• सरकारले प्रदेश २ को एसईई परीक्षा नै स्थगित गर्यो
    (ईपाटी संवाददाता)


  • काठमाडौं । लगातार प्रश्नपत्र आउट भएपछि अन्ततः सरकारले प्रदेश २ को एसईई परीक्षा नै स्थगित गरेको छ । अन्य प्रदेशहरुमा भने परीक्षा जारी नै रहने छ ।


    शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको जानकारी दिए ।


    प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको थियो । अब नयाँ परीक्षा तालिका चाँडै  प्रकाशित हुने शिक्षा मन्त्रालयले जनाएको छ ।


    यसअघि भइसकेका र २२ गते तोकिएको विज्ञान विषयको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए ।

    एसईई परीक्षाको प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिरिएपछि राजिनामा माग गरिएका शिक्षामन्त्री गिरिराजमणि पोखेरलले शुक्रबार साँझ सात बजे शिक्षा मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्रश्नपत्रको सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका प्रवक्ताले समेत संघीय शिक्षा मन्त्री पोखरेलको राजिनामा मागेका थिए ।

    यसअघि आजै मन्त्रालयमा सुरक्षा अधिकारीहरुसहित मन्त्रालयको बैठक बसेको थियो । उक्त बैठकमा प्रश्नपत्र कसरी बाहिरएको हो भन्ने बारे कुरा भएको थियो । बिहीबार परीक्षा सुरु हुनासाथ परीक्षार्थीबाट खोसिएको चिटमा प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार हुबहु उत्तरहरु पाइएपछि परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । त्यसैगरी शुक्रबार हुने सामाजिक अध्ययन विषयको प्रश्नपत्र राती नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान गर्ने भएको छ। सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिएको भेटिएपछि अनुसन्धानका लागि सिआइबीको टोली पठाएको हो।


    प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन् ।