• पद्मोदय माविले पायो नयाँ भवन, एकवर्ष भित्र विद्यालय पुनर्निर्माण सक्ने शिक्षामन्त्रीको उद्घोष
    (ईपाटी संवाददाता/काठमाडौं)


  • काठमाडौं । भूकम्पले क्षति र्पुयाएको काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माध्यामिक विद्यालयले नयाँ भवन पाएको छ । भूकम्प गएको तीनवर्ष पछि जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंले पुनर्निर्माण गरी भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।

    बिहीबार एक भव्यसमारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय व्यवस्थापन समितिलाई नवनिर्मित भवन हस्तान्तरण गरेका छन् ।

    एशियाली विकास बैंकको ५ करोड आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौंले पुनर्निर्माण गरेको सो भवनमा पुस्तकालय, ल्यावसहितका २७ वटा कोठा रहेका छन् ।

    सो नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब एकवर्ष भित्र भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माण सक्ने गरी काम भइरहेको बताए । राजनीतिक संक्रमणकालका कारण भूकम्पले क्षति र्पुयाएको विद्यालय भवन पुनर्निर्माणको काममा केही ढिलाइ हुन गएको भएपनि पछिल्लो समय द्रुत गतिमा काम भइरहेको उनको भनाइ थियो ।


    मन्त्री पोखरेलले एक वर्षभित्र भूकम्पले क्षति र्पुयाएको विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने गरी काम गर्न समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आग्रह गरे ।


    पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गरिएको सो विद्यालय भवन गुणस्तरीय शिक्षाका लागि उपयोगी हुने विश्वास पनि व्यक्त गरे । पद्मोदय माविले शिक्षामा राम्रो गर्दै आएको आफुले सुनेको भन्दै गुणस्तरीय शिक्षाको अझै जोड दिन उनले विद्यालय परिवारसँग आग्रह गरे । उनले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको संयुक्त पहलको आवश्यकतामा पनि जोड दिए ।


    २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षति र्पुयाएको सो विद्यालय भवनको पुनर्निर्माणको काम १ वर्ष ३ महिनाभित्र सम्पन्न गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ काठमाडौं शिक्षाका प्रमुख अर्जुन रायमाझीले जानकारी दिए ।