२०७६ भदौ ६ गते

अब नेपालबाटै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न सकिने


काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढाई शुरु भएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कलेज फर प्रोफेशनल स्टडिज मार्फत एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरि यो तहको पढाई शुरु गरेको हो ।

अब विद्यार्थीले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्ने अवसर पाउने भएका हुन् ।


लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरी नेपालमा अन्तराष्ट्रियस्तरको मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन  विषयमा अध्यापन शुरु गरेको जानकारी दिएको हो । उल्लेखित दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले जनाएको छ । सन् २०१५ देखि उक्त विश्वविद्यालयबाट स्नातक स्तरको पढाइ सञ्चालन गर्दै आएको  क्याम्पसले आगामी वर्षदेखि स्नातकोत्तर तहको समेत पढाई शुरु गर्न लागेको हो ।


क्याम्पसका अध्यक्ष पंकज जालानले  मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट कार्यक्रम सूचना प्रविधि क्षेत्रमा पहिलो कार्यक्रम भएको बताए । नेपालमा सञ्चालित अरु यस्ता कार्यक्रमले सूचना प्रविधि सम्बन्धी मात्रै ज्ञान दिनेभएपनि यो कार्यक्रममले  सूचना प्रविधिक्षेत्रको प्राविधिक ब्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई समेत समेटेको उनले जानकारी दिए ।


अध्यक्ष जालानका अनुसार  यि विषयमा भर्ना हुन सूचना प्रविधी विषयमा अनिवार्य स्नातकतह  उत्तिर्ण भएको हुनुपर्नेछ । त्यस्तै मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशनमा भने ४५  प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना हुन  पाउनेछन् ।


एसिया प्यासिफिक यूनीभर्सिटी मलेशियाको प्रतिष्ठित विश्वविद्यालयहरु मध्ये एक भएको र यसलाई सन् २०११ देखि हालसम्मै मलेशियन योग्यता मापन एजेन्सी अन्तर्गतको सेतरा र्यांकीङ र त्यहाँको शिक्षा मन्त्रालयले उत्कृष्ट दर्जामा समावेश गरेको समेत अध्यक्ष जालानले स्पष्ट पारे । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त एसिया प्यासिफिक यूनीभर्सिटीको यस शैक्षिक कार्यक्रमलाई  नेपाल सरकार र  शिक्षा मन्त्रालयलेसमेत  सञ्चालन अनुमति प्रदान गरिसकेको जालानले जानकारी दिए ।


एसिया प्यासिफिक यूनीभर्सिटी मलेशियाको सूचना प्रविधी र व्यवस्थापन विषयमा कार्यक्रम सञ्चालन गर्ने सर्वोत्कृष्ट विश्वविद्यालय मध्ये पर्छ । सो विश्वविद्यालयमा हाल १० हजार विद्यार्थीहरु पूर्णकालिन रुपमा अध्ययन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरु मध्ये आधा विद्यार्थी मलेशियाका र आधी विश्वका ११६ देशका हुने गरेका विश्वविद्यालयका उपाध्यक्ष श्रीगुरप्रदिप सिंहले जानकारी दिए ।


 सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गराउँदै आइरहेको छ ।

Comments: