२०७६ भदौ ३० गते

५ शिक्षक, २० विद्यार्थी

अन्तैबाट

टीकापुर । जानकी गाउँपालिका १, तोरैयापुरमा रहेको जगन्नाथ प्राविमा २० विद्यार्थी मात्र छन् । २ राहत, २ निजी स्रोत र एक बाल विकासका गरी शिक्षकको संख्या भने ५ जना छ ।


विद्यार्थी नभएपछि १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई एउटा कोठामा राखिन्छ । ४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाइन्छ । प्रधानाध्यापक प्रमिला चौधरीका अनुसार शिशु कक्षामा ३, १ कक्षामा ३, २ मा १, ३ मा १, ४ मा ६ र ५ कक्षामा पनि ६ गरी जम्मा २० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा थोरै विद्यार्थीका कारण प्रार्थनासभा पनि हुँदैन । विद्यार्थीहरूका अनुसार घण्टी बजेपछि उनीहरू सोझै कक्षाकोठा जान्छन् ।

गत वर्ष २२ विद्यार्थी थिए । गाउँका धेरैले उक्त विद्यालयलाई नजिकैको अर्कोमा समायोजन (मर्ज) गर्ने तयारी पनि गरेका थिए । तर, गाउँपालिकाले नमानेपछि विद्यालय जसोतसो चलेकै छ । विद्यालयमा कार्यरत २ राहत शिक्षकको तलब नियमित आए पनि निजी स्रोतमा कार्यरत शिक्षकले भने तलब पाएका छैनन् । प्रधानाध्यापक प्रमिला चौधरीले भनिन्, ‘वर्ष दिनभन्दा बढी भयो, निजी स्रोतमा कार्यरत शिक्षकले तलब पाएका छैनन् । पारिश्रमिक नपाएपछि उनीहरू विद्यालयमा नियमित आउँदैनन् ।’

विद्यालयसित आफ्नो नाममा ५ कट्ठा छ । अन्य आम्दानी नहुने भएपछि विद्युत् लाइन पनि काटिएको छ । विद्युत् लाइन काटिएको २ वर्ष नाघिसकेको प्रधानाध्यापक प्रमिलाको भनाइ छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण थारू कामका लागि भारत गएका छन् । शिक्षक अभिभावक संघका अध्यक्ष फागुराम चौधरी पनि कामकै सिलसिलामा काठमाडौं भएकाले अभिभावकबाट विद्यालयको रेखदेख पनि हुँदैन । बैठक बस्न नसकेको पनि धेरै भइसकेको छ ।

नबसी नहुने अवस्थामा ज्येष्ठ सदस्य भद्रवीर चौधरीको अध्यक्षतामा बैठक बस्ने गरेको प्रमिला बताउँछिन् । विद्यार्थी संख्या कम भएकाले उनीहरूलाई ट्युसन पढाएजस्तै गरी आफूहरूले पढाउने गरेको प्रमिलाको भनाइ छ । उनले भनिन्, ‘विद्यालयको सुधारका लागि गाउँपालिकाले शैक्षिक सामग्री र नियमित तलबको व्यवस्था गर्नुपर्छ । निजी स्रोतमा कार्यरत साथीहरूले वर्ष दिन बढीको तलब पाएका छैनन् ।’

गाउँका अन्य विद्यार्थी नजिकको सरस्वती मावि दुर्गौली र महेन्द्र मावि धर्मापुरमा भर्ना भएका छन् । विद्यालय व्यवस्थापन समितिको नेतृत्व फेरिनु र अरूमा मर्ज हुने हल्लाले पनि अभिभावकले आफ्ना नानीबाबुलाई अर्कोमा भर्ना गरेको स्थानीय तेजबहादुर कुमालले बताए । उनले भने, ‘विद्यार्थी छैनन् । नाम मात्रको विद्यालय छ ।’

विद्यार्थी नभए पनि विद्यालयको संरचना भने बनिरहेकै छ । गाउँपालिकाले यस आवमा भवन निर्माणमा ६ लाख ५० हजार खर्चेको छ । वडाध्यक्ष धनीराम चौधरीले गत वर्षको अधुरो भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको बताए । ‘विद्यार्थी छैनन् भन्ने थाहा नपाएको होइन,’ उनले भने, ‘भवन भएपछि भविष्यमा वडा कार्यालयका रूपमा पनि प्रयोग गर्न सकिन्छ भनेर बजेट हालेका हौं ।’

विद्यार्थी नभएपछि विद्यालय मर्ज गर्नुपर्‍यो भनेर गाउँपालिका अध्यक्षलाई पटकपटक भने पनि सुनुवाइ नभएको वडा १ का अध्यक्ष धनीराम चौधरीे बताउँछन् । उनले भने, ‘मैले मर्ज गर्न मिल्ने भए उहिलै गरिसक्थें ।’

जानकी गाउँपालिकाकाको शिक्षा शाखा प्रमुख कलमबहादुर खडका गाउँ शिक्षा समितिको टोलीले उक्त विद्यालयलगायत अन्य विद्यालयको पटकपटक अनुगमन गरेको र जगन्नाथ प्राविबारे गाउँपालिका एवं शिक्षा समिति अध्यक्षलाई जानकारी भए पनि मर्जको निर्णय नगरेको बताए । उनले भने, ‘विद्यालय मर्जको विकल्प छैन । बरु बाल विकाससम्म सञ्चालनमाल्याउन सकिएला ।’

कान्तिपुरमा खबर छ ।

Comments: