२०७६ कार्त्तिक २६ गते

आईईएलटीएस प्रश्नपत्र चुहावट: अनुसन्धान नटुंगिएकाले परीक्षा रद्द

काठमाडौँ  । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा महानगरीय प्रहरी परिसर, काठमाडौंले छानबिन सुरु गरेपछि शनिबार निर्धारित परीक्षा रद्द भएको छ ।

२२ पुसमा भएको आईईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेर छानबिन थालेको थियो । छानबिन नसकिएको भन्दै प्रहरीकै अनुरोधमा ब्रिटिस काउन्सिलले शनिबारको परीक्षा रद्द गरेको हो ।

प्रहरीले ‘उत्तर बेच्ने’ धन्दामा संलग्न भन्दै सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरी हिरासतमा राखेर ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनीहरूले ३ विद्यार्थीबाट ४ लाख १० हजार रुपैयाँ असुलेका थिए । ठगी मुद्दामा प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले उक्त मुद्दामा ४ लाख १० हजार रुपैयाँ बिगो मागदाबीसमेत गरेको छ ।

प्रहरीका अनुसार पुतलीसडकस्थित नेपाल वल्र्डवाइड एजुकेसन कन्सलटेन्सी प्रालिका कार्यकारी निर्देशकसमेत रहेका सुरज नै प्रश्नपत्र चुहाउने घटनाका मुख्य योजनाकार हुन् । बयानका क्रममा सुरजले भारतीय नागरिक हनी सिंहबाट सामाजिक सञ्जाल ‘ह्वाट्स एप’ मार्फत आईईएलटीएस प्रश्नपत्रको उत्तर पाएको बताएका थिए ।

प्रहरीले सुरजले बेचेको भनिएको उत्तर उक्त दिनको परीक्षामा सोधिएको प्रश्नकै उत्तर भए/नभएको जाँच्न ब्रिटिस काउन्सिलसँग उक्त दिनको प्रश्नपत्र र उत्तर माग्दै पत्राचार गरेको थियो । स्रोतका अनुसार पहिलो पत्रमा काउन्सिलले परिसरले भनेअनुसार प्रश्नपत्र उपलब्ध गराउन नसकिने जवाफ पठाएको थियो । अनुसन्धानमा काउन्सिलले असहयोग गरेको भन्दै प्रहरी परिसरले उत्तर सार्वजनिक भएको दिनको प्रश्नपत्र र उत्तर उपलब्ध नगराए ६ गते हुने परीक्षा गर्न नमिल्ने जवाफ दिएको थियो । परिसरले अनुसन्धानमा सहयोग गर्न भन्दै दोस्रो पत्र पठाएपछि काउन्सिल नरम बनेको थियो । शुक्रबार अबेर काउन्सिलले लिक भएको भनिएको दिनको परीक्षाको प्रश्नपत्र र उत्तर परिसरलाई पठाइदिएको थियो । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले शनिबारको परीक्षा सञ्चालन नगर्न भनेपछि काउन्सिलले रद्द गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आईईएलटीएसको चार सेटको प्रश्नमध्ये रिडिङ टेस्टको एक सेट र लिसनिङ टेस्टको एक सेटको उत्तर मिलेको देखिन्छ । त्यस्तो उत्तर भारतमा रहेका भनिएका हनीले कहाँबाट पाए भन्ने सूचना प्रहरीले फेला पारिसकेको छैन ।

प्रहरी बयानका क्रममा सुरजले आठ/नौ महिनाअघि काठमाडौं आएका बेला हनीसँग चिनजान भएको र त्यसैका आधारमा उनले उत्तर पठाइदिएको बताएका छन् । परिसरका मुद्दा शाखाका डीएसपी बेलबहादुर पाण्डेले भने, ‘काउन्सिलबाट उत्तर पाइसकेका छौं । अब छिट्टै अनुसन्धान टुंगिन्छ र परीक्षा सुचारु हुन्छ ।’

नेपालमा आईईएलटीएस परीक्षा ब्रिटिस काउन्सिल र इन्टरनेसनल डेभलपमेन्ट प्रोग्राम (आईडीपी) ले सञ्चालन गर्दै आएका छन् । ब्रिटिस काउन्सिलकी मार्केटिङ एन्ड कम्युनिकेसन अफिसर सूचिता श्रेष्ठले प्रश्नपत्र चुहावटसम्बन्धी अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेको बताइन् ।

उनले भनिन्, ‘प्रहरीकै अनुरोधमा हामीले शनिबार परीक्षा रद्द गरेका हौं । अर्काे शनिबार परीक्षा हुने/नहुृने प्रहरीको अनुसन्धान निष्कर्षमा पुग्छ वा पुग्दैन भन्नेले निर्धारण गर्ने उनले बताइन् ।

जनकराज सापकोटाले कान्तिपुरमा लेखेको खबर 

Comments: