काठमाडौं । सरकारी निर्देशन विपरित संस्थागत तथा निजी विद्यालयहरुले अझैपनि प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको प्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले आपत्ति जनाएको छ ।

सरकारले दिएको निर्देशन र लिएको नीतिको अवज्ञा गर्दै कतिपय निजी तथा संस्थागत विद्यालयहरुले प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको परिघटनाप्रति आफ्नो  गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियूले जनाएको हो ।

शुक्रवार अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले  संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठुलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपुर्ण हर्कतप्रति घोर निन्दा र आपत्ति जनाएका हुन् ।

विश्वव्यापि महामारीको रुपमा आम विश्व समुदायलाई नै आकान्त पार्नेगरि कोराना भाइरस (कोभिड १९) सर्वत्र फैलिरहेको वर्तमान संकटपुर्ण घडीमा सरकार र सम्पुर्ण नेपाली जनता अत्यन्तै सतर्कता, गम्भीरता र जिम्मेवारीबोधका साथ अघि बढिरहेको संगठनले स्पष्ट पारेको छ ।

‘यस खालका गैरजिम्मेवार गतिविधि गर्ने सबै विद्यालयहरुलाई तत्काल कार्वाही गर्नसरकार र अन्य सरोकारित नियमनकारी निकायसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

२०७६ चैत्र ७ गते २१:२३मा प्रकाशित

प्रतिकृया दिनुहोस्