२०७६ भदौ ९ गते

संकटमा धार्मिक विद्यालय

अन्तैबाट

पाँचथर । नेपाली र अंग्रेजीसहितका शिक्षा प्रदान गर्ने विद्यालयबाहेकका विद्यालय पनि खुल्ने क्रम जारी छ । पाँचथर जिल्लामा मात्रै सरकारी मान्यता सहितका त्यस्ता विद्यालय सञ्चालनमा छन् । त,र त्यस्ता विद्यालयमा अरु विद्यालय सरहको सेवा सुविधा राज्यले पु¥याउन नसक्दा संकटमा पर्दै गएका छन् ।


जिल्लाको जोरपोखरीमा सञ्चालनमा रहेको ब्रम्हा योगेश्वर वैदिक विद्या पीठमा दिन प्रतिदिन विद्यार्थी कम हुँदै गएका छन् । पाँचथर जिल्लामा सरकारी मान्यता पाएका चार विद्यालयमा धार्मिक शिक्षा पढाइ हुन्छ । त्यस्ता विद्यालयमा नियमित पढाइका साथसाथै धार्मिक शिक्षा प्रदान गरिँदै आएको छ । उत्तरी पाँचथरको शिद्धेश्वर गायत्रीस्वरुप विवेकानन्द आश्रम संस्कृत पाठशाला फलैचा, व्रम्हा योगेश्वर वैदिक विद्या पीठ जोरपोखरी, किराँत सेङसेन वरक चोत्लुङ मुन्धुम निसम्हिम सिलौटी र नियुङमा च्याङछुप छोलिङ गुम्बा नाङगिनमा धार्मिक शिक्षामा पठनपाठन हुने गरेको छ ।


जिल्लाका चार विद्यालयमध्ये फलैचा र जोरपोखरीमा रहेका विद्यालयमा संस्कृत शिक्षा पढाइ हुने गरेको छ । यता जिल्लाको साविक एकतीन गाविस वडा नम्बर ६ मा रहेको कुटीडाँडामा पनि संस्कृत शिक्षा पढाइ हुने गरेको छ ।


यता लबे्रेकुटीमा भएको विद्यालयमा किराँत धर्म अन्तर्गत मुन्धुम शिक्षा र नाङ्गिनमा भएको विद्यालयमा गुम्बा शिक्षा पढाइ हुने गरेको छ । सञ्चालित विद्यालयमध्ये मुन्धुम र गुम्बा शिक्षाका लागि ०६२/०६३ पछि विद्यालय खुलेका हुन् भने संस्कृत शिक्षाका लागि त्यस भन्दा अघि नै विद्यालय सञ्चालनमा थिए ।


विद्यालयको पछिल्लो विवरण अनुसार गुम्बा र मुन्धुम शिक्षाका लागि विद्यार्थीको आकर्षण बढ्दो देखिएको भए पनि संस्कृत शिक्षामा भएका विद्यार्थी समेत विद्यालय छाड्न थालेको विद्यालय सम्बद्ध स्रोतको भनाइ छ । संस्कृत मध्यममा पढाइ हुने विद्यालय मध्ये शिद्धेश्वर गायत्रीस्वरुप विवेकानन्द आश्रम संस्कृत पाठशालामा सबैभन्दा बढी विद्यार्थी छन् । उक्त विद्यालयमा दैनिक ३० जनाले अध्ययन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद अधिकारीले जानकारी दिए ।


जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा पनि संस्कृतका विद्यार्थीमा कमी देखिएको उल्लेख छ । सरकारले गर्ने सहयोग शिक्षा कार्यालयमार्फत नै जाने भए पनि विद्यार्थी संख्याका आधारमा प्रदान गरिने सुविधामा असर पर्ने जिल्ला शिक्षा कार्यालयले बताएको छ ।


संस्कृत व्याकरणको अध्यापन हुने पाँचथरको जोरपोखरीमा रहेको व्रम्हा योगेश्वर वैदिक विद्या पीठ गुरुकुलमा अध्ययनका लागि विद्यार्थी आउने क्रम घट्दै गएको छ । ५० जनासम्म विद्यार्थीहरूले अध्ययन गरेको उक्त गुरुकुलमा हाल ७ जना विद्यार्थीहरू मात्र अध्ययनरत छन् । ४० बढी विद्यार्थीहरूले आवासीय रुपमा अध्ययन गर्न सक्ने क्षमताको उक्त गुरुकुलमा क्रमशः विद्यार्थीहरू घट्दै गएको गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द खतिवडाले जानकारी दिए । जोरपोखरीमा वर्षभरी नै चिसो हुने कारण पनि विद्यार्थी टिकाउन समस्या भएका व्यवस्थापन समितिले जानकारी दिएको छ ।


उता जिल्लाको फलैंचा–३ मा सञ्चालनमा रहेको शिद्धेश्वर गायत्रीस्वरुप विवेकानन्द आश्रम संस्कृत पाठशालामा भने विद्यार्थी बढ्दै गएका छन् । आश्रममा नै खाने बस्नेसहितको व्यवस्थापन भएका कारण विद्यार्थी संख्या अघिल्लो सालको तुलनामा दोब्बरले बढेको सञ्चालकको भनाइ छ । आश्रममा ३५ जना सम्म रहने सक्ने क्षमता छ । गुरुकुल शिक्षामा घट्दो आकर्षणलाई विद्यालय सञ्चालकले समस्याका रुपमा हेरेका छन् ।


जिल्लाको सिलौटी धार्मिक क्षेत्रमा मुन्धुम शिक्षा अध्यापन हुन थालेको दुई वर्ष भयो । किराँत सेङसेन वरक चोत्लुङ मुन्धुम निसम्हिम विद्यालयमा अहिले २५ विद्यार्थीले मुन्धुम सिकिरहेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा बढ्दो संख्या हो । विद्यालयमा अध्यन गर्न आउने बिद्यार्थीको संख्यालाई राम्रो मान्न सकिने व्यवस्थापन समिति अध्यक्ष सुवास तुम्बापोले बताए ।


विद्यालयमा आगामी वर्षदेखि विद्यार्थीको संख्या थपिने व्यवस्थापन समितिको बिश्वास छ । आगामी वर्षदेखि अंग्रेजी र कम्प्युटर शिक्षाका साथमा मुन्धुम पढाइ हुने कारण पनि विद्यार्थी थप गर्ने योजना व्यवस्थापन समितिको छ ।


यता जिल्लाको नाङगिनमा सञ्चालनमा रहेको नियुङमा च्याङछुप छोलिङ गुम्बामा गुम्बा शिक्षा पढाइ हुने गरेको छ । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको संख्यामा व्यवस्थापनको चिन्ता नरहे पनि बाहिरबाट आउने विद्यार्थीको उपस्थिति देखाउन चुनौति रहेको प्रधानाध्यापक रिन्जि शेर्पाले बताए । बाहिरबाट अउने बिद्यार्थीलाई टिकाउन समस्या छ ।


शिक्षा कार्यालयले कुनै पनि धार्मिक विद्यालयलाई दरबन्दीका रुपमा सहयोग गर्दैन । राहतका रुपमा सोही अनुसारको सहयोग भने दिइरहेको छ । जिल्लामा सञ्चालित ४ विद्यालयका लागि जिल्ला शिक्षा कार्यालयले अन्य विद्यालय सरहको सेवा दिइरहेको छ । शिक्षक दरबन्दीको विषयमा राज्यले त्यस प्रकारको नीति अख्तियार नगरेका कारण समस्या भएको शिक्षा स्रोतको भनाइ छ ।


विद्यालय सञ्चालकहरूले भने दरबन्दीको व्यवस्थापन हुन सके भर्खर खुलेका विद्यालयलाई स्थापित गराउन र बर्षौदेखि चल्दै आएका विद्यालयलाई टिकाउन सहयोग पुग्ने बताउने गरेका छन् । धार्मिक विद्यालयमा पनि राज्यको ध्यान जानु पर्ने उनीहरूको माग छ । शिक्षक राख्न नसक्दा धेरै विद्यालय समुदायको आवश्यकता रहँदा पनि सञ्चालनमा आउन सकिरहेका छैनन् ।

दिपक बोहराले कारोवारमा खबर लेखेका छन् ।

Comments: