२०७६ भदौ ६ गते

ईसीडीएफ तालिममा आकर्षण

अन्तैबाट

काठमाडौं । उच्च शिक्षा हासिल गरेका युवतीको रोजाइमा ईसीडीएफ (प्रारम्भिक वाल्यावस्था विकास सहजकर्ता)को तालिम परेको छ । शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका युवतीहरू ईसीडीएफको तालिममा सहभागी भइ सीप प्रमाणिकरण गरिरहेका छन् । विज्ञान संकायमा स्नातक पुरा गरेका र दुई विधामा स्नातक गरेका युवतीहरू पनि इसिडी फेसिलेटरको तालिममा सहभागि भएका छन् ।


काठमाडौं गोठाटारकी शर्मिला परियार(३०) ले पाटन संयुक्त क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर पूरा गरेकी छन् । उनले मानविकी संकायबाट समाजशास्त्र विषयमा र विज्ञान संकायबाट माइक्रोबायोलोजी विषयमा स्नातक तह पुरा गरेकी छन् । हाल गृहणी रहेकी उनले पनि ईसीडीएफ तालिम लिएर सीप परीक्षणको परीक्षा दिएकी छन् ।

केही समय शिक्षक रहेकी उनी भविष्यमा पनि बालबालिकाको क्षेत्रमा काम गर्ने रुची रहेको बताउँछिन् ।


दाङकी अनुपमा सुनार माइक्रोबायोलोजी विषय लिएर विज्ञान संकायमा स्नातक गरेकी छन् । विज्ञान विषय पढे पनि उनले भित्री चाहनाले ईसीडीएफको तालिम लिएको बताउँछिन् । उनले अध्ययन र तालिमको क्षेत्र अलग अलग रहेपनि बालबालिकाको क्षेत्रमा काम गर्ने रुची रहेको बताइन् । यस्तै दाङकै रचना केसीले शिक्षाशास्त्र संकायबाट जनसंख्या विषयमा स्नातकोत्तर गरेकी छन् । केही समय शिक्षक बनेर अनुभव संगालेकी उनी ईसीडीएफ तालिम लिएकी छन् ।


सिन्धुपाल्चोककी विन्दा लामा व्यवस्थापन संकायमा स्नातक अध्ययनरत छिन् । २२ वर्ष शिक्षक रहेकी धापासीस्थित तिलिङटार माध्यमिक विद्यालयकी गोमा केसीले पनि ईसीडीएफ तालिम लिएर सीप परीक्षणको लागि परीक्षा दिएकी छन् । वीरगञ्जकी मधु कर्ण अर्थशास्त्र विषयमा शिक्षाशास्त्र संकायमा स्नातकोत्तर अध्ययनरत छिन् । उनी ईसीडीएफ बन्नलाई तालिम लिएर सीप परीक्षण परीक्षामा सहभागि भैसकेकी छन् । सिन्धुपलाञ्चोककी पदमकुमारी श्रेष्ठ मानविकी संकायमा अंग्रेजी मुख्य विषयमा स्नातक गर्दै छिन् । उनको चाहना पनि ईसीडीएफ बन्ने छ । विदेश जाने चाहने राख्ने केही युवतीहरूले पनि ईसीडीएफ तालिम लिएका छन् ।


उच्च शिक्षित जनशक्ति एकातिर बेरोजगार छन् । ईसीडीएफ तालिम पछिको रोजगारीबाट आउने पैसा भने अति न्युन छ । सरकारले परिचरको तलबमान समेत २० हजार रुपैयाँ माथि पु¥याइसकेको अवस्था छ । तर बजारमा ईसीडीएफको तलब चाहिँ ५ हजार रुपैयाँदेखि सुरु छ । साना बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको चौतर्फी विकासमा अहम भूमिका खेल्ने ईसीडीएफको तलब चाहिं अति न्युन रहेकाले यो सोचनीय पक्ष छ ।

काठमाडौं जस्तो ठाउँमा एउटा ज्यान पनि सामान्य रुपमा बाँच्न नसक्ने अवस्थामा दिइने पैसाले मानव जीवनको सबैभन्दा सोचनीय र महत्वपूर्ण उमेरको चौतर्फी विकासमा भूमिका निर्वाह गर्ने ईसीडीएफले कसरी काम गर्लान् ? यो सोचनीय छ । मोरङकी रामकुमारी राजवंशीले बच्चाहरूलाई विषयवस्तुमा सही जानकारी गराउन, हाउभाउद्धारा सिकाइ कार्य गर्न मन्टेश्वरी विद्यालय, पूर्वप्राथमिक विद्यालय, बाल विकास केन्द्रमा सहजकर्ता वा शिक्षक हुनेले ईसीडीएफ तालिम लिनु पर्ने बताउँछिन् ।


ईसीडीएफ तालिमपछि सीपयुक्त प्रमाणिकरण भएका जनशक्ति पूर्व प्राथमिक विद्यालय, बाल विकास केन्द्र, मन्टेश्वरी विद्यालयका सहजकर्ता-शिक्षिका हुन्छन् । नेपालको विद्यालय शिक्षाभित्र औपचारिक रुपमा पूर्व प्राथमिक कक्षा समावेश छ ।

सरकारी विद्यालयहरू शिशु कक्षादेखि आधारभूत र माध्यामिक तहसम्म सञ्चालन भएका छन् । यसैगरी निजी विद्यालयमा पनि प्ले गु्रपदेखि आधारभूत र माध्यामिक तहसम्म सञ्चालनमा छन् । निजी रुपमा पनि पूर्व प्राथमिक विद्यालय सञ्चालनमा छन् । ती निजी विद्यालयहरू मन्टेश्वरी, किन्डरगार्टेन विद्यालयको नाममा सञ्चालन भएको पाइन्छ । यस्तै विभिन्न राष्ट्रिय सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी निकाय-संस्थाको सहयोगमा स्थानीय समुदायले सामुदायिक पूर्व प्राथमिक विद्यालय-कक्षा-तह वा बाल विकास केन्द्रहरू सञ्चालित छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको इभेन्ट परियोजना पहिलो र दोश्रो केही वर्षयता ईसीडीएफ तालिम निशुल्क रुपमा दिइरहेको छ ।

यसैगरी हेल्भेटासले यस्ता तालिमको लागि इभेन्ट परियोजनामा प्राविधिक सहयोग गर्दै आएको छ । सिटीइभिटीबाट सम्बन्धन प्राप्त संस्थाहरूले इभेन्ट परियोजना अन्तर्गत सञ्चालन हुने तालिम-कार्यक्रमको लागि प्रशिक्षार्थीहरूको छनौट गर्छ । यसरी छनौट हुनेमा उच्च शिक्षा हासिल गरेका युवतीहरू प्नि छन् । इभेन्टले बजारको माग अनुसारका प्रतिस्पर्र्धी र दक्ष ईसीडीएफ उत्पादनको लागि खर्च गरिरहेको छ । यस परियोजनामा विश्व बैंकको पनि सहयोग छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) ले बजारको माग अनुसार ईसीडीएफ कार्यक्रम-तालिमलगायतका अन्य थुप्रै तालिम सञ्चालन गर्दै आएको छ ।

सिटीइभिटीमा सम्बन्धन लिएका विभिन्न निजी तथा सामुदायिक संस्थाहरूले अन्य तालिमजस्तै ईसीडीएफ तालिम पनि सञ्चालन गर्छन् । कार्यक्रमको लागि सिटीइभिटीले पाठ्यक्रम निर्माण गर्छ । सिटीइभिटी अन्तर्गतकै राष्ट्रिय सीप परीक्षण समिति(एनएसटिबी) ले सिटीइभिटीको पाठयक्रम र उसकै पाठ्यक्रमको आधारमा सीप परीक्षण परीक्षा सञ्चालन गरी तालिम प्राप्त जनशक्तिलाई सीपयुक्त भएको प्रमाणिकरण गर्दै आएको छ । नेपाल सरकारको प्राविधिक र व्यावसायिक सीप, क्षमता भएका जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार सिटिइटिभीले स्थापना कालदेखि कार्य गर्दै आएको छ ।


