२०७६ कार्त्तिक २६ गते

नमुना बन्यो बोटेमाझी लक्षित विद्यालय

पाल्पा । कालीगण्डकी नदीको नजिक बसोबास गर्ने बोटेमाझीलाई लक्षित गरी खोलेको राधाकृष्ण प्रावि ‘नमुना’ बनेको छ । यहाँ सबै कक्षामा भुइँको बसाइ छ । बालमैत्री पुस्तकालय छ । सफा, चिरिच्याट्ट परेको कक्षामा बसौंबसौं लाग्छ ।

विद्यार्थी पनि सफा सुग्घर छन् । पहिले विद्यार्थी बस्न र आउन मान्दैनथे । अहिले भने त्यस्तो छैन । ‘विद्यालयमा आउआउ लाग्ने वातावरण बनेको छ,’ विद्यार्थी मनकला माझीले भनिन्, ‘सबैले माया गर्नुहुन्छ अनि आउन मन लाग्छ ।’ नर्सरी ९बालकक्षा० यूकेजी त्यसपछि कक्षा १ मा पढ्छन् । ३ सम्म पढाइ हुने यहाँ अंग्रेजी माध्यम छ ।


अंग्रेजी पढ्न सहर जानु पनि परेन । साबिकको बौघागुम्हा गाविस, छेर्लुङ भए पनि अहिले तानसेन नगरपालिका १३ हो । नगरपालिकामा गाभिए पनि कालीगण्डकी नदी नजिकमा विद्यालय छ । यहाँ ८५ प्रतिशत बालबालिका बोटेमाझीका छन् । अन्य समुदाय १५ प्रतिशत मात्र हुन् । पहिले विद्यालय पुग्नेले माछा मारेर र अर्काको ज्याला मजदुरी गरेर हिँड्ने बोटे समुदायका लागि खोलिएको विद्यालयको अवस्था कस्तो होला रु भनेर होच्याउँथे । प्रधानाध्यापक, शिक्षक, बोटेमाझीका अभिभावक मिलेर विद्यालय सुधारेका हुन् । समाजसेवी ज्येष्ठ नागरिक लालबहादुर खत्रीले कालीगण्डकी नदी किनार छेउ भएर भए पनि अहिलेयस विद्यालयको स्वरूप परिवर्तनभएको सुनाए ।


उनका अनुसार ८५ प्रतिशत बोटेमाझीका छोराछोरीले अध्ययन गर्ने यस विद्यालयमा पछिल्लो १० वर्षमा ठूलै परिवर्तन देख्न सकिन्छ । ‘भवन जीर्ण थियो, कोही पढ्न आउँदैन थिए,’ उनले भने, ‘अहिले त्यस्तो छैन । सबै विद्यार्थी पढ्न आउँछन् ।’


प्रत्येक घरधुरीमा पढ्ने उमेरका विद्यार्थी विद्यालय आउने वातावारण बनेको छ । अंग्रेजी माध्यममा पढाइ भएपछि झन् खुसी छन् । खेल्ने र बुक कर्नर ९शैक्षिक सामग्री० भएकाले विद्यालय आउन विद्यार्थीलाई बानी परेको शिक्षिका सीता शर्माले बताइन् । ‘हामी आफैं पनि कोही कसैको घरमा बालबालिका छुटे कि भनेर खोज्न जान्छौं,’ उनले भनिन्, ‘जसले गर्दा विद्यालय आउन बानी परेको छ ।’ विद्यालय आउन नमान्ने विद्यार्थी पनि विद्यालयमा आएको परिवर्तनले आउन थालेको उनको अनुभव छ ।


शिक्षा कार्यालयले मर्ज गर्न लागेको विद्यालयमा अभिभावकलाई शिक्षाको महत्त्व बुझाउन सकेकाले विद्यार्थीको संख्या १५ बाट ६५ पुगेको छ । नर्सरी, एलकेजीदेखि ३ सम्म पढाइ हुने यस विद्यालयमा धेरै कठिनाइ, मेहनतबाट सुधार आएको प्रधानाध्यापक भेषराज पाण्डेयले बताए । ‘विद्यालय छाड्ने दर पनि घटेको छ,’ उनले भने, ‘जसले गर्दा अहिले पढाउन पनि सन्तुष्टि मिलेको छ ।’ ल्याउन र टिकाउन गाह्रो हुने समुदायले अहिले शिक्षाको महत्त्व बुझ्दै गएको उनले बताए ।


यहाँ स्थायी शिक्षक छैनन् । निजी स्रोतबाट विपन्न अभिभावकले शिक्षक पाल्नुपरेको छ । बोटे माझी समुदायका विद्यार्थी पढ्ने यस विद्यालयमा शिक्षक दरबन्दी, विद्यालय भवनको व्यवस्था गर्न अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष फत्तबहादुर माझीले बताए । ‘यदि विद्यार्थीलाई राम्रो शिक्षा दिने हो भने शिक्षक पनि स्थायी पठाइदिनुपर्‍यो,’ उनले माग गरे । अन्यत्र सरकारी सामुदायिक विद्यालयमा भवन बनेका छन् तर विद्यार्थी घटेका छन् । ‘शिक्षा कार्यालय, स्रोत व्यक्ति र विद्यालय निरीक्षकले दुर्गम र विद्यार्थी धेरै भएका स्थानलाई भने ध्यान दिएको पाइँदैन,’ खत्रीले भने । पहुँचवाला र नेता शिक्षकको विद्यालयलाई मात्र दरबन्दी, भौतिक पूर्वाधारले सम्पन्न गराउने भन्दा यस्ता विपन्न समुदायले अध्ययन गर्ने विद्यालयलाई पनि ध्यान दिन जरुरी रहेको उनले बताए ।

माधव अर्यालले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: