साइन्स पढ्छु ।' कक्षाकै अब्बलमध्येका एक हुन् उनी । तेस्रो, चौथो स्थानमा आउने दिनेशको सपना छ, इन्जिनियर बन्ने । ‘आमाले पनि त्यही भन्नुभएको छु, उनी भन्छन्, ‘बुबा सहिद हुनुभो, मैले पनि पढेर केही गर्छु ।'
 
दिनेशलाई राजनीतिमा खासै चासो छैन । तर गफिँदै गर्दा उनी मुस्काए ‘इन्जिनियर भएर पनि त राजनीतिमा जान सकिन्छ नि ।' उनकी आमा गाउँमै स्वास्थ्य स्वंयसेविका छिन् ।
 
कालिकोट धौलागाहका कविराज भण्डारी पनि त्यस्तै सपना बुनेर एसएलसी तयारीमा जुटेका छन् । युद्धमा माओवादी लडाकु भएका उनका आमाबाबु दुवैजना अपांग छन् । लडाइँका क्रममा २०५९ सालमा बुबाको खुट्टामा गोली लाग्यो भने त्यसको एक वर्षपछि उनकी आमाको हातमा गोली लागेर घाइते भइन् । सेना समायोजनपछि दुवैजना अहिले गाउँमै छन् । बुबाले माओवादीकै राजनीति गर्छन्, जिल्लामै अनि आमा चाहिँ स्वास्थ्य स्वंयसेविका छिन् । कविराजको सपना हो, डाक्टर बन्ने । उनी पनि एसएलसीपछि विज्ञानमा भर्ना हुन चाहन्छन् ।
 
दाङकी जोसिला ढकाल र रोल्पा थवाङकी सुनिमा रोकाको सपना पनि उस्तै छ । दुवैजना एसएलसीपछि विज्ञान विषय पढ्ने सपना बुनिरहेका छन् । दुवैजनाले डाक्टरी पढ्ने लक्ष्य राखेका छन् । जोसिलाका बुबा माओवादी कमान्डर सीपी ढकाल घाइते अपांग हुन् । लडाइँका बेला गोली लागेर ढाडको मुख्य हाड भाँचिएपछि उनको शरीर चल्दैन । अनि थवाङकी सुनिमाका बुबा पनि घाइते छन् । उनको काननेर गोली लागेको छ । उनीहरू कक्षाकै उत्कृष्ट दसमध्येका विद्यार्थी हुन् ।
 
यस्तै सपना बोकेका ४ सयभन्दा बढी माओवादी कार्यकर्ताका छोराछोरीहरू यही सहिद स्मृति स्कुलमा पढिरहेका छन् । मध्यपश्चिमाञ्चल स्तरीय यो विद्यालयमा उनीहरूलाई खाने, बस्ने, किताब, कापी तथा स्कुल पोसाकसमेत व्यवस्था गरिएको छ । कक्षा दससम्म पढ्नका लागि उनीहरूले घरबाट खर्च ल्याउनु पर्दैन ।
 
खासगरी युद्धका क्रममा आमा, बाबु वा घरका आफन्त मारिएका माओवादीका छोराछोरी पढाउनका लागि यस्ता विद्यालय देशभरका पाँचै विकास क्षेत्रमा खोलिएको हो । तर यहाँ युद्धका क्रममा घाइते भएका, अपांग भएकाहरूका छोराछोरी तथा आफन्तहरू पनि छन् ।
 
४ सयभन्दा बढी विद्यार्थीलाई आवासीय सुविधा दिइरहेको यो विद्यालयका प्रिन्सिपल नारायण पौडेललाई विद्यार्थी स्याहार्न कम्ती गाह्रो छैन । ‘अभिभावकविहीन भएर यहाँ बसेका ४ सय विद्यार्थीलाई सम्हाल्नु परेको छु, उनी भन्छन्, ‘साना विद्यार्थीलाई त त्यति गाह्रो छैन तर विद्यार्थीहरू बिस्तारै म्याच्योर हुँदैछन्, यस्तो बेलामा उनीहरूलाई सम्झाउन गाह्रो हुन्छ ।'
 
पढ्दै ठूल्ठूला सपना बुनिरहेका यी कलिला युद्ध प्रभावित बालबालिकालाई अहिले पनि एउटै चिन्ताले भने सताइरहेको छ । खासगरी एसएलसी दिने विद्यार्थीलाई आफ्नो सपना पूरा गर्न कसरी अगाडि पढ्न सकिन्छ भन्ने चिन्ता छ । किनकि सहिद स्मृति गुठीले कक्षा दससम्म मात्रै पढाउनका लागि खर्च व्यहोर्छ । यो विद्यालयमा उच्च माविसम्म पढाइ हुने भए पनि अहिले कक्षा ११ मा पढ्ने माओवादीका विद्यार्थीहरूले जसोतसो पढाइ खर्च घरबाटै जुटाइरहेका छन् ।
 
उच्च माविमा अहिले व्यवस्थापन संकाय मात्रै राखिएको छ । अन्य विकास क्षेत्रका सहिद स्मृति विद्यालयहरूमा कतै विज्ञान, कतै शिक्षालगायत संकाय छन् ।


‘हेरौं कस्तो हुन्छ, सपना त इन्जिनियर बन्ने हो अब सरकारले दस कक्षासम्म मात्रै व्यहोर्छु, सुर्खेतका दिनेश भन्छन्, ‘घरबाट कस्तो सपोर्ट हुन्छ, धेरै पैसा लाग्छ भन्छन्, पढ्न त मन छ नि ।'
 
यहाँका प्रधानाध्यापक पौडेलको भनाइ पनि यस्तै छ । उनका अनुसार कम्तिमा सरकारले उच्च माविसम्म यी विद्यार्थीलाई पढाउने व्यवस्था गरिदिए उनीहरूको भविष्य अलि कति भए पनि उज्ज्वल हुने थियो । ‘अब कक्षा दससम्म मात्रै खर्च व्यहोर्छ हुनेले पैसा तिरेर प्लस टुसम्म पढेका छन्, नहुनेहरूलाई हामीले जसोतसो भए पनि खर्च म्यानेज गरेर पढाइरहेका छौँ ।'
 
कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालय दाङमा २०६६ सालमा स्थापना भएको हो । गत वर्ष यो विद्यालयबाट एसएलसी दिएका २१ जना विद्यार्थी सबै उत्तीर्ण भएका थिए । यो वर्ष दोस्रो ब्याचमा ३२ जनाले एसएलसी दिँदैछन् । अन्नपुर्ण पोष्टमा खवर छ ।

Comments: