२०७६ कार्त्तिक २७ गते

म्याग्दी साक्षर जिल्ला घाेषित्

बेनी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। २०६७ सालदेखि जिल्लामा सुरु भएको राष्ट्रिय साक्षरता र निरन्तर शिक्षा अभियानबाट १५–५९ वर्ष उमेर समूहका ९६.२७ प्रतिशत नागरिकले लेखपढ गर्न सक्ने भएपछि एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो।

२०६७ सालमा जिल्लाभर घरधुरी सर्वेक्षणमार्फत संकलन गरिएको तथ्यांक अनुसार, १९ हजार ८ सय ४१ नागरिक निरक्षर भेटिएको थियो। सोही वर्ष नै ३ हजार ४ सय ६२, २०६८ मा ३८ सय, साक्षर नेपाल अभियानअन्तर्गत २०६९मा २ हजार ६ सय ७४, २०७१ मा ५ हजार ९ सय ६२ र गत आर्थिक वर्षमा निरन्तर शिक्षा कार्यक्रमबाट ८ सय ५७ नागरिक साक्षर भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

‘७ वर्षको अवधीमा यो उमेर समूहका १६ हजार ७ सय ५५ जना निरक्षरलाई विभिन्न चरणमा गरी लेखपढ गरी साक्षर बनाउन सफल भयौँ। यो ९६।२७ प्रतिशत हो’, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने, ‘ १५–५९ उमेर समूहको साक्षरता प्रतिशत ९५ प्रतिशत भन्दा बढी भएमा त्यस जिल्लारक्षेत्रलाई साक्षर घोषणा गर्न सकिने नेपाल सरकारको नीति अनुसार नै हामीले जिल्लालाई साक्षर घोषणा गरेका हौँ।’ तथ्यांक अनुसार, अझै पनि जिल्लामा ३ हजार ८७ जना निरक्षर रहेका छन्।

जिशिकाका विद्यालय निरीक्षक दलबहादुर थापाले साक्षरता अभियानअन्तर्गत २०६७ देखि २०६९ सम्म साविकका ४१ गाविसमा साक्षरता कक्षा सञ्चालन भएको र २०६९–०७२ मा साक्षर नेपाल अभियान अन्तर्गत तथ्यांक अद्यावधिकसहित अपुग भएका ठाउँहरुमा कक्षा थप गरेर अभियानलाई सफल बनाइएको बताए। साक्षर जिल्ला घोषणापूर्व विभिन्न विद्यालयका उपस्थित विद्यार्थीहरुले विभिन्न किसिमका नाराहरु लेखिएको प्लेकार्ड सहित बेनीबजार परिक्रमा गरेका थिए।

‘निरक्षर व्यक्तिहरुलाई कसरी साक्षर बनाउन सकिन्छ र साक्षर बनेकाहरुलाई कसरी टिकाइराख्ने रु भन्ने चुनौतीलाई सामना गर्न हामी सबैले एउटै उद्देश्य बनाउन आवश्यक छ’, प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले भने, ‘लाहुरे जिल्लाको पहिचान बदलेर शिक्षित जिल्लाको पहिचान बनाउन ३ हजार निरक्षरलाई पनि साक्षर बनाउनुपर्छ।’ कुन नगर तथा गाउंँपालिकाको वडामा निरक्षरहरुको ने तथ्यांक जिल्ला शिक्षा कार्यालयसँग रहेकोले आगामी दिनमा निरक्षरको लागि विशेष कक्षाहरु सञ्चालन गरिने जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए।


गोपाल छन्त्यालले अन्नपुर्णपोष्टमा लेखेको खबर

Comments: