२०७६ असोज २९ गते

नाङ्गो खुट्टामै स्कुल

अन्तैबाट

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र काँडाहरू कुल्चँदै उनीहरू पढ्न आउने–जाने गर्छन् । हातका हत्केला जस्तै कलिला पैतालाहरू दैनिक खियाउँदै आवतजावत गरेकाले उनीहरूको पैतालाका छाला वयस्कका जस्ता छिप्पिइसकेका भइसकेका छन् ।

‘अधिकांश विद्यार्थीहरू गरिबीको कारणले नाङ्गै खुट्टाले स्कुलमा पढ्न आउने गर्छन्,’ प्रधानाध्यापक रमिला हिमडुङले भनिन्, ‘जुत्ता–चप्पल लगाएर स्कुल आउने यहाँका बालबालिकाको आर्थिक हैसियत नै छैन । ‘उक्त स्कुलमा पढ्न आउने बालबालिकाहरू दैनिक आधा घण्टादेखि २ घण्टासम्म नाङ्गै खुट्टा हिँडेर आउँछन् ।

कैलाश गापाको छिमेकी गाउँपालिका राक्सिराङ गापा ४ जोङसिराङका २ कक्षामा अध्ययन गर्ने विवेक चेपाङलाई स्कुलमा पढ्न आउन एक घण्टा हिँड्नुपर्छ । दैनिक उनी २ घण्टा नाङ्गै खुट्टाले हिँडेर आउँछन् । जोङसिंराङबाट १ कक्षादेखि ३ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको संख्या १५ छ ।

उनीहरू सबै कलिला पैताला खियाउँदै स्कुल आउँछन् । ८७ बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा रतुवा, ताम्लाङ, डोकाटारका आउने गर्छन् । ‘स्कुलमा पढ्न आउने ५ जना विद्यार्थी बाहेकका ८२ जना छात्रछात्राहरू जुत्ता र चप्पलविहीन आउने गरेका छन्,’ शिक्षक शुक्रबहादुर चेपाङले भने, ‘नाङ्गै खुट्टा स्कुलमा आउने भएकाले कलिला पैतालाहरू पनि पट्पट् फुटेका छन् ।’

२०६३ सालमा स्थापना भएको उक्त विद्यालयमा ८७ छात्रछात्रामध्ये ८३ जना चेपाङ समुदायका बालबालिका छन् । टाढा/टाढाबाट उक्त विद्यालयमा बालबालिकाहरू नियमित ढंगले पढ्न आउनुमा दिवाखाजा कारण छ । स्कुलले विद्यार्थीलाई दिउँसो नियमित ढंगले खाजा खुवाउने गरेको छ । ‘खाजा खान पाउने भएकाले उनीहरू नियमित ढंगले स्कुल आउने गरेका हुन्,’ प्रअ हिमडुङले भनिन्, ‘स्कुलमा खाजाको व्यवस्था नगरेको भए उनीहरू पढ्न आउने थिएनन् ।’

उक्त स्कुलमा पढ्न आउने अधिकांश विद्यार्थीहरू नाङ्गो खुट्टामात्र होइन, घरबाट भोकै आउने गरेका छन् । घरमा खानेकुरा केही नभएकाले उनीहरू भोकै आउने गरेका हुन् । ‘स्कुलमा खाजाको व्यवस्था नगरेको भए अधिकांश बालबालिकाहरू पढ्न आउने थिएनन्,’ शिक्षक चेपाङले भने । विद्यालयले स्कुलमा बारै पिच्छे चिउरा,तरकारी, हलुवा, रोटी, मकै भटमास र फुलौरा पकाएर खुवाउने गरेको छ ।

चेपाङ समुदायका बालबालिकालाई दिवा खाजास्वरूप सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ उपलब्ध गराउने गरेको छ । उक्त विद्यालयले सरकारले दिएको रकमको स्कुलमा खाजा खुवाउने गरिएकाले विद्यार्थी स्कुलमा पढ्न आउन आकर्षित भएका हुन् ।

चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने अधिकांश विद्यालयका शिक्षकहरूले दिवाखाजास्वरूप सरकारले दिने १५ रुपैयाँ सम्बन्धित अभिभावकलाई रकमै उपलब्ध गराउने गरेका छन् । अभिभावकलाई उक्त रकम दिएका कारणले दुरुपयोग हुने गरेको छ । अभिभावकलाई रकम उपलब्ध गराएकाले उक्त रकमको प्रभावकारिता न्यून देखिएको छ । अधिकांश अभिभावकहरूले छोराछोरीलाई दिएको खाजाको रकम मादक पदार्थ र धूमपानमा खर्च गरेका छन् ।

चेपाङ बस्तीको माझमा रहेको उक्त विद्यालयका छात्रछात्राहरू अर्धनग्न भएर स्कुलमा पढ्न आउने गर्थे । यो वर्ष शिक्षा कार्यालयले चेपाङ विद्यार्थीहरूलाई दिएको छात्रावृत्तिको रकममा स्कुलले थप गरेर विद्यालय पोसाक हालिदिएको छ ।

सरकारले उनीहरूलाई छात्रावृत्तिस्वरूप ५ सय रुपैया दिने गरेको छ । विगतमा स्कुलले अभिभावकलाई उक्त रकम दिने गरेको थियो ।

‘अभिभावलाई यो वर्षको छात्रावृत्तिको रकम नदिएर त्यस्मा स्कुलले पैसा थपेर पोसाक हालिदिएकाले अर्धनग्न देखिएका छैनन्,’ प्रअ डिमडुङले भनिन् ।

यसैगरी जाडो महिना सुरु भएकाले उक्त विद्यालयका विद्यार्थीलाई शुक्रबार मिस नेपाल शृङ्खला खतिवडाले न्यानो कपडा वितरण गरेकी थिइन् । कपडा तथा तयारी पोसाक संघले उक्त गाउँका छात्रछात्राहरूलाई न्यानो कपडाको व्यवस्था गरेको थियो ।

प्रताप विष्टले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: