२०७६ भदौ २ गते

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात

अन्तैबाट

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरिएको छ । काभ्रेको पाँचखाल नगरपालिका मेयर महेश खरेल र विद्यालयका शिक्षक कृपासुर खड्काको नेतृत्वमा गएको एक समूहले उनीमाथि विद्यालय हातमै हातपात गर्दै दुर्व्यवहार गरेको हो ।


मेयर खरेल नयाँ बानेश्वरका बासिन्दा समेत हुन्। प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद हुँदा स्थानीय २०/२५ जनाको समूह विद्यालयमा प्रवेश गरेर हुलदंगा गरेको हो । 'म कार्यकक्षमा बसिरहेको थिएँ, मेरो कुर्ची तानेर फालियो, हातपात गरियो, मेरो छोरालाई समेत कुटपिट गरियो,' रेग्मीले कान्तिपुरसँग टेलिफोनमा भने । विद्यालयमा खाजा पुर्‍याउन आएको छोरामाथि समेत हातपात भएको रेग्मीले जनाए। 'अन्य शिक्षक, विद्यार्थी आएर जोगाए,' उनले भने, 'प्रहरी पनि आइपुगेपछि आक्रमणकारीहरु फर्किए ।'

विद्यालयमा हुलदंगा हुन थालेपछि महानगरीय वृत्त बानेश्वरमा खबर गरिएको थियो। डिएसपी गोविन्दराज काफ्लेले विद्यालयमा प्रअ नियुक्ति विषयमा दुई पक्षबीच विवाद भएको बताए। 'म घटनास्थल पुग्दा अवस्था सामान्य भइसकेको थियो,' उनले भने। रेग्मीले भने हातपात गर्नेहरु विरुद्ध प्रहरीमा लिखित उजुरी गर्ने तयारी गरिएको जनाए ।


तत्कालिन प्रअ गीता खरेलले अवकाश पाएपछि विद्यालय व्यवस्थापन समितिले रेग्मीलाई निमित्त प्रअको जिम्मेवारी दिएको थियो। प्रअ खरेलले समेत उनैलाई जिम्मेवारी दिएर वैशाख ५ गतेबाट बिदा लिएकी हुन्। केही स्थानीयवासी माविका सामाजिक विषयका शिक्षक खड्कालाई प्रअ बनाउन चाहान्छन्। स्थानीय तहले उनैलाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै उक्त समूह विद्यालय प्रवेश गरेको थियो। उनीहरु मध्ये अधिकांश विद्यालयका अभिभावक समेत होइनन् ।


विद्यालयका शिक्षकहरुका अनुसार रेग्मीलाई कुर्चीबाट हटाएर खड्कालाई बसाउने र प्रअ घोषणा गर्ने उनीहरुको योजना थियो। सोही समूहले हातपात र दुर्व्यवहार गरेको हो। व्यवस्थापन समिति र पूर्वप्रअ खरेलले सहायक मध्येको वरिष्ठ रेग्मीलाई जिम्मेवारी दिएको जनाएका छन्। विद्यालय परिसरमा भवन बनाउने विषयमा विवाद हुँदा यसअघि पनि मेयर खरेलले विद्यालयमा प्रवेश गरेर हुलदंगा गरेका थिए। उनी कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।


स्थानीयवासी र विद्यालयको विवादले विद्यालय भवन बन्न सकेको छैन। नयाँ बानेश्वरका केही स्थानीयवासी निजी विद्यालयमा छोराछोरी पढाएर सामुदायिक विद्यालयमाथि अनावश्यक हस्तक्षेप गर्दै आएका छन् ।


मेयर खरेलले प्रअमाथि गरिएको हातपातको खण्डन गरेका छन् । उनले भने, ''कीर्ते हस्ताक्षर गरेर प्रअ नियुक्ति गरिएको रहेछ। बुझ्न जाँदा विद्यालय पक्षले हामीलाई दुर्व्यवहार गर्‍यो।'


कान्तिपुरलाई प्राप्त भिडियोमा भने मेयर खरेल नेतृत्वको समूहले प्रअ रेग्मीको कुर्सी तानेर उनीमाथि हातपात गरेको देखिन्छ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: