२०७६ भदौ ६ गते

अंग्रेजीले तान्यो विद्यार्थी

अन्तैबाट

महोत्तरी । बर्दिवास नगरपालिका–३, गौरीडाँडाका बाबुराम श्रेष्ठका दुवै छोरा निजी विद्यालयमा अध्ययन गर्थे। सरकारी विद्यालयको पढाइ गुणस्तर हुन नसकेको भन्दै उनले निजी स्कुल रोजे। तर, यसपटक भने उनले त्यसो गरेनन्। छोरा विक्रम र विवेकलाई निजीबाट छुटाएर सरकारी स्कुल भर्ना गरे।

रामगोपालपुरका रामबाबु यादवकी छोरी स्मृतिसमेत जनकपुरको एक निजी स्कुलमा अध्ययन गर्थिन्। उनलाई पनि सरकारी विद्यालयमा भर्ना गरिएको छ। बाबुराम र रामबाबु दुवैले बर्दिवासस्थित जनता माध्यमिक विद्यालय गौरीबासमा स्कुल भर्ना गरेका छन्।

विद्यालयले अंग्रेजी माध्यममा पढाउन थालेपछि निजी स्कुलबाट छुटाएर यहाँ भर्ना गराउने क्रम बढेको छ। ‘स्कुलको गुणस्तर सुध्रिएको छ, अंग्रेजीमा पढाइ हुन थाल्यो’, बाबुरामले भने, ‘केटाकेटीको भविष्य उज्ज्वल बनाउन पनि सरकारी रोजेको हुँ।’ धेरैजसो अभिभावकले नयाँ शैक्षिक सत्रमा छोराछोरी भर्ना गरेका छन्। धेरै सामुदायिक विद्यालयको गुणस्तर सुध्रिन नसकेका बेला जनता मावि उदाहरणीय स्कुल बन्न पुगेको छ। एक सय ५० जनाभन्दा बढी विद्यार्थी बोर्डिङबाट सरकारीमा आएका छन्। ‘भर्ना हुन आउने धेरै थिए, थोरैले मात्रै प्रवेश पाए’ शिक्षक नेत्रबहादुर रम्तेलले भने, ‘भौतिक संरचना र जनशक्ति नहुँदा सबैलाई भर्ना गर्न सकिएन।’

‘निजीमा शुल्क धेरै छ, घोकेर पढाइन्छ’, अभिभावक रामबाबु यादवले भने, ‘ दक्ष जनशक्ति तयार पार्न सरकारी नै सक्षम हुन्छ।’ बालकक्षा मनमोहक छ। बच्चा रमाउँछन्। ढिला आएका शिक्षक र विद्यार्थी प्रवेशमा रोक लगाईन्छ। ‘कसैलाई भेदभाव हुदैन’ सुरक्षागार्ड रामबहादुर बुढाथोकीले भने, ‘ वाहिर निस्कन अनुमति लिएर जानुपर्छ।’ गेटपास लिएर आउनुपर्ने नियम बनाइएको छ।

नेता, शिक्षक, कर्मचारी सबैले छोराछोरी पढाउन थालेपछि विद्यार्थी बढेको अभिभावक वासुदेव महतो बताउँछन्। २०३१ सालमा स्थापित विद्यालयमा बाली र पशु विज्ञानसमेत पढाइ हुन्छ। एक हजार २ सय विद्यार्थी अध्ययनरत छन। अभिभावले आवश्यक सहयोग पनि गर्छन्। उनीहरूकै पहलमा रूपान्तरणको अभियान शुरु गरिएको थियो।


‘समुदायकै सहयोग र सक्रियताले गुणस्तरमा सुधार आएको हो’, व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले भने, ‘ अझै अब्बल बनाउन लागि परेका छौं।’ यहाँ रहेका ८ वटा आमा समूहहरू सक्रिय छन्। मासिक बैठक बसेर विद्यालयको गतिविधि र बच्चाको गुनासो बारे छलफल गरिन्छ। ‘आमा समूहको मुख्य भूमिका छ। राम्रो कुराको प्रचार गरिन्छ, ‘समिति सदस्य कृष्णप्रसाद चौंलागाईले भने, ‘नराम्रा कुरा सुधार्न खबरदारी गरिन्छ।’ तह अनुसार सबैको जिम्मेबारी तोकिएको छ।

शैक्षिक क्रियाकलापको व्यवस्थापनमा सबैको प्रत्यक्ष सहभागिता रहन्छ। यसले शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ। प्रविधिमैत्री कक्षा सञ्चालन छन। विद्यार्थीको प्रतिभा देखाउने व्यवस्था गरिएको छ। हरेक शुक्रबार प्रतिभा प्रदर्शन गर्छन्। सीसी क्यामराबाट अनुशासनको निगरानीको गरिन्छ। कमजोरलाई प्राथमिकतामा राखेर पढाइन्छ। अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ।

बाली र पशु विज्ञानको डिप्लोमा तहको कक्षामा अध्ययनरत विद्याथीलाई तरकारी बाली उत्पादन, भ्याक्सीन शिविर, माटो परिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थी आकर्षण गर्न विद्यालयमै दिवा खाजाको व्यवस्था गरिएको छ। अपाङ्गता भएका विद्यार्थी त्यही बस्ने गर्छन्। विद्यालय नमुना बन्दा सबैको आकर्षण बढेको स्थानीय विनिता श्रेष्ठले बताइन्। समितिका अध्यक्ष राजन ढुङ्गानाले शिक्षालाई कृषी उत्पादन मुखी बनाउने तर्फ ध्यान दिइने बताए।

राजकरण महतोले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: