२०७६ भदौ ९ गते

गुरुकुलमा नैतिक शिक्षा र संस्कृत पढ्दै बालबालिका

अन्तैबाट

झापा । कमल गाउँपालिका वडा नं.३ की १२ वर्षीया आकृति अधिकारी र ११ वर्षीया प्रकृति अधिकारी स्थानीय एक बोर्डिङ विद्यालयमा पढ्छन् । तर उनीहरु एकाबिहानै घर नजिकै रहेको मुक्तिश्वर शिवालय मन्दिरले सञ्चालन गरेको गुरुकुलमा धार्मिक ग्रन्थ गीता बोकेर पढ्न आउने गर्छन् ।

बिहान एकदेखि डेढघण्टा यहाँ पढेपछि बोर्डिङ जानका लागि घर जान्छन् ।

‘यहाँ नानीहरु पढ्न आएपछि संस्कृत र संस्कृतिको विषयमा राम्रोसँग बुझ्न थालेका छन्, यहाँ शिष्टता र नैतिकताको विषयमा पनि ज्ञान दिइन्छ र मैले पढ्न ल्याउँदैछु, आमा उमा अधिकारीले भनिन् ।

विभिन्न सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा पढ्ने ३० भन्दा बढि विद्यार्थी दैनिक रुपमा यहाँ गुरुकुलमा पढन आउने गरेका छन् ।

यहाँ आएर छोराछोरीहरु पढ्न र नैतिक शिक्षाको विषयमा जानकारी पाउन थालेपछि ब्यवहारमा निक्कै परिवर्तन आउने गरेको छविलाल ढकालले बताए । आफ्ना ५ वर्षीय नाति उत्सव विष्ट पनि यहाँ आउने गर्छन् । घरमा अनुशासित भएर बस्ने र पढ्न खोज्ने बानी बसेको छ, ढकालले भने । स्थानीय बोर्डिङ विद्यालयमा युकेजीमा विष्ट अध्ययनरत् छ ।

यहाँ आउने कसैलाई पनि भेदभाव नरहेको र आदिवासी, दलित तथा जनजातिका विद्यार्थीहरु समेत उल्लेख्य आउने गरेको गुरुकुलका अध्यक्ष रामचन्द्र बरालले बताए । बरालका अनुसार दलितका विद्यार्थीहरु पनि यहाँ अध्ययनरत रहेकाछन् ।

औपचारिक शिक्षामा कुनै असर नपर्ने गरी एकदेखि डेढ घण्टा संस्कृति र नैतिक शिक्षा यहाँ प्रदान गर्ने गरिएको छ, बरालले भने ।

अभिभावकहरुले इच्छाले आफ्नो छोराछोरीहरु यहाँ ल्याइदिने गरेको र संस्कृतमा राम्रो अध्ययन गरेरका गुरुहरुबाट यहाँ पठनपाठनको ब्यवस्था मिलाईएको पनि बरालले बताएका छन् ।

उनीहरुलाई अवस्था हेरेर गीता, रुद्रि, चण्डि, अग्निस्थापना लगायतका पुस्तकहरु पढाइन्छ । गुरुकुलमा पढाई हुने विषयलाइ नै यहाँ पनि प्राथमिकता दिइएको छ, बरालको भनाई छ ।

विष्णुप्रसाद पोखरेलले गोरखापत्रमा खबर लेखेका छन् ।

Comments: