२०७६ भदौ ५ गते

विपन्न बालबालिकाहरुलाई शैक्षिक सहयोग

महेश न्यौपाने/रोल्पा


रोल्पाको त्रिवेणी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत दुईसय जना गरिब तथा जेहेन्दार बालबालिकालाई शुक्रवार शैक्षिक सहयोग गरिएको छ । विभिन्न कारणले पठन–पाठनमा समस्या भोगिरहेका ती बालबालिकाको पढाइमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त शैक्षिक सहयोग गरिएको हो ।


 गाउँपालिका भित्रका सात वटै वडाका २ सय जना बालबालिकाहरुलाई कापी, कलम, झोला, विद्यालय पोशाक, सुइटर, जुत्ता मोजा सहित सिलाइ खर्च समेत सहयोग गरिएको बताइएको छ । विद्यालयमा नियमित पढ्न सहज होस भनी प्रति विद्यार्थी  २ दुई हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु सहयोग गरिएको मानव अधिकार सचेतन केन्द्र रोल्पाका धरेन्द्र डागीले जानकारी दिए ।


आर्थिक विपन्नता, अभिभावक विहिनता, बालश्रम लगायतका समस्या भोग्दै आएका यस्ता बालबालिकाहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको पठनपाठनमा सहजता हुने वडा नं. ५ का वडाध्यक्ष कृष्णबहादुर केसीले बताए । ‘यस्तै समस्याले पढाई छोड्न वाध्य बालबालिकालाई पढाइलाई निरन्तरता दिन सहयोग गर्छ,’ केसीले भने ।


 विद्यालय र अभिभावकहरुको माग तथा वडा बाल संरक्षण समितिको सिफारिसका आधारमा शैक्षिक सहयोग गरिएको मानव अधिकार सचेतन केन्द्र रोल्पाका शिक्षा अधिकृत  प्रमिला बुढाले बताइन् ।


‘विद्यालय, अभिभावक र वडा वाल संरक्षण समितिको माग र सिफारिस अनुसार यस्तो सहयोग हुने गरेको छ,’ वुढाले भनिन् ।


 त्रिवेणी गाउँपालिकामा दुई वर्षदेखि हुरेकले शिक्षासम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । शैक्षिक सहयोग पाएका ती  बालबालिकाहरु नियमित विद्यालय आइरहेको बताइएको छ ।


त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले सो गाउँपालिकामा संचालन गरेको एकीकृत परियोजनाले वालवालिकाहरुलाई उक्त सहयाग गरेको हो ।


त्रिवेणी गाउँपालिकावाट बालश्रममा जाने वालवालिकाको संख्या अत्यधिक रहेको छ । विगत केही वर्ष यता हुरेक रोल्पाले श्रमशोसणमा परेका यस्ता वालवालिकाहरुलाई वैकल्पिक शिक्षाको माध्यमबाट विद्यालयको पहुँचमा पु¥याउन मद्धत गरिरहेको छ । गरिवीका कारण विद्यालय उमेरका ठूलो संख्याका बालबालिका पैसा कमाउन काठमाडौंको ईटा भट्टा जाने गरेका छन ।

Comments: