• पढ्ने उमेरमा काखमा छोेराछोरी
    (अन्तैबाट)

  • धादिङ । एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’

    उनले १५ वर्षमा पहिलो सन्तान, १७ वर्षमा दोस्रो, १९ वर्षमा तेस्रो र २० वर्षमा चौथो सन्तान जन्माइन्। चार सन्तानमध्ये तेस्रो सन्तान खेर गयो भने अहिले साथमा तीनवटा बालबच्चा छन्। स्कुल पढ्न तीन घन्टा टाढा जानुपर्ने भएपछि कक्षा ४ मा पढ्दापढ्दै उनले भागेर बिहे गरेको सुनाइन्। सानोमा विवाह गर्नुहुन्न भन्ने थाहा नभएकाले बालबालिका हुर्काउन झेलेको अभाव र समस्याले उनलाई पछुतो लागेको बताइन्। चेपाङ समुदायका किशोरीहरू किताब बोक्ने उमेरमा नानीबाबु खेलाउँदै छन् ।

    पढाइबाट वञ्चित हँुदा चेपाङ जातिका किशोरीका लागि विवाह नै विकल्प मानिएको छ। प्राथमिक तह पढे पनि त्यसपछिको अध्ययन गर्न घन्टौं हिँडेर जानुपर्छ। विद्यालयको पहुँच टाढा भएपछि कि पढाइ छाडेर बस्ने कि बिहे गर्ने गर्छन्। सानैमा बिहे गर्नुहुन्न, बच्चा जन्माउँदा समस्या हुन्छ भनेर सिकाउने कोही नभएको उनले बताइन्। ‘सबैले सानोमा विवाह गर्ने त चलन नै थियोे’, उनले भनिन्, ‘यसबारे सिकाउने कोही नभएपछि आफैंले रोजेर बिहे गरे।’ माध्यमिक तह पढ्ने उमेर भएपछि मन पराएर आफैं बिहे गर्ने र त्यसपछि बच्चा जन्माउने महिलामा आङ खस्ने समस्या देखापर्ने गरेको छ।

    कानुनतः केटीको बिहे गर्न पाउने उमेर २० वर्ष हो। तर भर्खर २१ वर्ष मात्र पुगेकी सानुकान्छी चेपाङ बिहे गरेर पनि तीन सन्तानकी आमा भइसकिन्। विभिन्न संघसंस्था, सरकारी निकायहरूले ‘बिहावारी २० वर्षपारि’ भन्ने नारा नै बनाएर कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। तर त्यसको प्रभाव शून्य छ। सानुकान्छी प्रतिनिधि पात्र मात्र हुन्। आर्थिक अवस्था कमजोर, गरिबी, घन्टौं पढ्न धाउनुपर्ने समस्याका कारण अधिकांश चेपाङ बालिका किशोरी अवस्थामै आमा बनिसकेका हुन्छन्।

    दक्षिणी धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिकाका विभिन्न ठाउँमा बसोबार गर्ने चेपाङ समुदायमा कलिलै उमेरमा बिहे गर्ने प्रचलन छ। कलिलो उमेरमै काखमा दूधेबालक, स्याहार नपुगेर शरीर पातलो भएको हरेक चेपाङ गाउँमा सजिलै देख्न सकिन्छ। पढ्ने उमेरमा चेपाङ किशोरी आमा बन्ने गर्छन्। बच्चा स्याहार गर्न सक्ने नभईकनै आमा बन्ने गर्छन्। सानैमा बिहे गर्ने उनीहरूका लागि परम्पराजस्तै बनेको छ। बिहेबारे थाहै नभएकाहरू आमा बनेका छन्। हरेक गाउँमा प्रायः घरैपिच्छे काखेबालक सँगैका आमाहरू भेटिन्छन्।

    यता बेनीघाट रोराङ गाउँपालिका–१० रोबाङकी कल्पना चेपाङ पनि १९ वर्षकी भइन्। उनका दुई बच्चा छन्। एउटा दुई वर्षकी छोरी र एउटा काखे बच्चा साथमा छन्। पढ्ने स्कुल टाढा भएपछि ६ कक्षा पढ्दापढ्दै १६ वर्षको उमेरमा गाउँ नजिकै भागेर बिहे गरेको उनले बताइन्। ‘गाउँमा कक्षा पाँचसम्म पढाइ हुने स्कुल छ तर बाँकी पढाइ पढ्न घन्टौं हिड्नपर्छ,’ चेपाङले भनिन्, ‘भागेर बिहे गरे, बच्चा जन्मियो, अहिलेचाहिँ पढ्न पर्दौ रहेछ भन्ने लाग्छ।’

    कलिलै उमेरमा बिहे हुनु, आफ्नो शरीरको विकास नहुँदै सन्तान जन्माउन बाध्य हुनु, उपचार र पोसिलो खानेकुरा खान नपाउनु, गर्भवती अवस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्नुको साटो गह्रुँगो भारी बोकेर हिँड्नुपर्ने बाध्यता अधिकांश चेपाङ महिलामा छ। कलिलैमा बच्चा जन्माउने र वर्षेपिच्छे बच्चा जन्माउँदा उचित लालनपालन, रेखदेख दिन नसक्दा गर्भमा नै तुहिने गरेका उदाहरणहरू पनि प्रशस्तै मात्रामा भेटिएका छन्। आमा बन्दै गरेका महिलाहरू स्वास्थ्य संस्था नदेखी बच्चा जन्माउँछन्। खानेकुरा पनि पहिल्यै कुखुरा साँच्न सके मासु खायो नत्र खोले पीठो मै सुत्केरीले चित्त बुझाउनुपर्ने अवस्था रहेको उनले सुनाइन्।

    चेपाङ परिवारमा सामान्यतया चारभन्दा कम बच्चा बिरलै पाइन्छन्। एउटा बच्चा अकालमा मरे अर्को बच्चा जन्माउन हतार गर्ने र कलिलै उमेरमा छोरीको विवाह गर्ने संस्कार हटाउन नसकिएको नेपाल चेपाङ संघ, शिक्षा विभागका प्रमुख तिलक चेपाङले बताए। ‘सानैमा बिहे गर्ने, बिहे गरिसकेकालाई पनि सानै उमेरमा सन्तान जन्माउने गर्छन्, जन्मान्तर कायम गर्न परिवार नियोजनका साधन प्रयोग गर्नेबारे जानकारी गराएपछि सकैले सुन्दैनन्’, प्रमुख चेपाङले भने, ‘विद्यालय टाढा हुनु, खाद्यान्न, लत्ताकपडाको जोहो गर्न नसक्नुका कारण चेपाङ बालबालिका शैक्षिक क्षेत्रबाट वञ्चित हुनुपरेको छ।’

    २०६८ सालको जनगणनाअनुसार नेपालमा ६८ हजार ६ सय ९९ चेपाङ छन्। धादिङमा मात्र झन्डै १८ हजार चेपाङ बसोबास गर्छन्। चेपाङ समुदायमा सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेको बिहेवारी २० वर्ष पारी भन्ने अभियान पनि नारामै सिमित छ। कानुनले बिहे गर्ने उमेर स्पष्ट तोकेको भए पनि नेपालका कतिपय गाउँबस्तीमा चेतनाको अभावले अझै पनि सानै उमेरका बालबालिकाबीच बिहे गर्ने चलन छ। गरिबी, अशिक्षा, अन्धविश्वास र प्रजनन स्वास्थ्यस्थितिको सामान्य जानकारीसमेत नहुँदा कैयौं गर्भवती महिलाले अकालमै मृत्युको सामना गर्नुपरेको छ।

     सरिता श्रेष्ठले नागरिकमा खबर लेखेकी छन् ।