अबदेखि कक्षा ९ मा मात्र रजिस्ट्रेसन फाराम भरे हुने

कक्षा ११ मा पनि भर्न नपर्ने

Avatar photo

Byएजुकेशन पाटी

१ कार्तिक २०७९, मंगलवार

काठमाडौं । माध्यमिक तहको रजिष्ट्रेसन फारम एक पटक भरेपछि हुने भएको छ । माध्यमिक तहमा कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन फाराम भराउने गरिएको थियो । अब माध्यमिक तहको लागि एकपटक  ९ कक्षामा फाराम भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बताए । उनले भने, ‘कक्षा ९–१२ लाई माध्यामिक तह मानिए पनि फारम भने पटक–पटक भर्नुपर्ने छ । अब यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फारम भरे त्यही रजिष्ट्रेसन नम्बर हुने गरी गृहकार्य गरिरहेका छौं ।’

यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन फारम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिष्ट्रेसन फारम भर्ने समयावधि तोकेको छ ।  बोर्डका अध्यक्ष शर्माले औपचारिक निर्णय हुन बाँकी भएकाले यसपटक कक्षा ११ का विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्नुपर्ने र २०८० सालदेखि  भर्नु नपर्ने बताए ।

अबदेखि विद्यालयको कोड नम्बर पनि एउटै कायम गरिने भएको छ । बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ । हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन् । विद्यालय कोडमा एकरुपता कायम हुँदा काम गर्न सबैलाई सहज हुने अध्यक्ष शर्माको भनाइ छ ।

प्रतिकृया दिनुहोस्