लक्षित समूह
तह १ को पेशागत सीप मापदण्डको लािग ३९० घण्टा वा ३ महिनाको तालिम अवधि रहने गरेको छ । २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत व्यावहारिक ज्ञानको तालिम पाठ्क्रमको संरचना छ । यस तालिमले जीवन उपयोगी सीप र व्यवसाय विकास तथा व्यवस्थापन सीपको विकास गर्न प्रभावकारी देखिएको छ । १६ देखि ४० वर्ष उमेर समूहका बरोजगार महिला तथा पुरुषहरू, दलित, अपाङ, एकल महिला, कमलर-कमलरी, लोपोन्मुख, अतिसीमान्तकृत जनजाति र मधेशी, वैदेशिक रोजगारीबाट फर्केका बेरोजगार युवाहरू र अन्य गरीब युवाहरू पेशागत सीपका लक्षित समूह हुन् ।

सीटीइभिटी-एनएसटीबीले के गर्ने ?
ईसीडीएफको तालिमलाई सामयिक बनाउन सिटीइभिटी-एनएसटिबीले अझै केही कदम चाल्नु पर्ने देखिन्छ । सिटीइभिटीले तयार गरेको पाठयक्रम र एनएसटिबीको पाठ्क्रयम (तालिम सामग्रीहरू लगायत) लाई एकरुपता ल्याउनु पर्ने देखिन्छ । इभेन्ट, इन्स्योर जस्ता तालिमको लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने संस्थाले तालिम अवधिमा नै अनुगमन मुल्यांंकन गरी प्रतिस्पर्धि र सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । यसरी अनुगमन गर्दा इसिडी विज्ञहरूद्धारा गराउनु पर्छ ।

यस्तै तालिम दिने संस्थाले व्यवस्थापनको पक्षमा धेरै नै ध्यान दिनुपर्छ । तालिम कार्यक्रम हाता पार्न मात्रै त्यस्ता संस्थाले ध्यान नदिई साँच्चिकै क्षमतावान जनशक्ति उत्पादन गर्नुपर्छ । व्यावहारिक परीक्षामा विद्यालय, ल्याब, सामग्री आदिको समस्या परेकाले एनएसटीबी (तालिम प्रदायक संस्था)ले परीक्षा केन्द्र तोक्दा ल्याब भएको विद्यालय चयन गरी तालिममा आर्जन गरेका सीपको प्रयोगात्मक पक्षलाई मुल्यांकनकर्ताले सही रुपमा जाँच गर्न सकिन्छ । ईसीडीएफ लेभल वान लिएका परीक्षार्थी, ईसीडीएफका मुल्यांकनकर्ता, इसिडी विज्ञ तथा तालिम दिने संस्थाको माग लेभल टू को पनि माग छ ।


९ घण्टाको प्रयोगात्मक परीक्षा
ईसीडीएफको परीक्षा पनि दुःखपूर्ण छ किनकी यसको अवधि दिनभरको छ । ९ घण्टाको प्रयोगात्मक परीक्षा लिइन्छ । तीन महिना अवधिको परीक्षाको मुल्यांकनको लागि ९ घण्टाको प्रयोगात्मक परीक्षा हुन्छ । एक सहजकर्ताले एक पूर्व प्राथमिक विद्यालयमा एक दिनभरी गरिने क्रियाकलाप गर्नुपर्छ । परीक्षार्थी र मुल्यांकनकर्ता दिनभर संलग्न हुन्छन् । परीक्षार्थीको खाना, खाजाको कुराहरू अव्यावहारिक छ । यसैगरी ३ घण्टाको सैद्धान्तिक परीक्षामा पनि सहभागि हुन्छन् । यसमा विषयगत र वस्तुगत परीक्षामा सहभागी हुनुपर्छ ।

कारोवारमा खबर छ ।

Comments: