२०७६ भदौ ५ गते

आधा दर्जन विद्यालयका भवन गाईगोठमा परिणत

राजन रावत/हुम्ला

हुम्लाका दक्षिणी क्षेत्रमा आधा दर्जन माध्यामिक विद्यालयका भवनहरु गाईगोठमा परिणत भएका छन् । झ्याल ढोका भत्किए पछि भवन जीर्ण हुँदा विद्यालयका ती भवनहरुमा स्थानीयले गाइवस्तु  हुल्न थालेपछि गाईगोठमा परिणत भएका हुन् ।

साविकको जिल्ला शिक्षा कार्यालयले निर्माण गरेका भवनहरु पुराना तथा स्तरीय नबन्दा जीर्ण अवस्थामा पुगेको कारण हाल स्थानीय बासिन्दाका गाईवस्तु बस्न थालेको सर्केगार्ड गाउँपालिका वडा नम्बर सातका अध्यक्ष कृष्ण प्रसाद जैशीले बताए ।

विद्यालयका जीर्ण भवनहरुलाई मर्मत गर्ने निकायको अभावमा केही कक्षा कोठाहरु काम नलाग्ने अवस्थामा पुगेकोले पठन–पाठनमा समेत समस्या भएको उनले बताए ।  यस्तो अवस्था अझ बढी दयनीय महादेब मावि दार्मामा देखिएको छ ।

अदानचुली, सर्केगार्ड र चंखेली गाउँपालिकाका आधा दर्जन माविका भवनहरु निक्कै जीर्ण भएर स्थानीयले गाई गोरु हुल्ने गरेको शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट जिल्लाका विद्यालयहरुको परिक्षण गर्न जानु भएका परिक्षक दिपक बहादुर भण्डारीले बताए ।

कतै झ्याल ढोका, कतै छानो नभएका भवनमा अहिले स्थानीयका गाइवस्तु बस्ने गरेको र तिनीहरु मर्मत तथा जीर्णोद्धारको पखाईमा रहँदा विद्यार्थीलाई भने पठन–पाठनमा समस्या हुने गरेको उनले बताए ।

 तीन वटा गाउँपालिका मध्य अदानचुलीको सुर्योदय, सल्लाघारी, सर्केगार्डको लालिगुराँस, कोट मावि तथा चंखेलीको महादेब र हिमालय माविको अवस्था जीर्ण रहँदा सबै विद्यालयको अवस्था उस्तै रहेको भण्डारीले बताए।

विद्यालय भवनहरु मर्मत तथा पुनःनिर्माणको पर्खाइमा भएपनि हालसम्म कुनै निकायहरु निर्माण गर्नका निम्ति उपस्थिती नदेखिएकोले समस्याले भविष्यमा ठुलै रुप लिने उनले बताए ।  यसबाट झण्डै चार हजार भन्दा बढी विद्यार्थीहरु प्रभावित भएको भण्डारीले जानकारी दिए ।

Comments: