• स्कुल नहुँदा ८ कक्षा दोहोर्‍याउँदै
    (अन्तैबाट)

  • हेटौंडा । उनी आठ कक्षामा पढ्न थालेको २ वर्ष भयो । प्रत्येक वर्ष वार्षिक परीक्षामा राम्रो अंक ल्याएर पास गर्छिन् । फेरि उनको पढाइ ८ कक्षामै हुन्छ । फूलमाया चेपाङले एउटै कक्षामा दोहोर्‍याएर पढेको रहरले होइन, बाध्यताले हो ।


    फूलमायाकै साथी मनमाया चेपाङ पनि ८ कक्षामा २ वर्षदेखि पढ्दै छिन् । उनी पनि परीक्षामा सधैं उत्तीर्ण हुन्छिन् । फूलमाया र मनमाया मात्र होइन दीपलाल चेपाङले पनि कक्षा ८ दोहोर्‍याएर पढ्दै छन् । उनीहरूसँगै कक्षा ८ दोहोर्‍याउने धेरै छन् । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–७ को विकट बस्ती धिराङका छात्रछात्रालाई ८ कक्षा उत्तीर्ण भएपछि कि पढाइ छोड्नुपर्ने कि त्यही कक्षामा पढनुपर्ने स्थिति छ ।

    धिराङस्थित आधारभूत विद्यालयमा ११ विद्यार्थी ८ कक्षामा पढ्छन् । तीमध्ये ५ जना विगत २ वर्षदेखि ८ कक्षामा पढदै छन् । गत वर्षको शैक्षिक सत्रमा ११ जनाले ८ कक्षा उत्तीर्ण गरेका थिए । तीमध्ये तीन जना ९ कक्षा पढ्नका लागि काँकडास्थित सिलिङे माविमा गएका छन् । उनीहरूलाई खान र बस्नका लागि दिगो विकास एकता नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गरेकाले उनीहरूले पढ्न पाएका हुन् । ‘तीन जनाले पढाइ नै छाडे,’ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले भने, ‘बस्ती नजिक मावि तहको स्कुल नभएकाले ९ कक्षामा पढ्न कठिन छ ।’

    मकवानपुरकै अत्यन्त विकट क्षेत्र धिराङबाट राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्न आउन ६ घण्टा हिँडनुपर्छ । यो स्कुलमा पढ्न आउनबाहेक धिराङका छात्रछात्राको अर्को विकल्प छैन । उक्त माविमा पढन आउन धिराङका विद्यार्थीलाई सम्भव नै छैन ।

    सिलिङेमा कोठा लिएर पढने धिराङका बासिन्दाको हैसियत पनि छैन । सिलिङेमा कोठा भाडामा पाउन पनि मुस्किल छ । स्कुलमा छात्रावासको पनि अभाव छ । ‘धिराङ वा नजिक मावि नभएकाले पढने रहर बोकेका चेपाङ बालबालिकाले बाध्य भएर पढाइ छाड्नुपरेको छ,’ प्रअ घलानले भने, ‘शिक्षा कार्यालयले यस विद्यालयलाई माविमा स्तरोन्नति गरिदिए दुर्गम गाउँका चेपाङ बालबालिकाले पढ्न पाउँथे ।’

    सडक सञ्जालले नजोडिएको उक्त बस्तीमा अत्यन्त गरिबको बसोबास छ । स्थानीय खोलाबाट निकालिएको विद्युत्ले स्कुललाई उज्यालो बनाए पनि कम्प्युटर नहुँदा विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । उक्त आधारभूत विद्यालयमा शतप्रतिशत चेपाङ बालबालिका मात्र अध्ययन गर्छन् । यस विद्यालयमा १ सय ६१ जना चेपाङका बालबालिका अध्ययन गर्छन् ।

    दिगो विकास एकता नेपाल नामक संस्थाले विगत ५ वर्षदेखि व्यवस्था गरेको खाजा खानकै लागि पनि स्कुलमा पढन आउने धेरै छन् । घरमा खान नपाए पनि भोक मेटाउन पाउने भएकाले यस क्षेत्रका बालबालिका सबै स्कुलमा आउने गरेको घलानले सुनाए । भूकम्पले स्कुलको भवन भत्केकाले बाँसको टहरामा बसेर उनीहरू पढिरहेका छन् ।

    वडा कार्यालयबाट धिराङ पुग्न ३ घण्टा उकालो हिँड्नुपर्छ । पूर्व पश्चिम राजमार्गमा पर्ने लोथर बजारबाट ११ घण्टा हिँडेर पुगिने उक्त बस्तीका अधिकांश बासिन्दालाईआफ्नो उत्पादनले बढीमा तीन महिना मात्र खान पुग्छ । ९ महिना जंगली कन्दमूल खाएर पेट भर्ने गरेका छन् ।

    प्रताप विष्टले कान्तिपुरमा खबर लेखेका छन् ।