२०७७ जेष्ठ १७ गते

अभिभावकले सुने बालबालिकाका कुरा

अन्तैबाट

नेपालगन्ज  । बाँकेको खजुरामा बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि निकै उत्सुक देखिन्थे । जब माइक समातेर बालबालिकाले आफ्ना कुरा प्रस्तुत गर्न थाले, अभिभावक र जनप्रतिनिधिले ताली बजाए । ‘बालबालिका काँचो माटो हुन्,’ जनता मावि खजुराका सौगात खत्रीले भने, ‘बालबालिकालाई खुल्ने वातावरण दिनुहोस् ।’


चारैतिर बालबालिका र एक लाइनमा अभिभावक बसेका थिए । उनीहरू आफ्ना सन्तानको प्रतिभा हेर्न लालायितजस्तै देखिन्थे । योगिनी माविका सुनिल रानाले जब बालबालिकाको भविष्य सुरक्षित हुनुपर्ने तर्क गरे, अभिभावक सबै दंग देखिए ।

अनुकूल वातावरण पाएपछि मात्र आफ्नो भविष्य सुन्दर बनाउन सक्ने उनको मत थियो । बालबालिकाले कार्यक्रममा खुलेर आफ्ना कुरा राख्दै स्थानीय तहले बालबालिकाका कुरा सुन्नुपर्ने बताए । योगिनी माविकी दिप्ती खत्रीले बालबालिकाले सिकेका कुरा परिवार र समाजसमक्ष पुर्‍याउन आग्रह गरिन् ।

गुराँस माविकी कविता खड्काले बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका विषयमा बोल्दै स्थानीय तहमा बालबालिकाको कार्यक्रम प्रभावकारी बनाउन बाल सहभागिताको सुनिश्चितता हुनुपर्ने माग गरिन् । उनले अभिभावकलाई खबरदारी नै गरिन् । ‘आफ्ना बालबालिकाको मनोविज्ञान बुझ्नूस्, उनीहरूलाई भयरहित वातावरणमा खुलेर रम्न दिनुहोस्,’ उनले भनिन् ।

आइतबार जिल्लाका सहरी क्षेत्रमा तामझामका साथ बाल दिवसका कार्यक्रम भइरहँदा खजुरा गाउँपालिकास्थित आदर्श माविमा भने बालबालिकाले आफ्ना गुनासा र माग प्रस्तुत गरेर दिवस मनाएका थिए । कसैले वक्तृत्व कला त कसैले नाटकबाट आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । ‘बालबालिकाको हितमा थप काम गर्न हौसला मिल्यो,’ खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले भनिन्, ‘बालबालिकाको हितमा थप संवेदनशील भएर काम गर्ने ऊर्जा थपियो ।’

बालबालिकाका क्षेत्रमा थुप्रै नीति नियम बने पनि त्यसको अनुभूति बालबालिकाले गर्न नसकेको बाल अधिकार अभियन्ता साहिल अन्सारीले बताए । ‘संविधानले सबै बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन र संरक्षणको हक हुने उल्लेख गरेको छ,’ उनले भने, ‘तर, व्यवहारमा तीनै तहको सरकार हुँदा पनि बालबालिकाले अभिभावक भएको अनुभूत गर्न पाएका छैनन् ।’

कान्तिपुरमा खबर छ ।

Comments: