२०७७ जेष्ठ १७ गते

विद्यालयमै विश्रामकक्ष

अन्तैबाट

सल्यान  । महिनावारी भएका छात्राको सुविधाका लागि कपुरकोट गाउँपालिकाले ५ माविमा विश्रामकक्ष निर्माण गरेको छ । महिनावारीका बेला छात्रामा विभिन्न समस्या आउने भन्दै समाधानका लागि विश्राम कक्षको व्यवस्था गरिएको हो ।


विगत वर्षमा महिनावारी भएको बेला छात्रा नियमित विद्यालय आउँदैन थिए । विश्रामकक्ष निर्माणले छात्राको अनुपस्थिति दर घटाउने अपेक्षा गरिएको छ । विश्राम कक्षले महिनावारी छात्रालाई धेरै सहज बनाएको कालिका माविकी शिक्षिका हीमा सुवेदीले बताइन् । ‘विद्यालयमै महिनावारी भए छात्राले छुट्टि माग्ने गरेका थिए,’ उनले भनिन्, ‘तर अहिले विश्राम कक्षमै आराम गर्छन, उनीहरूको पढाइ पनि नियमित भएको छ ।’ महिनावारी भएको समयमा किशोरीलाई आराम चाहिने भएकाले स्थानीय सरकारसँग विश्रामस्थल बनाउन माग गरिएको उनको भनाइ छ । रक्तश्रावका कारण महिलामा विभिन्न कमजोरी देखिने उनी बताउँछिन् । विश्राम कक्ष निर्माण गरिएपछि अन्य विरामी छात्रछात्रालाई पनि सहज हुने उनले जानकारी दिइन् ।

महिनावारी भएका छात्राका लागि विद्यालयमा एउटा छुट्टै कोठाको व्यवस्था गरिएको छ । उक्त कोठामा बेड, सेनेटरी प्याड, प्रयोग गरेको प्याड फाल्ने भाँडालगायतको व्यवस्था गरिएको छ । विद्यार्थीलाई टाउको दुखेमा, ज्वरो आएमा वा चोटपटक लागेमा प्राथमिक उपचार गर्ने सामग्रीसमेत राखिएको विद्यालयले जनाएका छन् । भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर खड्काले बताए । ‘धार्मिक कुरीती तथा संस्कारमा अल्झिनु र अझै खुलेर आउन नसक्नुले छात्राहरू बढी प्रभावित भएका छन्,’ उनले भने, ‘महिनावारी भएको समयमा अहिले छात्राहरू विश्राम कक्षमा जान्छन्, केही समस्या परे प्राथमिक उपचारको समेत व्यवस्था गरिएको छ ।’

महिनावारी हुँदा स्कुले बालिकाको पठनपाठन प्रभावित हुने गरेकाले व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । ‘उनीहरूलाई केही समस्या परे आवश्यक परामर्श दिन एकजना शिक्षिकालाई तालिमसमेत दिइएको छ,’ उनले भने, ‘शिक्षिकाले प्राथमिक उपचारसम्बन्धी तालिमसमेत लिएकाले अन्य विद्यार्थीले पनि लाभ लिने अपेक्षा छ ।’ विश्राम कक्ष स्थापनापछि छात्रा खुसी भएका छन् । लाज, शारीरिक तथा मानसिक समस्यालगायत कारण सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाको पठनपाठन अनियमित हुने गरेको थियो । महिनावारी भएका छात्राका लागि कपुरकोटका सबै विद्यालयमा नि:शुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको छ । छात्रामैत्री शौचालयका कारणसमेत किशोरीको पठनपाठन सहज बन्दै गएको गाउँपालिकाले जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: