२०७६ मंसिर ६ गते

सदरमुकामकै विद्यालय नाजुक

रुकुम पश्चिम  । मुसिकोट नगर, शिक्षा शाखाको टोली वैशाख २८ गते मुसिकोट–४, स्थित आधारभूत विद्यालय कोटचौतारा पुग्यो । विद्यालय समयमा उक्त टोली पुग्दा कार्यालयसहित सबै कक्षाकोठा बन्द थिए । विद्यालय सुनसान थियो । कार्यालय सहयोगी विद्यालयभन्दा टाढाको घरमा गएर सुतेका भेटिए ।

कार्यालय सहयोगीलाई ब्युँझाएर ल्याउँदा थाहा भयो कि चालु शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना भएका रहेनछन् । बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा तीन शिक्षक, एक बाल विकास सहयोगी कार्यकर्ता र एक कार्यालय सहयोगी कार्यरत छन् ।

मुसिकोट–५, स्थित आधारभूत विद्यालय डाङडुङेको अवस्था पनि कोटचौताराको विद्यालयभन्दा फरक छैन । बाल विकासदेखि ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा पनि चालु शैक्षिक सत्रको हालसम्म एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । उक्त विद्यालय अनुगमनमा मुसिकोट नगर शिक्षा शाखाको टोली जाँदा दुई जना कर्मचारी कार्यालयमै सुतेका भेटिए ।

बाल विकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई उठाएर अनुगमन टोलीले सोधपुछ गर्‍यो । बाल विकास सहयोगी कार्यकर्ता सजिलै ब्युँझिए पनि कार्यालय सहयोगीलाई ब्युँझाउन भने मुस्किल भएको थियो । अनुगमन टोलीले मुसिकोट नगरपालिका–१४, को ज्ञानकुञ्ज आधारभूत विद्यालय झिमडाँडाको अवस्था अन्य दुईभन्दा झन् बिजोग पाएको छ । कक्षाकोठामा बस्तुभाउलाई खुवाउने पराल राखिएको छ । विद्यालयको आँगनभरि गहुँको बिस्कुन सुकाइएको छ । विद्यालय भवनको बार्दली, पेटीमा गहुँका बिटा राखिएको छ ।

अनुगमन टोलीले सोधपुछ गर्दा शिक्षकहरू सम्पर्कमा आएनन् । विद्यालयमा कति विद्यार्थी भर्ना भएका छन् भन्ने पत्ता लाउन नसकी अनुगमन टोली फर्कियो ।

मुसिकोट नगरपालिकाको सामाजिक विकास समिति तथा नगर शिक्षा शाखाले गरेको विद्यालय अनुगमनको क्रममा पाइएको विद्यालयको अवस्था हो यो ।

भर्ना अभियान सकिएर धमाधम पठनपाठन सञ्चालन भइरहेको होला भन्ने अनुमानसहित अनुगमन टोलीका सदस्य विद्यालयको अवस्था देख्दा जिब्रो टोक्दै फर्कने गरेको छ । अनुगमन गरिएका अन्य विद्यालयमा १३ जना, २२ जना ३७ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये विद्यालयमा उपस्थित भने ५० प्रतिशत पनि छैनन् । विद्यार्थी नै नभएपछि शिक्षकहरू विद्यालय आउँदैनन् आएकाहरू पनि शीतलमाबसेर दिन कटाउँछन् ।

कम विद्यार्थी भएकै कारण एकभन्दा बढी कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराइरहेको अनुगमनको क्रममा पाइएको छ । नगरपालिकाभर ५५ सामुदायिक विद्यालय छन् । सबै विद्यालयको अनुगमन गरेर प्रतिवेदन बुझाउन नगर शिक्षा समितिले ३ वटा टोली बनाएको छ । टोलीले जेठ १ गतेभित्रै सबै विद्यालयको अनुगमन गर्ने र २ गते नगरभरिका प्रअहरूको बैठकमा छलफल गर्ने तयारी गरिरहेको छ । ‘शैक्षिक सत्र सुरु भइसकेको छ, पाठ्यपुस्तक वितरण भइसकेको छ, पठनपाठन के कसरी भइरहेको छ भनेर अनुगमन गर्दा विद्यालयको अवस्था पूरै उल्टो पाइयो,’ नगर शिक्षा अधिकृत बिनाराम खड्काले भने, ‘विद्यालयहरूले पठनपाठन गराइरहेका होलान् भनेको त विद्यार्थी नै भर्ना
भएका रहेनछन् ।’

नगरपालिकाले विद्यालय समायोजन गर्ने तयारी गरिरहेको छ । अब सबै विद्यालयको यथार्थ विवरण संकलन हुने र त्यसकै आधारमा समायोजन गर्न सजिलो हुने नगर शिक्षा अधिकृत खड्काले बताए । ‘विद्यालयको अवस्था थाहा नपाएर समायोजन गर्नुभएन, विद्यालयको खास अवस्था के हो भनेर थाहा पाइसकेपछि मात्रै एक्सनमा जानु राम्रो हुन्छ भनेर विद्यालय अनुगमन जारी छ,’ अधिकृत खड्काले भने । नगरपालिकाले २६ वटा विद्यालय समायोजनको तयारी गरिरहेको छ । विद्यार्थी भर्ना नै नभएका, विद्यार्थी संख्या कम भएका, एक विद्यालयदेखि अर्को विद्यालयको दुरी ३० देखि ४५ मिनेट टाढा भएका विद्यालयहरू समायोजन हुनेछन् ।

समायोजनलाई सही बनाउन पनि टोली नै बनाएर विद्यालय अनुगमन गरिएको बताइएको छ । हचुवाको भरमा विद्यालय समायोजन गर्दा राम्रो ‘म्यासेज’ नजाने भएकाले खास विवरण पत्ता लगाएर मात्रै समायोजनको प्रक्रिया अघि बढाइने नगर अधिकृत खड्काले भने । शिक्षा सुधारमा ठूलो चुनौती देखापरेको छ । एक शैक्षिक सत्रभर विद्यालय खाली हुने, शिक्षकहरू नियमित विद्यालय नजाने, अनुगमन नियमन नहुँदा पनि विद्यालय तथा शैक्षिक गुणस्तर खस्किएको छ । यसअघि नै खस्किएको शैक्षिक गुणस्तर सुधार्न आवश्यक नीति बनाएर अघि बढ्न लागिएको नगरप्रमुख देवीलाल गौतमले बताए ।

‘सुधारको सुरुवात जिरोबाटै सुरु गर्नुपर्ने अवस्था छ,’ नगर प्रमुख गौतमले भने, ‘हामी सकेसम्म सुधार्ने कोसिस गरिरहेका छौं, सबैतिरको सहयोग भए सुध्रिन्छ पनि ।’

कान्तिपुरमा खबर छ ।

Comments: