२०७६ असोज २ गते

नमुना विद्यालय बनाउन परियोजना

काठमाडौं । शिक्षा विभागले हिमाली भेगमा नमुनाका रूपमा दुई विद्यालयको निर्माण परियोजना सुरु गरेको छ । चीन सरकारको सहयोगमा शिक्षा विभागले सुरु गरेको सुविधायुक्त नमुना विद्यालय परियोजनाको लागत १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ छ ।

लमजुङको हिमाली क्षेत्र भैरव माविमा ४ सय १६ विद्यार्थी क्षमताको ७ करोड ५० लाख रुपैयाँ लागतको आवासीय विद्यालय निर्माण परियोजना र सिन्धुपाल्चोकको बराम्चीस्थित रत्नराज्य माविमा ६ सय ३० विद्यार्थी क्षमताको ८ करोड १० लाख लागतको आवासीय विद्यालय निर्माण परियोजना एक कार्यक्रमबीच सोमबार थालनी गरिएको हो ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र चिनियाँ राजदूत मिस यु होङले परियोजनाको संयुक्त रूपमा उद्घाटन गरे । सचिव श्रेष्ठले सुविधासम्पन्न भवन र सम्पूर्ण शैक्षिक पूर्वाधारको व्यवस्थाबाट हिमाली भेगको बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताए । चिनियाँ राजदूत होङले सबै बालबालिकाले समान शिक्षा प्राप्त गर्नु उनीहरूको अधिकार भएको बताइन् ।

चाइना एड परियोजनाअन्तर्गत हिमाली क्षेत्रमा १० विद्यालय निर्माण गर्ने सम्झौता भइसकेको र पहिलो चरणमा २ विद्यालय निर्माण कार्य सुरु भएको शिक्षा विभागका योजना महाशाखाका निर्देशक दीपक शर्माले जानकारी दिए । दुई वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने परियोजनाको लक्ष्य छ । कान्पिुर दैनिकमा खबर छ ।

Comments: